अमेरिकी संग्राहलयमा भेटियो तलेजु भवानीको हार !

पढ्न लाग्ने समय : 6 मिनेट

मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्दै आएको तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोमा भेटिएको छ । 

सिकागो आर्ट इन्स्टिच्युटअन्तर्गतको म्युजियममा प्रदर्शनीमा रहेको उक्त हारबारे जानकारी शनिबार सामाजिक सञ्जालमा आएपछि तलेजु मन्दिरकै मूल पुजारीले आश्चर्य मानेका छन् । अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले शनिबार सिकागो म्युजियममा भेटिएको ‘तलेजु नेकलेस’ को सूचना ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् ।

तलेजु भवानीका मूल पुजारी उद्धवमान कर्माचार्यका अनुसार झन्डै ४ सय वर्षअघि (संवत् १६९८ मा) राजा प्रताप मल्लले तलेजु मन्दिरमा पूजा गर्ने चलन बसाएका थिए । ‘हामी कर्माचार्यहरू यो मन्दिरमा मूल पुजारी रहिआएका छौं,’ उनले कान्तिपुरसँग भने, ‘वर्षौंदेखि हराइरहेको हार सिकागोमा भेटिएको सुन्दा अचम्म लागेको छ ।’ मूल पुजारी उद्धवमानका अनुसार उनका बाबु–बाजेसमेत तलेजु भवानीको पुजारी थिए । २०२७ सालमा तलेजुको गरगहना छानबिन तथा लगत निर्धारण भनेर अध्ययन गरिएपछि तलेजु हारलगायतका गरगहना उठाएर लगिएको थियो । ‘त्यस बेला मेरा बुबा केशवमान तलेजुको मूल पुजारी हुनुहुन्थ्यो,’ ६३ वर्षीय उद्धवमानले सम्झिए, ‘गरगहना छानबिन गर्ने भनेर आएको टोलीमा राजदरबारका सदस्यसहित गुठी संस्थान, अञ्चलाधीश कार्यालय, संस्कृति मन्त्रालयसमेतका अधिकारी थिए । यहाँ रहेका ३ सयभन्दा बढी गरगहना, प्राचीन भाँडाकुँडा र सम्पत्तिको अभिलेख (लिखत) राखिएको थियो । झन्डै एक महिना लगाएर तलेजुका सबै सरसम्पत्ति उठाइएको थियो । तर, ती सामान र त्यसको लगत कहाँ लगिएको हो, कहिल्यै थाहा भएन ।’

बडादसैंको नवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको सम्पत्ति र मल्लकालदेखिको सम्पदाबारे जानकारी गुठी संस्थान वा भद्रकालीको गुठी, लगत शाखामा हुन सक्ने मूल पुजारी उद्धवमानले बताए । ‘कसैले चियाएर पनि मन्दिरभित्र हेर्न नसक्ने’ प्रबन्धसहित बनाइएको तलेजुका भित्री गरगहना र सम्पदा उठाएर जबर्जस्ती लगिएकामा कहिल्यै बहस नभएको उनले सुनाए । ‘मल्लकालीन केही भाँडाकुँडा र चीजबिज तल मूलचोक (तलेजु) मै होलान्,’ उनले भने, ‘अरू केही पनि सम्पदा यतिखेर हामीसँग छैन ।’ विगतमा हनुमानढोका हेरचाह समितिअन्तर्गत रहेको तलेजु मन्दिरमा नित्य पूजाआजा हुँदै आएको छ । पूजा गरेर प्रसाद चढाउन हनुमानढोका जाँदा संयोगवश दरबारमा रहेका राजासँग भेट हुन सके फल प्राप्ति हुने आशामा सयौं श्रद्धालु तलेजु आउने गरेको इतिहास छ ।

तलेजु भवानीको हार सिकागो म्युजियममा रहेको जानकारी आएपछि अमेरिकाको न्युयोर्कस्थित आर्ट–क्राइमकी प्राध्यापक इरिन एल थोम्सनले यो सम्पदा चोरीको नैतिक जिम्मेवारी सिकागो म्युजियमले लिनैपर्ने बताइन् । ‘यो सम्पदा जुन २२, १९७६ (संवत् २०३३) मा जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फ दम्पतीले खरिद गरेको र सन् २०१० मा सिकागो म्युजियमलाई प्रदान गरिएको विवरण म्युजियमकै सूचीपत्रमा पनि उल्लेख छ,’ थोम्सनले कान्तिपुरसँग भनिन्, ‘सन् ७० को दशकदेखि हराइरहेको यो नेपाली बहुमूल्य सम्पदा उत्पत्तिको मुलुक (कन्ट्री अफ ओरिजिन) लाई फर्काउनेबारेमा भने म्युजियमले केही बोल्न चाहेकै देखिँदैन ।’

अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ दम्पतीले यसअघि पशुपतिनाथ मन्दिर परिसरबाट हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंगसमेत उक्त सिकागो म्युजियमलाई स्वेच्छाले दिएको सूचना बाहिर आएको थियो । मूर्ति संकलक श्रीमती एल्सडर्फको गत वर्ष निधन भएपछि उनले छाडेको इच्छापत्रअनुसार उक्त शिवलिंग नेपालको भएको र आफ्नो निधनपछि त्यसलाई नेपाल फर्काउनू भनिएका आधारमा सबै कानुनी प्रक्रिया पूरा गरेर फिर्ता ल्याइने भएको छ । जेम्स डब्लु एल्सडर्फ दम्पतीले सिकागोसहितका अन्य म्युजियममा उपहारमा दिएका नेपालका दर्जनौं पुरातात्त्विक सम्पदा अहिले पनि अमेरिकामै रहेको पाइन्छ ।

सम्पदाविद् गोविन्द टन्डनले तलेजु भवानीको गलाको हार हराइरहेको भन्नेबारे सूचना आफूले धेरैअघि पाएको भए पनि यसबारे यकिन हुन नसकेको बताए । ‘यो पुरातात्त्विक सम्पदा आधा शताब्दीदेखि कतै लुकाएर राखिएको रहेछ भन्ने सुन्दा आश्चर्यमा परेको छु,’ उनले भने । २०२७ सालमा तत्कालीन पञ्चायत सरकारले तलेजु मन्दिरको लगत राखेपछि ती सामग्रीको अभिलेख र पुरातात्त्विकका सरसामान कता लगियो भन्ने कहिल्यै थाहा नभएको मूल पुजारी उद्धवमानले बताएका छन् । ‘मल्ल राजाहरूले चढाएका बहुमूल्य सामग्री यहाँ थिए । त्यसपछि सयौं वर्षसम्म यहाँ चढाइएका सहस्र कुरा थिए,’ उनले भने, ‘हामीले श्रद्धाले ढोग्ने गरेको भगवान्कै सम्पदा तस्करी कसले गरेको होला, अचम्ममा परेको छु ।’

मल्ल्कालदेखि नै तलेजु भवानीको पाठपूजा र रीतिथिति चलाउन काठमाडौं उपत्यका (मूलतः साँगा, साँखु) मा मात्रै ३० हजार रोपनी जग्गा रहेकामा हाल मुस्किलले ८ सय रोपनी मात्रै जमिन रहेको मूल पुजारीले जानकारी दिए । ‘त्यसको आम्दानी र हिसाबकिताब हामीलाई थाहा छैन, गुठीलाई थाहा होला,’ उनले भने, ‘गुठीले दिने मासिक २/४ हजार रुपैयाँका भरमा तलेजुको नित्य पूजा चलाइरहेको छु ।’ २०५२ सालमा तलेजुका मूल पुजारी केशवमानको निधन भएपछि उनका छोरा उद्धवमान मूल पुजारी छन् ।

सन्दर्भ सामाग्री
इकान्तिपुर, २०७८ जेठ ३०
देवेन्द्र भट्टराई
डा. स्वेताज्ञानु बानिँया

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर