"बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल

पढ्न लाग्ने समय : 24 मिनेट

वि.संं २०११/०१२ सालतिरको बानेश्वर धेरै बस्ती भएको ठूलो गाउँ जस्तो थियो । अहिले पनि धेरै बस्ती पहिलेकै नामले पुकारिन्छ । जस्तो– मगरगाउँ, गिरीगाउँ, बाहुनगाउँ, पराजुली गाउँ आदि । सार्कीगाउँ पनि छ, तर अहिले त्यो नाम भनिँदैन ।

अहिले निजामती अस्पताल रहेको ठाउँमा मीनशम्शेरको दरबार थियो । मीनभवन बनेपछि त्यस वरपरका बस्तीहरुलाई पनि मीनभवन भन्न थालियो । अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँलाई त्यो बेला ब्यारेक भन्थे । त्यतिबेला अहिलेको बत्तीसपुतली–गौशालासम्मलाई नै बानेश्वर भनिन्थ्यो । वडा नम्बर १० र ३१ को पारीपट्टि अहिले पनि ‘पुरानो बानेश्वर’ लेखेको साइनबोर्ड भेटिन्छ ।

त्यतिबेला डिल्लीबजारबाट बानेश्वर आउने एउटा सडक थियो । बबरमहलबाट ब्यारेक आउने अर्को सडक थियो । १९९३/९४ सालतिर मीनशम्शेरका लागि अर्को दरबार बन्यो । त्योबेला अरु बाटोघाटो थिएन, जसको खेतको आलीबाट पनि मानिसहरु आउजाउन गर्न पाउँथे, रोकटोक थिएन । वस्तुभाउले बाली खाइदेलान् भनेर कतिपय ठाउँमा ठूलो आली बनाएर काँडाघारी उमारिएका हुन्थे ।

०२०/२१ सालतिर जगदिशशम्शेर राणाले बानेश्वर हाइटको बाटो बनाए । त्यहाँ उनले निकै जग्गा किनेछन् । तल एउटा घर रहेछ । आफ्नो जग्गामा जान बाटो चाहियो भनेर उनी त्यो घरपनि किनेर बाटो खुलाए ।

पहिला हात्तीगौंडामा राजा त्रिभुवनको हजुरिया कर्णेल बस्ने घर थियो । त्यो घरसम्म आउन हात्ती हिँड्ने बाटो थियो । अहिले एभरेष्ट होटल भएको ठाउँमा कर्णेल गणेशबहादुरको घर थियो । छक्कुबक्कु भगवती मन्दिरबाट त्यहाँसम्म मुश्किलले बग्गी जाने बाटो थियो ।

भीमसेनगोलामा श्यामबहादुर शाह (बहादुर शाहका सन्तान) बस्थे । श्यामबहादुर सायद बहादुर शाहका पनाती थिए । उनी भीम शम्शेर राणाको हजुरिया कर्णेल थिए । त्यहाँसम्म पनि बग्गी आउने बाटो थियो । त्यो बाहेक जनता जनार्दनका लागि आ–आफ्नो गोरेटो बाहेक कुनै बाटो थिए ।

०२६/२७ सालतिर भक्तपुर–माइतीघर सडक बन्यो । बागबजारको बसपार्कबाट दुई तिरबाट गाडी चल्न थाले । म त्यतिबेला जागिर खान थालेको थिएँ, बस चढ्न जाँदा कण्डक्टरहरुले ‘कुन बाटोबाट जाने, नयाँ कि पुरानो बानेश्वरबाट ?’ भनेर सोध्थे । त्यसरी भक्तपुर जाने मिनिबसका कण्डक्टरहरुले पुरानो र नयाँ बानेश्वर नामाकरण गरिदिएका हुन् ।

पुरानो बानेश्वर जाने बस डिल्लीबजार हुँदै र नयाँबानेश्वर जाने भन्यो भने माइतीघर हुँदै आउँथ्यो । यी दुई बानेश्वरले नपुगेपछि मानिसहरुले ‘मध्य बानेश्वर’ पनि लेख्न थाले । अनि त बुद्धनगर, शान्तिनगर, सुरुची गाउँ आदि अनेक नाम जन्मिए ।


म २०१५ सालमा १० वर्षको थिएँ । धुले सडकमा एउटा जीप आउँथ्यो । त्यसमा गीत घन्काइएको हुन्थ्यो, ‘धानको बाला झुल्यो हजुर, देशै रमाइलो… ।’

हामी केटाकेटी बेपरवाह त्यो जीपको पछाडि कुद्थ्यौं, शरीर धुलैधुलो हुन्थ्यो । त्यतिबेला बानेश्वरबाट सूर्यप्रसाद उपाध्याय निर्वाचनमा उठेका थिए । उनी नेपाली कांग्रेसबाट उमेद्वार थिए । मेरा मामा कृष्णप्रसाद पराजुली लगायतहरुबीच कसलाई भोट दिने भनेर छलफल हुन्थ्यो । हामी पिँढीमा बसेर ती कुरा सुन्थ्यौं । को कांग्रेस, को कम्युनिष्ट ? केही भेउ पाउँदैनथ्यौं ।

त्यतिबेला राजनीतिक चेतना पटक्कै थिएन । हामीलाई जीपको धुलो र गीत नै रमाइलो थियो । गाउँलेहरु ‘हामी त किसान, धानको बालालाई नै भोट दिनुपर्छ’ भन्न थाले । को उठेको छ, कसैलाई थाहा थिएन । धानको बाला केआई सिंहको पार्टीको चुनाव चिह्न थियो । यस क्षेत्रबाट लोचन शम्शेर जबराले चुनाव जिते । धानको बालासँग जोडिएकाले चुनाव जितेपनि उनी को हुन्, धेरैले चिन्दैनथे ।

त्यो बेलामा राणाहरुको चाकडी गर्ने र तिनै सेरोफेरोका मानिसहरुले मात्र जागिर पाएका हुन्थे । बानेश्वर राणाहरुका आठपहरिया बस्ने ठाँउका रुपमा चर्चित थियो । त्यो भन्दा पहिले मगरहरु रहेछन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा उनीहरु काठमाडौं भित्रिएको हुनुपर्छ । १९८०/९० सालतिर काठमाडौंका कतिपय ठूलाबडाले मगरसँगै जग्गा किनेको कागजात भेटिन्छ ।


२०२४ सालमा ‘गाउँ फर्क राष्ट्रिय अभियान’ शुरु भएपछि गाउँहरुमा एउटा लहर आएको थियो । गाउँमा हुने खानेले फाट्टफुट्ट साइकल किन्न थालेका थिए । हाम्रो घर (पुरानो शिवदर्शन हल भएको ठाउँ) निर डिलमा बाटो थियो । लडे तल खेत वा बारीमा परिन्थ्यो । ‘गाउँ फर्क राष्ट्रिय अभियान’ शुरु भएपछि गाउँलेहरुले कुटो कोदालो लिएर ‘श्री ५ महाराजधिराज कि, जय’ भन्दै साइकलसम्म गुड्ने बाटो बनाए ।

बानेश्वरका दुई जना प्रख्यात कम्पाउण्डर (त्यतिबेलाका डाक्टर) हरु जुद्धबहादुर थापा र भक्तबहादुर बस्नेतले त्यसपछि साइकल चढेर घरघरमा पुग्न थाले । त्यसअघि बानेश्वरमा झारफुक नै एकमात्रै उपचार पद्धति थियो । कसैलाई केही भए ‘लाग्यो’ भन्थे । नाग लाग्यो भन्थे, विफर आए शितलाको पूजा गर्थे ।

कम्पाउण्डरद्वय थापा र बस्नेतले खोप लगाइदिन थाले । मानिसहरु बिरामी हुँदा अस्पताल जाँदैनथे, तर कम्पाउण्डरकहाँ जान, उनीहरुलाई बोलाउन थाले । त्योबेला सुविधा केही थिएन, बिरामीलाई अस्पताल भन्दा घाट लैजान सजिलो थियो ।

मैले धेरै बुढापाकाहरुसँग सोधेको, १९९० सालभन्दा अघि बानेश्वर(अहिलेको ३१ नम्बर वडा रहेको ठाँउभरमा)मा चार वटामात्र झिँगटीका छाना भएका घर रहेछन् । पुरै बानेश्वरभर १०/१२ वटाभन्दा बढी घर थिएनन् । माथि उल्लेख भएका श्यामबहादुर शाहको झिँगटीको घर थियो । अर्का कृष्णबहादुर गिरीको । उनको बानेश्वरमा यति जग्गा थियो कि भनिसाध्यै छैन ।

१९७५ अघि म्याट्रिक पास गर्ने जानकीदत्त लामिछाने र उनका दाजुभाइको पनि धेरै जग्गाजमिन थियो र घर पनि झिँगटीले छाएको । माधवप्रसाद कोइरालाको घर पनि झिँगटीले छाएको थियो । झिँगटीका घरवाला जानकीदत्त साइकल र अरु तीनजना घोडा चढ्थे रे ।

त्योबेला सबै घर माटोको डल्लाको चाङ लगाएर बनाइएका हुन्थे । अलि हुनेले काँचो इटाको घर बनाउथे । दुईतले घर मुश्किलले भेटिन्थे । परालको छाना हुन्थे । दायाँबायाँ गोठ र भकारो हुन्थ्यो । भकारो वरपर हात्तीका कानजस्ता साग हुन्थे । अनेक खाले तरकारी हुन्थे । तरकारी किन्ने कल्पनासम्म हुदैनथ्यो ।

२०३० सालमा मैले बिहे गरेपछि महाबौद्ध गएर एक बोरा चामल किनेको सम्झना छ । त्यतिबेला ट्याक्सी प्रचलनमा आइसकेको थियो, तर बानेश्वर आउन नमानेपछि भरिया लगाएर ल्याएको थिएँ । अरु सामान किन्न कि पाटनको मंगलबजार कि त असन/इन्द्रचोक पुग्नुपर्थ्यो । पुरानो बानेश्वर चोकमा पसलहरु भएपनि सबैथोक पाइन्थेन ।

त्यो बेलाका मानिसको आवश्यकता पनि धेरै थिएन । जुत्ता लगाउने चलन नै थिएन । दशैंमा बल्लतल्ल एकजोर नयाँ लुगा लगाउँथे । प्रायले लवेदा सुरुवाल लगाउथे ।

सुरुवालको घुँडाको भाग छिट्टै फाट्थ्यो अनि पुरानो लवेदाको भित्री फेर काटेर घुँडामा टालो हाल्थे । त्यसरी कपडा सिलाउन ठाउँठाउँमा दमाइ बसेका हुन्थे ।

कहिलेकाहीँ मासु खान मन लाग्दा धरहरा गए बुढी बाख्री पर्ला भन्ने हुन्थ्यो । त्यतिबेला हाम्रो छिमेकमा ‘ठूलो काले’ भन्ने हर्ताकर्ता थिए । उनले १५ दिन वा एक महिनामा खसी काट्थे अनि भाग लगाएर लिन बोलाउँथे ।

बानेश्वरमा धेरैले गाई पाल्थे । गाई चराउने ठाँउ नागलडोल थियो । त्यो भनेको अहिलेको स्टाण्डर्ड चार्टर बैंक रहेको ठाउँ र त्यसमुनिको धाप हो ।

अहिलेको पानीट्यांकी क्षेत्रमा पुग्दो पानी थियो, अरुतिर दुःख नै थियो । महादेवस्थानको बाणगंगा वा थापागाउँको धारामा गएर पानी ओसार्नुपर्थ्यो । त्यो बेला बानेश्वर क्षेत्रमा २५–२६ वटा ढुंगेधारा पनि थिए, अहिले धेरै मासिए । कसैको जग्गामा पानीको मूल रहेछ भने ढुंगेधारासम्म लैजान दिए ‘धर्म हुन्छ’ भन्थे ।

त्यतिबेला जग्गाको खासै महत्व थिएन । २०२१ सालमा नापी आएपछि मानिसले जग्गाको महत्व बुझ्न थाले । २०२५/२६ सालमा बाटो खुल्न थालेपछि मानिसहरु बानेश्वरमा बस्न आउन थाले । ती मानिसले कहाँनिरबाट पानी आउँछ भनेर आफ्नो हित हेर्न थाले अनि इनार खन्न थाले । अनि ढुंगेधारा संकटमा परे ।


२००७ सालमा प्रजातन्त्र आउनुअघि राणाको विश्वासपात्र र सेनामा काम गर्नेहरुका सन्तानले मात्र दरबार स्कूल पढ्न पाउथे । एसएलसी (म्याट्रिक) परीक्षा कलकत्ताबाट हुन्थ्यो । जनताका तर्फबाट पहिलो म्याट्रिक श्रीनिवास गिरीले कलकत्ताबाटै गरेका थिए ।

१९८० सालपछि एलएलसी दिन पटना जानुपर्ने भयो । राणाहरुले पढ्न तेजिला पण्डितका छोराहरुका साथ लगाएर आफ्ना छोराहरु पठाउन थाले । त्यसले गर्दा पण्डितका छोराले पनि औपचारिक शिक्षा पाउन थाले ।

१९८० सालभन्दा अघि म्याट्रिक गरेर आउनेलाई थानकोटमा बग्गी चढाएर, सिन्दुर जात्रा गर्दै श्री ३ महाराजका जुनाफमा दाम राख्न लगिन्थ्यो । पूर्वन्यायाधीश लिलाप्रसाद गिरी २००४ सालमा म्याट्रिक र भवानी शंकर राजवंशी दरबार स्कूलमा बोर्डफस्ट हुनुभएछ । उहाँहरुलाई पहिले बबरशम्शेरको दर्शन गराएछन् । ‘राम्रो गर्नु केटा हो’ भनेर पठाएछन् ।  त्यसपछि मोहनशम्शेरको दर्शन गर्न लगेछन् ।

साराले ‘श्री ३ महाराजकी, जय’ भनेर चिच्याए । त्यहाँ कुन विद्यार्थी कस्तो भनेर राणाहरुले बुझेका रहेछन् । जहिले बोर्ड फर्स्ट भएकालाई पुरस्कृत गर्ने रहेछन् । दाम राख्न चाँदीका डबल खल्तीमा राखेर गएका थिए ।

ती भवानी शंकरको पालो आएर ‘महाराज, यो फलानो’ भन्नासाथ मोहनशम्शेर बम्केछन्, ‘बसन्तपुरमा हाम्रो विरुद्ध नारा लगाउन गएको तिमीहरु होइन ? थुनिनुपर्ला ।’

एकाएक सन्नाटा छायो । पूर्वन्यायाधीश गिरीले त्यो घटनालाई ‘नासिने बेलामा कमिलाको प्वाँख पलाएको’ भन्नुहुन्थ्यो । यिनीहरु व्यवस्था विरोधी हुन् भन्ने लाग्यो भने राणाहरु पढेकाहरुलाई पनि सोझै झम्टन्थे ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि बानेश्वरमा विकास निर्माणका लागि समिति बन्यो । त्यतिबेलाको सरकार पनि अहिलेझैं अस्थिर थियो । नयाँ पुस्तामा पढे ठूलो मान्छे भइन्छ भन्ने लहर आएको थियो । पुरानाहरुलाई शिक्षाप्रति ध्यान थिएन । बाहुनको छोरा यताउता गरेर ज्यान पालिहाल्छ, छोरी बिहे गरेर गइहाल्छे भन्ने सोँच थियो ।

चेतनशील मानिसहरुले बानेश्वरमा स्कूल खोल्ने प्रयास गरे । औपचारिक शिक्षाका लागि २०१६ सालमा शिलान्यास भयो, २०१९ सालमा पहिलोपटक रत्नराज्य स्कूल खुल्यो । जानकीदत्त लामिछानेको नेतृत्वमा स्कूलको शिलान्याय भयो । स्कूलको नाम चाहिँ २०१९ सालमा मात्र रत्नराज्य राखियो । रानी रत्नले ८ हजार चन्दा दिएपछि श्री ५ रत्नराज्य लक्ष्मीदेवी विद्याश्रम मिडिल स्कूल नाम रह्यो ।


६०–७० वर्षअघि दशैंअगाडि बानेश्वरभरि पहेलै तोरी फूलेको हुन्थ्यो । तोरीका बोटहरु, तारामण्डल (अहिले त्यसलाई सनफ्लावर भन्छन्) हल्लिइरहेका हुन्थे । हरेक घरमा तोरीको साग टिपेर सोह्र श्राद्धको मुख्य तयारी हुन्थ्यो । श्राद्धमा नयाँ सडक पुगेर पान किनेर ल्याउनुपर्थ्यो ।

मैले थाहा पाउँदा बानेश्वरमा मीनशम्शेरको गाडी थियो । गणेशबहादुर कर्णेलको पनि थियो रे, तर उनी म जन्मनुभन्दा अघि नै बितिसकेका थिए । चिफ कन्जरभेटर रामबहादुर थापाको मोटरसाइकल थियो रे । बानेश्वरको बाटोमा दिनमा एउटा/दुईटा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो ।

अहिलेको मीनभवन क्याम्पसमा जेटीए तालिम केन्द्र पनि थियो । त्यहाँ २० नम्बरको गाडीबाट जानकीप्रसाद प्रधान भन्ने व्यक्ति आउँथे । बत्तीसपुतलीमा मुरारीशम्शेरको छोरा मोटरसाइकल चढ्थे ।

त्यो बेला साइकल नै दुर्लभ थियो । कोहीकोही साइकल चढेर चुरोट खान्थे । हाम्रातिरकाले तिनलाई गुण्डा भन्थे । गाउँमा पनि कसैले त्यसै गर्न थाल्यो भने ‘बाटोमा हिँड्ने गुण्डा आवारा जस्तो हुन थालेको’ भनेर गाली गर्थे ।


 


 


बानेश्वरभरिमा १२ वटाजति दरबार शैलीका घर थिए । डिठ्ठामुनिको मानिसले झिँगटीको छाना हालेर घर बनाउन पाउँदैनथ्यो । जुद्धशम्शेर कान्छी श्रीमतीसँग बस्थे । हात्ती, घोडा चढेर हिँड्थे ।

एकपटक उनी थापागाउँको बाटो हिँड्दै रहेछन् । चिल्लो टायल हालेको घर देखेर ‘यो कसको घर, बोला त्यसलाई’ भनेर हुकुम भएछ । भोलिपल्टै घरवालाको कोरीखाना (कुष्ठरोगी राख्ने ठाउँ) को जागिर गयो । राणाको आठपहरियाको घरमा झिँगटीको छाना थिए । तिनीहरु पनि ‘आँखा पर्ला’ भनेर डराउँथे ।

२०११ सालमा सुब्बा होमप्रसाद बास्कोटाले बानेश्वरमा सिमेन्ट ढलान गरेको घर बनाए । त्यो नै बानेश्वरको पहिलो आधुनिक घर मानिन्छ । त्यो घर महादेवस्थानभन्दा माथि थियो र त्यसमा अख्तियारको अफिस पनि भाडामा बसेको थियो । त्यो बेला एक लाख रुपैयाँमा बनेको थियो रे त्यो घर ।

त्यो बेला ढलानयुक्त घर किन बन्न सम्भव भएन भने ९–१० सालमा बल्ल त्रिभुवन राजपथको ट्रयाक खोल्न थालिएको थियो । त्यो बाटोबाट बल्ल सिमेन्ट आउन थाल्यो । सुब्बा होमप्रसादको त्यो घर अहिले भत्किसकेको छ । अहिले बानेश्वरमा पुरानो दरबार शैलीको घर त्यही मीनभवन क्याम्पस मात्र हो ।

त्यतिबेला पैसा हुँदैनथ्यो, त्यसैले अर्मपर्मको माध्यमबाट श्रम आदानप्रदान गरिन्थ्यो । एकले अर्कोलाई सहयोग नगरे बाँच्न गाह्रो हुन्थ्यो । मकल बोकेर आगो लिन जाने चलन थियो । अक्कलझुक्कल बाहेक बानेश्वरमा कसैले भैंसी पालेनन् । गाई पाल्थे, तर दूध बेच्दैनथे । घरमा फलेको फलफूल बेचे पाप लाग्ने मान्यता थियो । कुनैपनि घरमा पर्खाल थिएन ।


बानेश्वरमा बोगटीगाउँ थियो, जुन अहिले एभरेष्ट होटल पछाडि टेनिस कोर्टनिर पर्छ । १९०३ सालमा कोत पर्व हुँदा त्यहाँका बोगटीहरुका पुर्खा सरदार रहेछन् । उनीहरु काटिएछन् । परिवारका सदस्यहरु सामाजिक बहिस्कारमा परे ।

त्योबेला सरकारले काटेका मान्छेका परिवारलाई टोल, छिमेक कसैले सहयोग गर्ने कुरा भएन । कुनै तरहले बानेश्वरको निलकाँडा र नर्कटघारीमा आएर बसेछन् । स्यालको बिगबिगी थियो, साँझ परेपछि घरबाट बाहिर निस्कने कुरै थिएन ।

राणाकालभर पनि बोगटीहरुले जागिर खान पाएनन् । काटिएकाहरुको सन्तान भनेर राज्यबाट अवहेलनामा परे । पछि गणेशबहादुर कर्णेल भएपछि बल्ल एक/दुई जनाले पुलिसमा जागिर खाएछन् । सरदारका सन्तानहरु आर्थिक रुपमा तन्नम भएर लामो समय पीडा भोग्नुपरेको रहेछ । एभरेष्ट होटलले बोगटीगाउँ लिइदिएपछि उनीहरु अहिले अलि तल बस्छन् ।

बानेश्वरमा मगरगाउँ पनि छ । सिंहदरबार बनाउने क्रममा पनि उनीहरु बानेश्वर आएर बसेको अनुमान छ । त्योबेला जग्गाको कुनै मूल्य थिएन, जो जहाँ आएर बसे पनि हुन्थ्यो । उनीहरुको एकमुष्ट बस्ती हुन थालेपछि त्यो ठाउँलाई मगरगाउँ भन्न थाले । तर अहिले त्यहाँ २/३ घर मात्र मगर छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँमा १९८४/८५ सालमा बनेको ब्यारेक थियो । ब्यारेक बन्नुअघि त्यो जग्गामा ठकुरीहरुको भोगचलन रहेछ । उनीहरुका जिजुबाजेहरु खसी बेच्न काभ्रेबाट काठमाडौं आउने रहेछन् ।

कोतपर्वको केही वर्षपछिको कुरा हुनुपर्छ, कसैले पनि उनीहरुको खसी किनेनछन् । उनीहरु खसीहरुको साथमा अहिलेको सम्मेलन केन्द्र भएको ठाउँमा बस्न थालेछन् ।

विस्तारै उनीहरुले त्यो जग्गा कसको रहेछ भनेर सोधीखोजी गरेछन् । एकजनाले ‘सरकार बक्साउनु, यो जग्गा तेरो हुन्छ’ भनिदिएछ । खासमा त्यो जग्गाअघि कोतपर्वमा काटिएका बोगटीहरुको रहेछ । पछि त्यसमा सरकार लागेको रहेछ ।

खसी व्यापारीहरु त्यहीँ बस्न थाले । पछि राणाहरुले ब्यारेक बनाउँदा उनीहरुलाई लखेटे । त्यो बेलामा राणाहरुले ‘मलाई यो जग्गा चाहियो’ भनेपछि कुनै उपचार थिएन । उनीहरु लाखापाखा लागे ।


२००५ सालमा बानेश्वरलाई विमानस्थल बनाउनुपर्छ भनेर छलफल हुन थालेछ । एकथरीले विमान उडेपछि फन्को लगाउने क्रममा पशुपति मन्दिर नाघिन्छ र त्यसले अनर्थ हुन्छ भनेर विरोध गर्न थाले । अनि विकल्पको रुपमा गौचरणमा विमानस्थल बनाइएको रहेछ ।

दिल्ली घुमेर आएका राजा महेन्द्रले त्यहाँको चाणक्यपुरी जस्तै आवास क्षेत्र बनाउने योजना बनाएछन् । परिणाम, सम्पूर्ण बानेश्वरको जग्गा रोक्का भयो । कहाँ जाने, कसलाई भन्ने, कसरी विरोध गर्ने ? कोही बोल्न सकेनन् ।

जग्गा रोक्का गरेपनि सरकारसँग बजेट थिएन, योजना अलपत्र पर्‍यो । वीरेन्द्रको पालामा २०३२ सालमा जग्गा फुकुवा भयो । त्यसपछि यहाँको जग्गाको मूल्य बढ्न थाल्यो । भक्तपुरको बाटो भनेपछि झनै भाउ माथि पुग्यो । अब फेरि बाटो विकासको अर्को पाटो शुरु भयो ।

२०२०/२१ सालतिर जग्गा प्लटिङ गरेर बेच्ने काम पहिलो पटक बानेश्वर हाइटबाट शुरु भएको हो । जगदिश शम्शेरले ११ सयको दरमा किनेको जग्गा प्लटिङ गरेर टंकप्रसाद आचार्य, कुलशेखर शर्मा र भेषबहादुर थापालाई प्रति रोपनी ४ हजारमा बेचेका थिए ।

२५–२६ सालमा सडक बनेपछि बानेश्वरमा जग्गाको कारोवार छ्यापछ्याप्ती हुन थाल्यो । सबै जग्गा किन्ने, बाटो रोक्का गर्ने, मिलाउने, गोरेटो फराकिलो बनाएर बेच्ने गर्न थाले । बानेश्वरमा अहिले भएजतिका बाटोका रेखांकन कुनैपनि सरकारी योजना अनुसार भएको होइन ।

शंखमुलदेखि पुरानो बानेश्वर चोकसम्मको बाटो मात्र योजनाअनुसार बनेको हो । राणाकालमा सिंहदरबारदेखि मीनभवनसम्म त्यसरी नै बाटो बनेको हो । बाँकी भागमा सरकारी योजना अनुसार कुनैपनि बाटो बनेन । बाटो बढाए जग्गाको भाउ बढ्छ भन्ने भएपछि मानिसहरुले आली फराकिलो बनाएर जग्गा बेच्न थाले ।

पाटन क्याम्पस पढ्दा बाहुनको छोरालाई सुँगुरले छोला भन्ने डर थियो । त्यहाँ बिहानै मानिसहरु कपडा ओढेर दीर्घशौचमा हुन्थे । ‘तिमीहरुको अंग हेरेर पढ्न आउनुपर्ने ?’ भनी विरोध गर्दा पाटनबासी हामीमाथि नै आइलागे ।

उनीहरु सुँगुर हटाउन पनि मानेनन् । बिहान उनीहरुले गरेको फोहोर सबै सुँगुरले सफा गर्दो रहेछ । दिउँसो त्यही ठाउँमा धान सुकाउँदा रहेछन् । अहिले तराईका कतिपय जिल्लामा यस्तै समस्या छ ।

बानेश्वरमा हामी जावलाखेलको चिडियाखानामा बाघ कराएका सुन्थ्यौं । घण्टाघरको घण्टी सुनिने कुरा त मामुली थियो । राति बस्दा उज्यालोका लागि मट्टितेल खर्च हुन्थ्यो । त्यसैले सम्साँझै खाना खाएर घुप्लुक्कै सुत्नमा जोड दिइन्थ्यो ।

केटाकेटीलाई दशैंमा सबभन्दा रमाइलो हुन्थ्यो । इन्द्रजात्रापछि दशैंको माहोल बन्थ्यो । त्योबेला मासु खाने भनेको निकै दुर्लभ कुरा हुन्थ्यो । दशैंमा चाहिँ जतिसुकै गरिबले पनि छोराछोरीलाई पेटभर मासु खुवाउनुपर्छ भन्ने मान्यता थियो ।

श्राद्धका लागि र जमरा राख्ने बाहेक अरु कामका लागि खोलाबाट बालुका झिकिदैनथ्यो । ठूलाबडाको घरमा बाहुनले जमरा राख्थे । व्रत बस्ने, चंगा उडाउने चलन निकै थियो । कोजाग्रत पूर्णिमापछि चंगा उडाउन हुँदैन भनिन्थ्यो ।

मैले २०२० सालमा प्रवेशिका पास गरेपछि दशैंमा पहिलो पटक प्यान्ट छालाको जुत्ता लगाउन पाएको थिएँ । हामी खालीखुट्टा नै स्कूल जान्थ्यौं ।

त्योबेला जग्गाजमिन प्रशस्तै थियो, तर खान पुर्‍याउनुपर्ने भएकोले अन्न बेच्न मिलेन । त्यसरी पैसाको अभाव थियो । सरकारी जागिरेहरु समेत एकजोर खद्दरका लुगा हाल्न दशैंको पेश्की कुर्थे । लुगा सिलाउने दर्जीले पैसा होइन, बालीघरे प्रथा अनुसार अन्न पाउँथे ।

कयौंलाई दशैंका बेलामा दक्षिणा दिन पनि गाह्रो हुन्थ्यो । दशैंमा केटाकेटीलाई रमाइलो हुन्थ्यो, तर अविभावकलाई कति गाह्रो हुन्थ्यो, अहिले मात्र महशुस हुन्छ । त्यतिबेला सेनामा काम गर्नेका लागि तलब होइन, जग्गा थियो । त्यसलाई खान्गीको जग्गा भनिन्थ्यो । त्यो जग्गाबाट कमाएर व्यवस्थापन गर्न कम्ती दुःख थिएन ।

डिल्लीबजारमा बस्नेहरु हामीलाई ‘काँठे, बानेश्ह्वरे’ भन्थे । हामी कोटेश्वरबासीलाई त्यसै भन्थ्यौं । कोटेश्वरमा भैंसी नपाल्ने र दूध नबेच्ने मान्छे हुँदैनथे । उनीहरु दूध बेच्न सहर आउँथे । बाग्मतीमा पुल नभएकोले बाढी आएको बेला तर्न सक्दैनथे ।

अरु बेलामा कतिपयले दूधमा बाग्मतीको जल मिसाएर आउँथे र यता बेच्थे । अनि हामीले जिस्क्याएर ‘यस्तो पनि गर्ने हो ?’ भनेर सोध्थ्यौं । उनीहरुले, ‘बाबु के गर्ने, शहरमा बस्नेलाई के थाहा, बाग्मतीको जल खान दिएर पाप त लाग्दैन नि’ भनेर जवाफ दिन्थे । मान्छेहरुले पहाडको दुःख सुनाउँथे । तर, मलाई लाग्छ, काठमाडौं भन्नु मात्र थियो, यहा पनि दुःखको कुनै कमी थिएन ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको पुस्तक बानेश्वरको सेरोफेरोबाट । पुस्तक हालै सार्वजनिक भएको छ । 



सन्दर्भ सामाग्री
श्रीहरि अर्याल
डेनियल एडवार्ड
अनलाइनखबर
देशान्तरडटकम

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  4. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर