नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा

पढ्न लाग्ने समय : 9 मिनेट

वि.सं. २००६ साल मंसिर २६ गते उद्घाटन गरिएको नेपालको पहिलो सिनेमा घरमा पहिलो पटक देखाइएको सिनेमा रामविवाह थियो । उक्त उद्घाटनको समाचार गोरखापत्रमा मंसिर २७ गते छापिएको थियो ।

"काठमाडौँ, मार्ग २६ गते । आज काठमाडौँ सिनेमा भवनमा सिनेमा प्रदर्शनको काम भयो । त्यस भवन वरिपरि रंगीचंगी ध्वजापताकाहरू टाँगिएका थिए । पस्ने ढोकामा रातो तुलमा सेतो अक्षरले श्री ३ महाराजको जय भन्ने लेखिएको थियो । भवनभित्र ठाउँठाउँमा सुशोभित पूर्ण कलशहरू राखिएका थिए । सरोकारवाला अड्डाका कर्मचारीहरूद्वारा रामविवाह भन्ने सिनेमाको उद्घाटन भयो । सिनेमा भवनको भित्री भागको सजधज एउटा प्रसिद्ध सिनेमा भवनको दाँजोमा दाँज्न सकिन्थ्यो । यस तमासाको दर्शनले सबैको चेहरा बडो प्रफुल्लित देखिन्थ्यो । भवनअगाडि चौरमा पनि धेरै मानिस जम्मा भएका थिए । दिनको २ पटकका दरले सिनेमा देखाउने प्रबन्ध भएको छ ।" 

यो पनि पढ्नुहोस् पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो

२०१८ सालमा जनसेवा हलमा आगलागी भएपछि असुरक्षाका कारण पनि धेरै सिनेमा हल बन्द भए। जनसेवा जलेपछि त्यहाँ विशालबजार निर्माण गरियो।


राणा प्रशासनको उच्च ओहोदामा रहेका भीमबहादुर पाँडेले आफ्नो पुस्तक त्यस बखतको नेपाल चौथो भागमा नेपालमा सिनेमा हल स्थापनासम्बन्धी भएको छलफलबारे उल्लेख गर्नुभएको छ । ।

००६ भदौतिर नेपालमा सर्वप्रथम सिनेमा हल खोल्ने निधो लागेकाले श्री ३ मोहनका सबैजसो भित्रिया, आशामुखी र सेनामेनाहरूको सिनेमा हल खोल्ने इजाजतलाई हुकुम प्रमांगीका लागि बिन्तीपत्र परे । धेरैजसो निवेदकहरू प्रधानमन्त्रीले हार्नै नहुने खालका मानिस हुँदा, सिनेमाको लाइसेन्स एकलाई दिँदा अर्को ठुस्सिने सम्भव देखी, श्री ३ महाराज अलपत्र परेको बेला उद्योग परिषद्का तालुकवाला मे.ज. विजयशमशेरले नेपालमा सिनेमा हल सरकारी क्षेत्रमा खोल्ने, त्यसबाट हुन आउने सबै आम्दानी नगर विकासलाई सहायतास्वरूप हस्तान्तर गर्ने र उद्योग परिषद्‌मार्फत सिनेमा चलाउने सुझाव पेस गर्नुभयो। सो तुरुन्तै स्वीकार भयो । 

पाँडेका अनुसार तत्कालीन म्युनिसिपलिटीका सचिव सुब्बा अनंगमान शेरचन साविकको सभागृह (हाल विशालबजार महानगरीय प्रहरी वृत्त, जनसेवा रहेको स्थान) वा टाउनहललाई सिनेमा हलमा परिणत गर्न खटिनु भएको थियो।


 

प्रदर्शनी सुरु हुनु केहीअघि १ मंसिरको गोरखापत्रमा ‘सिनेमा’ शीर्षकमा एउटा सम्पादकीय छापिएको छ । सम्पादकीयले सिनेमाको सार्वजनिक प्रदर्शनी हुने मितिको पनि जानकारी दिन्छ– ‘वर्तमान दूरदर्शी श्री ३ महाराजले ‘मुलुकले फायदा उठाओस् भन्नाका निम्ति यही मंसीर २६ गतेदेखि म्युनिसिपलिटी अड्डाको मातहतमा टिकटबाट सिनेमा देखाउने प्रबन्ध गराइबक्सेको छ । चाहिने रुपियाँको निकासा र देखाउने ठाउँको (?) बरबन्दोबस्त पनि भइसकेको खबर छ ।’

सोही सम्पादकीयमा उल्लेख भएअनुसार ‘सिनेमा घरको क्याम्पभित्र पसल थाप्न मानिसहरू तँछाडमछाड गरेर’ लागिसकेका थिए (गोरखापत्र, २००६/८/१/२) ।’ जनाना गेट किपरदेखि टिकट सेलर र मेनेजरसम्म गरी जम्मा २५ जवान कर्मचारीको खोजी गरिएको सो ‘सरकारी सूचना’ मा भनिएको छ, ‘म्युनिसिपल गोश्वाराको मातहत र रेखदेखमा जुद्धसडक सभागृहमा खुलाउने गरिबक्सेको पब्लिक सिनेमाको काम निमित्त तपसिलबमोजिमका कामदारहरूको दर्कार भएकाले यो सूचना प्रकाश गर्ने काम भएको छ ।’ यी कर्मचारीको तलबमान वार्षिक मोहरु १८० (गेट किपर) देखि १५०० (मेनेजर) सम्मको तोकिएको थियो । सिनेमा हलको पहिलो मेनेजरमा नरबहादुर थापा, बीए नियुक्त हुनुभयो । सहायक मेनेजरमा रामप्रसाद रिमालले नियुक्ति पाउनुभयो।

सम्पादकीयमा उल्लेख भएझैँ व्यापारीहरू सिनेमा हलको कम्पाउन्डभित्र पसल थाप्न प्रयत्न गरिरहेको तथ्य सो पत्रिकामा छापिएका वहालमा दिनेसम्बन्धी सूचनाबाट पनि प्रस्टिन्छ । सूचनाअनुसार ‘जुद्धसडक सभागृहमा पब्लिक सिनेमा खुलाइबक्सने भन्ने बुझिएकाले सो सभागृहको कम्पाउन्डभित्र चुरोट पान सुपारी (?), चियारोटी इत्यादिको पसल राख्न पाऊँ, लाग्ने सलामी बुझाउँछु भन्नेसमेत बेहोराको धेरैको बिन्तीपत्र दरखास्त परेको’ थियो । जम्मा नौ वटा पसल कवल बहालमा दिनका लागि उपलब्ध थिए र तिनमा पानसुपारी खाने मसला, चुरोट, सलाई, दूध, चिया, बिस्कुट, मिठाई, रोटी, सोडा, मीठा पानी, सिरप आइसक्रिम इत्यादि बजार दरमा नबढाई बिक्री गर्न पाइन्थ्यो (गोरखापत्र, २००६/८/१०/१) ।

काठमाडौँ सिनेमा भवनमा सिनेमाको ‘खेला’ सुरु हुँदा दिनको दुई ‘सो’ देखाइन्थ्यो । यो कहिले बढेर तीन सो र कहिले फेरि दुई सो । प्रारम्भमा पहिलो सो १२ बजेदेखि अढाइ बजेसम्म र दोस्रो सो ४ बजेदेखि साढे ७ बजेसम्म तोकिएको थियो । यो सो समय पनि समय–समयमा परिवर्तन भएको गोरखापत्रमा प्रकाशित सूचनाहरूबाट थाहा पाइन्छ ।

प्रारम्भमा श्रेणी हेरी ५० पैसादेखि पाँच रुपैयाँसम्म सिनेमाको टिकट दर तोकिएको थियो, जुन तुलनात्मक रूपमा अहिलेभन्दा महँगो हो । पहिलोदेखि चौथोसम्म र बक्ससहित पाँच श्रेणी थिए । बक्सचाहिँ राजपरिवार, राणा परिवार तथा उच्च तहका कर्मचारीका लागि मात्र थियो । राजपरिवार अथवा राणा–शासक परिवार नआउने खण्डमा मात्र उच्च तहका गैरशाह–राणा कर्मचारीले त्यहाँ पहुँच पाउँथे । सरदार भीमबहादुर पाँडेका अनुसार नयाँ फिल्म लाग्नासाथ तत्कालीन राजा त्रिभुवन सिनेमा हेर्न पुग्नुहुन्थ्यो, जनसेवा हलमा लाग्ने कुनै फिल्म हेर्न राजा त्रिभुवनले छुटाउनु भएन् ।

गोरखापत्रमा छापिएको एउटा सूचनाले बक्स सिटबारे थप प्रस्ट्याउँछ– ‘००७ सालदेखि श्री ५ सरकार र श्री ३ सरकारका ७ सिटे रायल बक्समा पनि खेल सुरु हुने । आधा घन्टासम्म पनि मौसुफहरूको सवारी हुने जनाउ नआएमा १७ भाइ राणाजी, गुरु पुरोहित र अरूमा हिराको चाँद दर्जासम्मले पूरै सिट लिएमा दिने भएको यो सूचना दिइएको छ ।’ (गोरखापत्र, २००७/१/३/४) । पहिले पाँच श्रेणी भए पनि पछिबाट बाल्कोनी तह थपिएको थियो ।


 

तुलनात्मक रूपमा सिनेमाको टिकटको मूल्य महँगै भए पनि कतिपय सिनेमा देखाउँदा त्यतिबेलै टिकटको ‘कालोबजारी’ (तीन गुणासम्म) र झैझगडासमेत हुन्थे । खासगरी ००७ को परिवर्तनपछि सहरमा अरू सिनेमा घर पनि खुलेका र सम्भवत: प्रतिस्पर्धाका कारण प्रतिटिकट मूल्यमा कमी आएको थियो ।

सम्भवत: भीडभाड, होहल्ला, झैझगडा र कालोबजारी रोक्न सिनेमा टिकटको अग्रिम बुकिङको समेत व्यवस्था थियो । यस्तो बुकिङ सो सुरु हुनु केही घन्टाअगाडि खुला गरिन्थ्यो । तर अग्रिम बुकिङको व्यवस्था भए पनि त्यसले टिकटको कालोबजारीलाई छेक्न सक्थेन । केही सिनेमाको प्रदर्शनी क्रममा गोलमाल भएको थियो । कालोबजारी गर्ने केहीलाई प्रहरीले समातेर खोरमा समेत पु‍र्‍याएको थियो ।

एक पटक त स्वयं सिनेमा हलका कर्मचारीले टिकट लुकाएर कालोबजारी गरेको हल्ला चलेपछि गोलमाल भएको थियो । गोरखापत्रमा लेखिएको छ– ‘आज काठमाडौँ सिनेमा हलमा तेस्रा सोको बालकोनीको टिकट जनतालाई बिक्री नगरी ब्लाक गर्‍यो भन्ने निहुँले बडो गोलमाल भएको खबर छ ।’ (२००७/१२/२७/४)

कालोबजारी गरेको आरोपमा प्रहरीले स–साना उमेरका केटा पनि पक्डन्थ्यो । खासगरी गैरधार्मिक सिनेमा (जस्तै, सुनहरे दिन, स्वयंसिद्धा, शवनम आदि) लाग्दा टिकटको कालोबजारी हुन्थ्यो । कालोबजारीसम्बन्धी समाचार गोरखापत्रमा छापिएका बेला कुन सिनेमा चलिरहेको थियो भनेर केलाउँदा यो तथ्य खुल्छ ।

 

सन्दर्भ सामाग्री

गोरखापत्र
अन्नपुर्ण पोष्ट
नेपाल म्यागेजिन
सरदार भीम बहादुर पाँडे
अध्येता लोकरञ्जन पराजुली
हिराकाजी
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।