सङ्ग्रहालयको टहरोमा 'गिद्धे प्रेस'

पढ्न लाग्ने समय : 4 मिनेट

नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले छरिएका भागलाई बोकेर टहरोसम्म लैजान कठिन बनेको छ ।

सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठले प्रेसका हरेक अङ्ग निकै गह्रौँ भएकाले सङ्ग्रहालयका जनशक्तिबाट जोड्ने प्रयास सम्भव नभएको बताउँदै भन्नुभयो, “त्यसलाई जोड्ने विधि पनि चाहिन्छ । जोड्न जान्ने मानिस पनि छैनन् । त्यसैले त्यत्तिकै थन्किएर रहेको छ ।”

वि.सं. १९०७ मा बेलायत भ्रमणबाट स्वदेश भित्रिएका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफूसाथ छापाखाना ल्याएका थिए । छापाखाना १९०८ सालमा नेपाल आइपुगेको थियो । त्यस प्रेसको सिरानमा गिद्धको आकृति भएकाले त्यसलाई ‘गिद्धे प्रेस’ भन्न थालियो । प्रधानमन्त्री जङ्गबहादुरकै पालामा गिद्धे प्रेसले मुलुकी ऐन पनि छापेको थियो । गिद्धे प्रेसलाई सुरुमा थापाथली दरबारमा जडान गरिएको थियो ।

गिद्धे प्रेसले गोरखापत्र पनि छापेको थियो भन्ने कुरा २०१५ सालकोे प्रेस कमिसनको रिपोर्टमा उल्लिखित अनुच्छेदबाट प्रस्ट हुन्छ, “जङ्गबहादुरका समयमा सम्पत्तिको नाउँमा एउटा गिद्धे प्रेसबाट प्रारम्भ गरिएको गोरखापत्र छापाखानामा आज पलाट, हाते तथा प्लाटेनसमेत एक दर्जन प्रेसहरू, एउटा सानो ब्लक विभाग तथा थोरबहुत प्रेससम्बन्धी मालहरू छन् ।”

प्रेस कमिसनले गोरखापत्र छापाखानामा भएका पुराना मेसिनमध्ये गिद्धे प्रेसलाई म्युजियममा राखी अरू पुराना प्रेसलाई लिलाम गर्नुपर्ने सिफारिस गरेको थियो । कुनै बेला गोरखापत्रको सम्पत्तिका रूपमा रहेको गिद्धे प्रेसलाई कुन सालमा राष्ट्रिय सङ्ग्रहालयमा पु-याइयो भन्ने जानकारी प्राप्त हुनसकेको छैन । सङ्ग्रहालयमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका पालाका चार, पाँच बोरा घडीका सामान त्यत्तिकै थन्किएका थिए ।

बेलायतबाट ल्याइएका ती घडीलाई दुई महिनाभन्दा बढी समय लगाएर जोडिएर सग्लो बनाइएको छ । “घडीका सामान सबै थिए, त्यसैले सग्लो बनाउन सक्यौँ” सङ्ग्रहालय प्रमुख श्रेष्ठले भन्नुभयो, “तर गिद्धे प्रेसका सबै पार्टपुर्जा छैनन् । कुनै कुनै पार्टपुर्जा ८, १० जनाले पनि बोक्न सक्दैनन् । तिनलाई बोक्न क्रेन नै चाहिन्छ । प्रेस राख्न उपयुक्त स्थान गोरखापत्र संस्थानको भवन हो । गोरखापत्रले चाहेमा हामी गिद्धे प्रेस हस्तान्तरण गर्न तयार छौँ ।”

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गिद्धे प्रेसको संरक्षण गर्ने दायित्व गोरखापत्रको पनि भएको बताउँदै भन्नुभयो, “त्यसलाई सङ्ग्रहालयमा व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्नेछौँ । गोरखापत्रमा छापाखानासम्बन्धी सङ्ग्रहालय निर्माण गर्ने योजना पनि छ । त्यसलाई सोही सङ्ग्रहालयमा सुरक्षित राख्न इच्छुक छौँ ।”

सङ्ग्रहालय रहेको भवन ‘शिलखाना’को पुनर्निर्माण सम्पन्न गरिएको छ । सुगौली सन्धिभन्दा अगाडिका युद्धमा नेपाली सेनाले जफत गरेकालगायत हातहतियार प्रदर्शनीमा राखिँदैछ । हातहतियार भण्डार गर्ने स्थानलाई शिलखाना भन्ने गरिन्थ्यो । १९९५ सालमा स्थापित तत्कालीन दी नेपाल म्युजियमलाई सोही वर्षको फागुन १ गतेबाट सर्वसाधारणका लागि खुला गरिएको थियो । त्यसका पहिलो किपर शिवनारायण सेनले सुरुमा दरबारियाले मात्र सङ्ग्रहालय हेर्न पाउँथे भनेर पुस्तकमा लेखेका छन् । उहाँले १९९५ साल भदौ ७ गते किपर पदमा नियुक्ति पाउनुभएको थियो ।

१९९७ भदौ १५ गतेको गोरखापत्रमा नेपाल म्युजियम छाउनीका नामबाट विज्ञापन प्रकाशित भएको थियो, “नेपालको इतिहास र शिल्पको अध्ययनका निमित्त श्री ५ महाराजाका करुणाले सबै रैती दुनियाँले म्युजियम हेर्न पाउने भएका छन् । सरकारबाट बक्सेको यो शुभ अवसर नगुमाउनुहोस् । स्त्रीपुरुषलाई नाम मात्रको दर्शनी दुई आना र बालकलाई एक आना तिरेमा म्युजियममा भएको हरेक चिज हेर्न पाइनेछ ।” सङ्ग्रहालयको पहिलो निर्देशक केशरशमशेरलाई बनाइएको थियो र उनले नै थापाथली लगायतका दरबारबाट सामग्री सङ्कलन थालेका थिए । २०२४ सालमा नाम परिवर्तन गरी राष्ट्रिय सङ्ग्रहालय बनाइएको थियो ।

- प्रकृति अधिकारी

सन्दर्भ सामाग्री
गोरखापत्र अनलाइन

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  4. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर