पढ्न लाग्ने समय : 2 मिनेट
बिहीबारबाट नेपालीहरुको महान चाड बडादशैं सुरु भएको छ ।
पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।
हराउँदै रातो माटो, खोटो र कमेरोको प्रयोग (फोटो फिचर)
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् जुन-जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।
घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । शैलपुत्री नवदुर्गा मध्य प्रथम देवी हुन । देवी दुर्गाको ९ वटा रूप हुन्छन् । दुर्गाजी आफ्नो पहिलो स्वरूपमा 'शैलपुत्री' को नामले जानिनछिन् । यिनै नवदुर्गाकी प्रथम दुर्गा हुन् । पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यीनको नाम 'शैलपुत्री' राखियो । नवरात्रि-पूजनमा प्रथम दिन यिनैको पुजा र उपासना गरिन्छ ।
दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ ।