पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
असोज ७, डा. हर्क गुरुङ स्मृति दिवस

पढ्न लाग्ने समय : 11 मिनेट

डा. हर्क गुरुङ, संरक्षण क्षेत्रमा मात्र होइन, देश विदेशमा परिचित नाम हो । वि.सं. २०६३ असोज ७ गते (सन् २००६ सेप्टेम्बर २३) उहाँलगायत २४ जना स्वदेशी एवं विदेशी संरक्षणविद्को हेलिकोप्टर दुर्घटनामा निधन भयो ।


डा. हर्क गुरूङ २६ वर्षको उमेरमा भुगोल विषयमा पिएचडी गर्ने पहिलो नेपाली,  स्वीस भूगर्भविद् टोनी हेगनलाई चुनाैती दिन सक्ने नेपाली, पर्वतारोहणमा शेर्पाहरू भन्दा अघि गैर शेर्पाहरू संलग्न थिए भनेर सबैलाई चकित पार्ने प्रमाण जुटाउने व्यक्ति


डा. हर्क गुरुङ भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष हुनुहुन्थ्यो । उत्तरी लमजुङको बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रम संवत १९९५ साल पौष २१ गते उहाँको जन्म भएको थियो । भुलभुले गाउँ विकास समिति वडा नं. ५, ताङ्लिचोक घर भएका बुवा पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट ठूल्कान्छा छोराको रूपमा जन्मनु भएको थियो ।



बाबुको पछि लागेर लाहुर छिरेका उहाँले एडीनवरा विश्वविद्यालय बेलायतबाट डिप्लोमा र २०२० सालमा भुगोल विषयमा पिएचडी गर्ने पहिलो नेपाली हुनुभयो । लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ नेपाल भौगोलिक समाजमा स्थापनादेखि नै सकृय हुनुहुन्थ्यो ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क गुरुङ चढेको हेलिकप्टर २०६३ असोज ७ गते दुर्घटना भएको थियो । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्नो ज्यान गुमाएका थिए ।

९ वर्षसम्म भेडीगोठ र गाईगोठमा

नौ वर्षम्म डा. गुरुङ भेडीगोठ र गाईगोठको साहरामा रमाईरहनु भएको थियो । पेन्सन थाप्न काठमाडौँ आउने आफ्ना पिताको टोलीलाई पछ्याउँदै खाली गोडा उहाँ सात दिनको बाटो पैदल हिँडेर काठमाडौं आइपुग्नुभयो र पछि काठमाडौंको दरबार स्कूलमा भर्ना हुनुभयो । लाहुरे परिवार पृष्ठभूमि भएका गुरूङ पछि भारतको देहरादून र जालन्धरमा पढ्न जानुभयो ।

यसपछि काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएर आइए प्रथम स्थानमा उत्तीर्ण गर्नुभयो । त्यसपछि उहाँले भूगोल विषयमा भारतको पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बिए अनर्स गर्नुभयो। तत्पश्चात् एडिनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा डाक्टेरट गरेर त्यस विषयमा पिएचडी उपाधी प्राप्त गर्ने पहिलो नेपाली बन्नुभयो ।

त्रिचन्द्र कलेजबाट आईए गरेपछि पटना विश्वविद्यालयमा भर्ना हुँदा नेपाली छात्र परिषद्को गठन भएको थियो । उहाँ परिषद्को महासचिव बन्नुभयो । २६ वर्षकै उमेरमा पिएचडी गर्ने दुर्लभ इतिहास बनेका उहाँले बेलायतबाट अध्ययन पूरा गरेर नेपाल फर्किएपछि पनि घुमफिरलाई निरन्तरता दिनुभयो ।

पर्यटनमा उत्तिकै चासो राख्ने तत्कालीन कुमार खड्गविक्रम शाह र उहाँको दोस्तीकै कारण २०२९ मा नेपाल पर्वतारोहण संघ स्थापना भयो । त्यसको दुई वर्षपछि नै सरकारले पर्यटन मन्त्रालय गठन गर्यो र डा. गुरुङ पर्यटन मन्त्रालयको बागडोर सम्हाल्न पुग्नुभयो । उहाँकै पालामा पर्यटन ऐन, ट्राभल–ट्रेकिङ नियमावली बने ।

वि.सं. २०४० मा डा. हर्क गुरुङ संयोजक रहेको एक अध्ययन समितिले ७० बुँदे सुझावसहितको नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ प्रतिवेदन तयार पार्यो । वि.सं.२०४९ सालतिर उहाँ एसियन एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक बनेर मलेसिया पुग्नुभयो । त्यहाँ करिब पाँच वर्ष बिताउँदा उहाँले देशको समग्र विकास गर्नुछ भने पहिला अल्पमतमा परेका र पिछडिएका जातिको उत्थान गर्नुपर्छ भन्ने बुझ्नुभयो । यही सत्य बुझेकाले पछिल्लो समय उहाँ अल्पमत र आदिवासी जनजातिका एक सशक्त प्रवक्ता बन्नुभएको थियो ।

आफ्नो गाउँको शिरानी बनेर बसेका मनास्लु र हिमालचुली हिमशिखर पछिल्तिर के छन् र मर्स्याङ्दी नदी के कारणले गड्गडाएर बग्छ भन्ने जिज्ञासाले उहाँलाई बाल्यकालमै चिमोट्थ्यो र ज्ञानको एउटा नौलो संसार हेर्न उहाँ घरबाट भाग्नु भएको थियो । यो घुमन्ते स्वभावले उहाँलाई जीवनभर एक ठाउँमा बस्न नदिई ठाउँठाउँमा घुमाइरह्यो । कहिले शिक्षक, कहिले अनुसन्धाता, कहिले योजनाकार र कहिले समाजशास्त्रीका रूपमा ।

सन् १९५० को दशकमा नेपालका तराई, पहाड र हिमाली भागको चप्पाचप्पा पैदल घुम्नेमा स्वीस भूगर्भविद् टोनी हेगन थिए । हेगनले नेपालभरि १४ हजार किलोमिटर पैदल यात्रा गरेको कुरा आफ्ना पुस्तकमा खुलाउनु भएको छ । तर टोनी हेगनले कायम गरेको त्यस कीर्तिमानलाई कुनै नेपालीले चुनौती दिन सक्छन भने त्यो व्यक्ति डा. हर्क गुरुङ नै हुनुहुन्थ्यो । यो कुरा उहाँको भिन्यात्स् अफ नेपाल नामक पुस्तकमा समाहित भ्रमण वृत्तान्तहरू र त्यसपछि उहाँले लेखेका अन्य विवरणहरूबाट प्रमाणित हुन्छ। नेपालका हरेक भागबारे उहाँलाई आफ्ना हत्केला जत्तिकै जानकारी थियो।

उहाँको त्यत्तिकै गहन अध्ययन र जानकारी गोर्खालीहरूको पल्टने इतिहासको थियो। गोर्खालीहरूको पल्टन इतिहासलाई भित्ता पुर्याएर केलाउने अर्को नेपाली विद्वान अझसम्म देखिएको छैन्। अर्को उहाँको अभिरुचिको विषय थियो पर्वतारोहणको इतिहास । डा. गुरुङले नै हो त्यसको इतिहास खोतलेर नेपालका शेर्पाहरूभन्दा पनि अघि पर्वतारोहणको क्षेत्रमा पहिलो पाइला टेक्नेहरू गैरशेर्पा करवीर बुढाथोकी र हर्कवीर थापा थिए भन्ने  खुलासा गर्ने व्यक्ति। थापा र बुढाथोकीले सन् १८९४ मै स्वीट्जरल्याण्डका आल्प पर्वतहरू ब्रिटिसहरूको साथ लागि चढिसक्नु भएको थियो ।

उहाँलाई पर्वतारोहणको इतिहासको अध्ययनमा मात्र होइन, त्यसमा आफैँ संलग्न हुने पनि सोख थियो। थोरै नेपालीलाई थाहा होला उहाँ एउटा अन्तर्राष्ट्रिय आरोहण दलमा संलग्न भएर सगरमाथाको दोस्रो शिविरसम्म पुग्नु भएको तथ्य ।

डा. गुरुङको नामसित जोडिने विशेषणहरूमा एउटा पूर्व राज्यमन्त्री पनि हो। तर, उहाँलाई त्यसै विशेषणमा सीमित राखेर हेरिनु उहाँको बहुप्रतिभाशाली प्रतिभा र व्यक्तित्वका लागि अन्याय हुन जान्छ। चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद्, विद्वान् वक्ता हुनहुन्थ्यो उहाँ ।

बालकृष्ण समको सान्निध्य र संरक्षणमा चित्रकलातिर प्रवृत्त भएर डा. हर्क गुरुङले कोरेका डाँफे र मुनालका चित्रहरू त आजभन्दा ५० वर्षअघि नै हुलाक टिकटका रूपमा छापिएका थिए।



उहाँ क्याप्टेन भएको ठमेल ११ फूटबल टिमले सन् १९६७ मा त्रिभुवन च्यालेन्ज शिल्ड जितेको थियो। टेनिस त उहाँ हप्तैपित्छे नबिराई दश काम छाडेर पनि खेल्ने गर्नुहुन्थ्यो ।

जनजाति विषयक अध्ययन उहाँको अर्को मनपर्ने क्षेत्र थियो। फेसेज अफ नेपाल भन्ने नेपालका जातजातिबारे चिनारी गराउने पुस्तक त उहाँले मलेसियामा एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर रहँदा उहीँ लेखी सिध्याउनु भएको थियो । उहाँको विश्लेषणमा कोरा तथ्याङ्कको चिरफार मात्र नभएर नेपाली समाजलाई यसको समग्रतामा बुझ्ने प्रचेष्टा रहन्थ्यो। जनजाति समुदायलाई उनीहरूको समुचित स्थान प्रदान गर्दै विकासको मूलधारमा कसरी समाहित गर्ने भन्ने खोजी हुन्थ्यो।

उहाँको शैक्षिक प्रशिक्षण र अभ्यासले गर्दा उहाँका धेरै कृतिहरू अंग्रेजी भाषामा लेखिएका छन् । तर, उहाँ त्यत्तिकै निपुणतासाथ नेपाली भाषामा पनि लेख्ने गर्नुहुन्थ्यो । उहाँको यो पकड विविध विषयमा नेपालीमा लेखिएका हिमाल किताबले छाप्न लागेको उहाँका रचनाहरूको प्रकाशोन्मुख सँगालोमा पनि देख्न सकिन्छ। उहाँको सोचाइको स्पष्टता लेखाइमा पनि उत्तिकै प्रबल पाइन्छ।

केही वर्षयता उहाँको सृजनात्मक उत्पादनशीलता असाध्यै तीव्र भएको थियो। अफिस कोठामा होस् या घरको अध्ययन कक्षमा, उहाँ सदैव बायाँ हातमा चुरोट र दायाँ हातमा कलम समातेर बसेको भेटिनुहुन्थ्यो । अनि, अघिल्तिरको होचो टेबुलमा हालसालै छापिएका उहाँका पुस्तकहरूका ताँती प्रदर्शित हुन्थ्यो।

मुल तस्वीरमा, विख्यात मानवशास्त्रीहरू बायाँबाट डा. वेदप्रकाश उप्रेती, क्रिस्टोफ भोन फ्युरर ह्यामिन्डोर्फ तथा हर्क गुरूङ मुगुस्थित रारा (महेन्द्र) ताललाई पृष्ठभूमीमा पारेर वि.संं २०२३ ताका फोटो खिचाउँदै

सन्दर्भ सामाग्री

ujyaaloonline.com
faceboook.com/Drharkagurung
http://www.harkagurung.org
http://www.drharkaguruug.net
https://en.wikipedia.org/wiki/Harka_Gurungg
#DrHarkaGurung

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर