नेवार भएर किन संस्कृत पढेको ? 'सबैलाई वैद्य बन्न संस्कृत पढेको भनेर जवाफ दिन्थे'-फणिन्द्ररत्न बज्राचार्य

पढ्न लाग्ने समय : 8 मिनेट

प्रकृति अधिकारी ✍

विक्रम संवत् २००४ वैशाख ३ गते बुधबारको गोरखापत्रमा एउटा चिठ्ठी छापियो, “विद्यार्थी फणिन्द्ररत्न बज्राचार्यको यस्तो चिठ्ठी आएको छ (‘अहिलेको समयमा अङ्ग्रेजी नजान्ने मान्छेलाई हेला हुनु स्वाभाविकै छ । तसर्थ अङ्ग्रेजी पढ्ने विद्यार्थीलाई संस्कृत पढाए झैं संस्कृत पढ्ने विद्यार्थीलाई पनि अङ्ग्रेजी इत्यादि पढाउने बन्दोबस्त होला भन्ने आशा गर्छु’ ।”
सम्पादकलाई चिठ्ठी स्तम्भमा प्रकाशित सो चिठ्ठीको ठीक मुनि सम्पादकले आफ्नो टिप्पणी यसरी छापिदिए, “पुरानो ढङ्गले संस्कृत पढाउने प्रणाली भएन भन्ने कुरा बराबर उठिरहेकै विषय हो । भारतवर्षका ठाउँठाउँमा पनि यस कुराको निम्ति अनेक आयोजनाका साथसाथै नवीन नवीन पाठ्यपुस्तकहरू पनि पढाउने बन्दोबस्त हुन लागिरहेको छ ।  साइन्स, राजनीति आदिका पर्यायबाची शब्द संस्कृत भाषामा उल्था हुन लागिरहेका छन् । भूगोल, इतिहास आदि पुस्तक पनि संस्कृत पढ्नको निम्ति अनिवार्य विषय गराउन लागिरहेका छन् । हाम्रो शिक्षा विभागका अधिकारी वर्गले पनि यस विषयमा विशेष ध्यान दिइरहेको छ तर चिठ्ठी प्रेषकको भनाइ बमोजिम अङ्ग्रेजी नपढ्नेलाई हेला हुनु स्वाभाविक छ भन्ने कुरा होइन । अङ्ग्रेजी भाषा नजानेर पनि समाज र मुलुकमा उच्च उच्च स्थान प्राप्त गरेका असङ्ख्य उदाहरण पनि दिन सकिन्छन् ।”
पत्रिकामा छापिँदा माग सम्बोधन हुन्छ भन्ने सोच उहाँको थियो । त्यसैले अङ्ग्रेजी पढ्ने धोको पूरा गर्न संस्कृत विद्यालयका विद्यार्थी फणिन्द्ररत्नले गोरखापत्रका सम्पादकलाई चिठ्ठी लेख्नुभयो । चिठ्ठी पुर्याउन उहाँ जुद्धसडकस्थित गोरखापत्र कार्यालय (हाल गोरखापत्र संस्थान) पुग्नुभयो । केही दिनमै चिठ्ठी छापियो । झन् सम्पादकको टिप्पणीसहित छापियो ।  संस्कृतका विद्यार्थीलाई अङ्ग्रेजी विषय थप हुने आशामा चिठ्ठी लेख्नुभएकोमा सम्पादकले अङ्ग्रेजी मात्रै महत्वपूर्ण होइन भन्ने आशयको टिप्पणी गरिदिए । उहाँले त्यस टिप्पणीलाई स्वाभाविक रूपमा लिनुभयो । चिठ्ठी पढेपछि त पाठशालाका पण्डितजीहरूले ‘यस्तो लेखेको हो ?’, ‘किन लेखेको ?’ भनेर सोध्न थाले । उहाँलाई अप्ठेरो पनि लाग्यो । लाज पनि लाग्यो । 
आफ्नो छोरा ज्योतिष र वैद्य बनोस् भनेर ठहिटी झ्वाबहालका वैद्य ज्योतिरत्न बज्राचार्यले फणिन्द्ररत्नलाई रानीपोखरीस्थित संस्कृत प्रधानपाठशाला (हालको संस्कृत माध्यमिक विद्यालय) मा भर्ना गराइदिनुभएको थियो । कुरा २००० सालको हो ।  फणिन्द्ररत्न त्यतिबेला १३ वर्षका हुनुहुन्थ्यो ।  नरदेवी पाठशालामा भर्ना हुन जानुभएको थियो तर कविराजहरूले ‘पहिले संस्कृत पढाउनु अनि वैद्य विषय पढ्न सजिलो हुन्छ’ भनेपछि उहाँ संस्कृत प्रधानपाठशालामा प्रथम वर्षमा भर्ना हुनुभएको हो । प्रधानमन्त्री वीरशमशेरकै पालादेखि एउटै भवनमा संस्कृत र दरबार हाइस्कुल सञ्चालन हुँदै आएको हो ।  तल्लो तलामा संस्कृत विद्यालयका विद्यार्थी सुकुलमा बसेर संस्कृत, साहित्य र दर्शन विषय पढ्नुपर्ने अनि माथिल्लो तलामा रहेको दरबार हाइस्कुलका विद्यार्थी बेञ्चमा बसेर अङ्ग्रेजी पढ्नुपर्ने ।  विषयगत र भौतिक विभेद उहाँले महसुस गर्न थाल्नुभयो । 
चार वर्ष बित्यो, उहाँलाई लाग्यो– “भूगोल, इतिहास र अङ्ग्रेजी विषय पढ्ने धेरै चलाख हुने रहेछन् ।” बाबु ज्योतिरत्न र काका पञ्चरत्न वैद्य हुनुहुन्थ्यो । उहाँहरू साप्ताहिक गोरखापत्र, शारदा, उदय, उद्योग, म्युनिसिपालिटी, विश्वमित्र लगायतका पत्रिकाका ग्राहक । पत्रिका पढिसकेपछि औषधि पोको पार्न ती पत्रिकाको प्रयोग पनि हुन्थ्यो ।  भारतबाट प्रकाशित हुने धर्माेदय पत्रिका पढेपछि एउटा कविता लेख्नुभयो फणिन्द्ररत्नले । त्यो कविता धर्माेदय पत्रिकामा पठाउनुभयो ।  कविता पत्रिकाको पहिलो पृष्ठमा छापिनुका साथै “अरु पनि कविता पठाउनु” भनेर पोष्टकार्डमा सम्पादकले लेखेर पठाए । त्यस घटनाले उहाँलाई लेखनप्रति अझ उत्साहित बनायो ।  अनि टोलका साथीले “तिम्रो लेख्न सक्छौँ । अङ्ग्रेजी पढ्ने व्यवस्था गरिदिनुपर्यो भनेर पत्रिकामा छपाउन, फणिन्द्र” भनेपछि गोरखापत्रमा सम्पादकलाई चिठ्ठी लेख्नुभएको थियो । 
“नेवार भएर किन संस्कृत पढेको ?” भनेर सोध्ने साथीहरू उत्तिकै हुन्थे । आफन्त कहाँ जाँदा पनि सबै त्यस्तै जिज्ञाशा राख्थे ।  भेट्ने जतिले गिल्ला गर्थे ।  “कक्षामा ममात्र नेवार थिए ।  सबै बाहुन थिए ।  नेवारहरू संस्कृत पढ्दैन थिए । मैले सबैलाई वैद्य बन्न संस्कृत पढेको भनेर जवाफ दिन्थे” उहाँले भन्नुभयो ।  त्यसमाथि एक दिन मावलीमा मामाले आमालाई “शीलुचा, तिम्रो छोरालाई संस्कृत पढाएर के गरेको ? भान्जा मूर्ख होला है ? मेरो छोरालाई अङ्ग्रेजी पढाएको छु । हेर त्यो कति बाठो छ” भनेपछि जीवनको कथाले नयाँ मोड लिने निश्चित भयो । अब उहाँले संस्कृतको मोह नत्यागी सुखै नपाउने अवस्थामा पुग्नुभयो । 
अन्ततः अङ्ग्रेजी पढ्ने धोको पूरा गर्न जेपी (जुद्ध पब्लिक) हाइस्कुलका शिक्षक कीर्तिरत्न बज्राचार्यलाई भनेर उहाँ सिधै कक्षा ९ मा भर्ना हुनुभयो । त्यो बेला जेपी स्कुल हाल नेपाल बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय नयाँ सडकमा रहेको स्थानमा टहरोमा सञ्चालित थियो । हुनत सबैले अङ्ग्रेजी पढ्नुपर्छ भनी उक्साइरहँदा उहाँले ठूलो वर्णमाला किनेर एबीसीडी स्वअध्ययन गर्नुभएकै थियो । कीर्तिरत्नको घरमा पुगी अङ्ग्रेजीमा वाक्य बनाउन पनि सिक्ने अभ्यास गर्न थाल्नुभयो ।  गणित र अङ्ग्रेजी नपढेकाले उहाँ समस्यामा थलिनुभयो । ठ्याम्मै बुझ्नु भएन । तैपनि शिक्षकहरूले ती विषयमा ‘ग्रेस’ दिएकाले कक्षा १० मा उक्लिन सफल हुनुभयो । 
एक दिन शिक्षक रामजी शर्माले बोलाएर “तिमी धेरै कमजोर रहेछौ । म पैसा लिन्न तर तिमीलाई ट्युसन पढाइदिन्छु” भनेपछि फणिन्द्ररत्नलाई निकै राहत मिल्यो ।  २००८ सालको चैतमा एसएलसी परीक्षा पनि आयो, उहाँ उत्तीर्ण हुनुभयो । २००८ सालदेखि राजपत्र प्रकाशित हुनथालेकोले राजपत्रमा समेत एसएलसी परीक्षामा उत्तीर्ण भएकाहरूको नाम छापियो ।  गोरखापत्रमा पनि नाम छापियो ।  त्यसपछिका वर्षमा राजपत्रमा नाम छापिएन ।  कुन कुरा राजपत्रमा छाप्ने र कुन नछाप्ने भन्ने थाहा नभएरै एसएलसी परीक्षामा उत्तीर्ण भएकाहरूको त्यस वर्ष राजपत्रमा नाम छापिएको हुनुपर्छ । 
सिपाहीहरूलाई कखरा, भाग, गुणन सिकाउनुका साथै नक्सा हेर्न सिकाउने भनेर नेपाली सेनाको शेर बटालियनमा उहाँ जागिरे हुनुभयो । खरदार सरहको मास्टरी पेसा भए पनि टीकाभैरवदेखि हेटौडासम्मको बाटो बनाउने काममा खटिन जानुपर्ने भयो । त्यहाँ भविष्य देख्नुभएन ।  चार महिनापछि धर्माेदय पत्रिकाको सम्पादक हुन कलकत्ता पुग्नुभयो । 
स्वदेश फर्किएपछि कन्यामन्दिर हाइस्कुल र आनन्दकुटी विद्यापीठमा अध्यापन गर्नुभयो । पढाइलाई निरन्तरता दिने अवसर पनि बल्ल मिल्यो ।  त्यतिञ्जेलसम्ममा आफूसँगैका सहपाठीहरू कलेजमा आफ्ना गुरु भइसकेका थिए । २०२४ सालमा शाखा अधिकृतमा नाम निकाल्नुभयो ।  पञ्चायतकालमा काठमाडौँ र मुस्ताङको जिल्ला शिक्षा अधिकारी समेत बन्नुभएका उहाँको शिक्षा मन्त्रालयको उपसचिव पदबाट जागिरे जीवन टुङ्गियो । 
त्यसबीचमा उहाँ पत्रकारिता पढ्न २०२७ सालमा छात्रवृत्ति पाएर न्युजिल्याण्ड पुग्नुभयो ।  झण्डै वर्षदिन पत्रकारिता पढ्नुभयो । ८५ वर्षका फणिन्द्ररत्नले अवकाश प्राप्त जीवनमा २० वटा पुस्तक लेखिसक्नु भयो र थुप्रै पुस्तक सम्पादन पनि गरिसक्नुभएको छ । उहाँका पुस्तक सबै नेपाल भाषाका छन् र साहित्य तथा धर्म विधाका छन् । 
अरुको उक्साहटमा संस्कृत विषयलाई बिदा गर्दा नामुद वैद्य र ज्योतिष बन्ने उहाँको सपना यो जीवनमा अधुरै रह्यो । “संस्कृत विषय पढे तर न ज्योतिष बने, नत वैद्य बन्न सकें । सबैको दबाबमा अङ्ग्रेजी भाषा पढ्न जेपी हाइस्कुलमा भर्ना भएँ, कलेज पढँे, न्युजिल्याण्ड बसेँ । तैपनि अङ्ग्रेजी भाषा कामचलाउ मात्र बन्यो” उहाँको गुनासो छ ।

सन्दर्भ सामाग्री

गोरखापत्र
इपुस्तकालय

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।