पढ्न लाग्ने समय : 1 मिनेट
हरेक वर्ष जुलाई २२ का दिन विश्व आँप दिवसका मनाउने गरिन्छ ।
प्राग ऐतिहासिक अभिलेख अनुसार भारतको रैथाने यो फलको उत्पत्ति आजभन्दा २५– ३० लाख वर्षअघि सर्वप्रथम भारतको उत्तर पूर्व राज्य, बङ्गलादेश, म्यानमार, नेपाल, पाकिस्तान लगायतका क्षेत्रमा भएकाे मानिन्छ । फलको राजा भनिने आँपको वर्णन हिन्दू धर्मग्रन्थमा पनि यसका गुणबारे उल्लेख गरेको पाइन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ ।आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ ।
पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन 'ए', 'सी' र 'बी' लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ । आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ ।आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइटि्रक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।
आँपमा प्रोटिन ९.६ प्रतिशत, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत पाइन्छ । एक सय ग्राम आँपमा करिब ९० क्यालोरी ऊर्जा हुन्छ ।