पढ्न लाग्ने समय : 3 मिनेट
चन्द्रागिरि नगरपालिका १५ का कर्मचारी उपेन्द्र कुमार थापा सोही वडामा निर्मित भिराडिल साकुरा पार्कमा पुराना फलामका टुक्राहरू संगाल्दै थिए । नजिकै करिब ७७ वर्षका विदेशी अनुहार उत्सुकतापूर्वक थापाले संगाल्दै गरेका फलामका टुक्राहरू नियाल्दै थिए । ती विदेशी नागरिक थिए डेनियल एडवार्ड जो ५३ वर्ष पहिले पहिलो पटक नेपाल आएपछि निरन्तर नेपालको रेल इतिहासका बारेमा अध्ययन गरिरहेका छन् ।
साकुरा पार्कमा डेनियल एडवार्ड
प्रथम विश्वयुद्धमा नेपालले इष्ट इण्डिया कम्पनी सरकारलाई (ब्रिटेन) सघाएको गुन बापत अंग्रेज सरकारले श्री ३ चन्द्रशमशेरलाई नेपालमा यातायात सेवा सुरू गर्नका लागि (रेल, रोप वे र सडक निर्माण) २१ लाख रूपैंया उपलब्ध गराउने भयो । जुन रकमको एक दाम पनि तलमाथि नगरीकन श्री ३ चन्द्रले धोर्सिङ-मातातीर्थ रोप वे, अमलेखगञ्ज- भीमफेदी सडक मार्ग तथा अमलेखगञ्ज- रक्साैल रेल मार्गको निर्माण गराए ।
यो पनि पढ्नुहोस् वि.सं १९८४ सालमा नेपालमा रोपवे चल्थ्यो ! (भिडियो सहित)
धोर्सिङ-मातातीर्थ रोपवे ले गुर्जुधारास्थित १० नंं स्टेशनसम्म ल्याएको सामान कोइलाबाट चल्ने सानो ट्रलीले टेकुभन्सार र कहिलेकाँही खिचापोखरी सम्म पुर्याउँथ्यो । कलंकी खसि बजारमा अहिले पनि राणाकालमा रेल गुड्ने बाटोको नाम लिंक मार्ग राखिएको छ ।
लिक मार्गमा डेनियल एडवार्ड
त्रिचन्द्र नेपाल तार रोपवे ले नेपाल खाल्डोमा ल्याएका सामान बोक्ने ट्रली खासमा नानो (सानो) रेल जस्तै थियो जुन करिब ८० वर्षअघि काठमाण्डाैमा चल्दथ्यो । तस्बिरको रातो घेरामा हेर्नुहोस् चन्दागिरि ५ स्थित १० नंं टोल नजिकै रेलको लिक ।
उक्त रेल वि.संं २०१४ पछि रोपवे हेटाैंडा-टेकुसम्म विस्तार भएसँगै गुड्न छाड्यो । त्यसपछि क्रमशः यसका पाटपुर्जा हराउन थाले कालान्तरमा पुर्णरूपमा लोप भयो । अाज पनि यस रेलका केही अवशेष बाँकी नै छन् जसमध्ये भीमशमशेरको पालामा वि.संं १९८८ बनेको उक्त रेल गुड्न विष्णुदेवी मन्दिर नजिक बल्खु खोलामाथि बनाइएको पुलको मुखमा राखिएको साइनबोर्ड हाल चन्द्रागिरि १५ नंं वडा कार्यालयमा सुरक्षित राखिएको छ भने विष्णुदेवी क्षेत्रमै रहेको लिक बल्खुखोलाबाट वडाध्यक्ष उत्तम बहादुर राउतको पहलमा गत वर्ष निकालियो । जुन लिक हाल साकुरा पार्कमा राखिएको छ । वडा कार्यालयले यस ऐतिहासिक लिकलाई विशेष रूपमा राखिने वडाध्यक्ष राउतले जानकारी दिए ।
रातो घेरामा हालको साकुरा पार्क नजिकैको भीरमा भीमशमशेरको पालामा चट्टान फुटाउन डेटोनेटर राख्न पारिएको प्वाल ।
अमेरिकी नागरिक डेनियललाई नेपालको रेल इतिहास पुस्तक लेखनका लागि सघाइरहेका जीवन नेपालका अनुसार त्रिचन्द्र नेपाल तार रोपवे र सो सँग सम्बन्धित ट्रलिका बारेमा लुकेका तथ्यहरू विलियम्सको पुस्तकमा प्रकाशित हुँदैछ ।
सन्दर्भ सामाग्री
चन्द्रागिरिन्यूज डट कम, २०७८, १२ बैशाख आईतवार १९:२६