पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
नेपाली क्रिकेटको इतिहास

पढ्न लाग्ने समय : 15 मिनेट

क्रिकेट खेल संसारकै सबैभन्दा रुचाइएको खेलमा पर्दछ । यस खेलका मुख्यत तीन प्रकार हुन्छन्: पाँच दिनको (टेस्ट), एक दिवसीय (वान डे) र २०-२० क्रिकेट  तथापी केही देशमा टी-टेन (१०-१०ओभर) ढाँचामा पनि खेल्न थालिएको छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो। इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो।

क्रिकेट शब्द डच शव्द क्रिकबाट आएको विश्वास गरिन्छ, जसको अर्थ लट्ठी हुन्छ। क्रिकेट खेलमा ब्याट र विकेटको रूपमा लट्ठीका रूपमै प्रयोग गरिने भएकाले यसको नाम जुरेको हुनसक्छ।

क्रिकेटको सुरुवात पाँचौं शताब्दीतिर भएको मानिए पनि औपचारिक रूपमा सन् १६४६ मा पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ, जुन बेलायतको केन्टमा भएको थियो। सत्रौँ शताब्दीको अन्त्यतिर केही पादरीले चर्चमा नगएर क्रिकेट खेलेकाले जरिवाना तिरेको इतिहास छ। सन् १७०६मा बेलायतका विलियम गोल्डवेनले क्रिकेट खेलको नियमका बारेमा पुस्तक प्रकाशन गरे। त्यतिबेला विकेटमा दुईवटा लट्ठी हुन्थे भने ४ बलको एक ओभर हुन्थ्यो। सन् १७४४मा प्रकाशित क्रिकेटको दोस्रो नियमले दुई जना अम्पाएर हुने व्यवस्था गर्‍यो।

सन् १७६०मा इङ्गल्याण्डमा स्थापना भएको ह्याम्ब्लेडन क्लब पहिलो क्रिकेट क्लब हो। त्यसपछि सन् १७८७मा अर्को क्लब म्यारिलेबन स्थापना भयो।

सुरुमा बलरले बललाई जमीनबाट गुडाएर विकेटतिर फ्याक्नुपथ्र्‍यो तर सन् १७७०को दशकपछि बललाई हावामा फ्याँक्ने चलन सुरु भयो जसबाट आधुनिक क्रिकेटको सुरुवात भयो। सन् १७७४मा एलबीडब्लुको नियम आयो र दुई विकेटको सट्टा तेस्रो विकेट पनि राख्न थालियो। सन् १७८०मा तिन दिवसीय खेलको सुरुवात भयो र पहिलो पटक ६ बलको एक ओभर बनाइयो। सन् १८७०मा क्रिकेटमा चौका र छक्काको व्यवस्था भयो।

टेस्ट क्रिकेटको सुरुवात सन् १८७७मा भयो, जुन इंग्ल्याण्ड र अस्ट्रेलियाबीच भएको थियो, जसमा अस्ट्रेलियाले इङ्गल्यान्डलाई ४५ रनले हराएको थियो। सन् २००७मा पहिलो ट्वान्टी२० क्रिकेट विश्वकप प्रतियोगिता सम्पन्न भयो, जसमा भारतले क्रिकेट विश्वकपको उपाधि जित्यो।

क्रिकेटका केही रोचक कुराहरूः

  • सन् १९४६मा इङ्ल्याण्डमा बार्बाडोज र ब्रिटिस गुएना बीच भएको खेलमा चौध बलको ओभर खेलिएको थियो। उक्त ओभरमा कुनै नो बल वा वाइड फालिएको थिएन। ८ बलको ओभर राखिएको खेलमा बाँकी ६ बल अम्पाएरको गिन्तीको कमजोरीका कारण थपिएको थियो।
  • आधुनिक क्रिकेटमा तीनवटा विकेट हुन्छन्, तर सन् १९६३मा इङ्ल्याण्डको लर्ड्समा खेलिएको खेलमा भने ४ वटा विकेट राखिएको थियो। परीक्षणका रूपमा ४ वटा विकेट ठड्याएर खेलिएको खेलमा विकेटको चौडाइ ९ इन्चबाट ११ इन्च बनाइएको थियो।
  • बलरले बल नफाल्दै नन स्ट्राइकिङमा रहेको ब्याट्सम्यान आफ्नो क्रिजबाट दौडिए आउट हुन्छ, जसलाई माँकड भनिन्छ। भारतका विनोद माँकड विवादास्पद रहेको टेस्ट खेलमा त्यसैगरी आउट भएका हुनाले त्यसपछि त्यस्तो प्रकारको आउटलाई माँकड भनिन्छ।
  • सन् १९४६मा इङ्ल्याण्डमा भएको खेलमा आश्चर्यजनक घटना भयो। दुई ओभरको खेल भैसकेपछि फिल्डिङ गरिरहेका लेन हटनले खेल रोकेर पिचको लम्बाइ नाप्न आग्रह गरे। त्यसपछि खेल रोकेर पिच नाप्दा पीच २ यार्ड लामो देखियो। पिचको लम्बाइ २२ यार्ड हुनुपर्नेमा २४ यार्डको पाइएपछि खेल पुनः सुरुदेखि खेलाईएको थियो।
  • टेलिभिजनमा रिप्ले हेरेर थर्ड अम्पाएरद्वारा रन आउट घोषणा गरिएका पहिलो खेलाडि भारतका सचिन तेन्दुलकर हुन्। दक्षिण अफ्रिकाविरुद्ध सन् १९९२मा भएको खेलमा उनलाई दक्षिण अफ्रिकी खेलाडि जोन्टी रोड्सले आउट गरेका थिए। अर्को दिन तिनै जोन्टी रोड्सलाई तेन्दुलकरको अपीलमा थर्ड अम्पाएरले रन आउट घोषित गरे।
  • सन् १९८६मा बेलायतमा भएको क्रिकेटमा अर्को रोचक घटना भयो। खेलमा ब्याट्सम्यानले बल हानेपछि रनका लागि दौडँदा ब्याट् भुइँमा खसाले, त्यतिबेलासम्म ब्याट्सम्यानले ३ रन जोडिसकेका थिए। जब फिल्डरले बल पक्रेर विकेटतर्फ फाले, बलरले त्यो बललाई ब्याट् टिपेर हिर्काउँदै फाले। जसबापत फिल्डिङ गर्ने टिमलाई ५ रनको जरिवाना दिइयो र ब्याट्सम्यानले जम्माजम्मी ८ रन जोडे। 
  • एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा पहिलो बलिङ गर्ने बलर जिओफ बोएकट हुन् र पहिलो बल सामना गर्ने ब्याट्सम्यान ग्राहम म्याक्केन्जी।
  • सन् १९७५को विश्व कप क्रिकेटमा भारतका सुनिल गाबस्करले पूरा खेलमा ब्याटिङ गर्दै ३६ रन बनाएका थिए। उक्त खेलमा भारत इंगल्याण्डसँग २ सय ३ रनले पराजित भएको थियो।
  • टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा लामो समयसम्म खेलिएको म्याच सन् १९३९मा दक्षिण अफ्रिकाको डर्बानमा भएको इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल हो, जुन लगातार ९ दिनसम्म हुँदा पनि अनिणिर्त रह्यो। मार्च ३मा प्रारम्भ भएको खेल मार्च १४ सम्म चलेको थियो। त्यसबीचमा ४, ६, ७, ८, ९, १० र १४ तारिखमा खेल भयो। ११ तारिखका दिन वर्षाका कारण खेल हुन सकेन। १४ तारिखको बेलुकीसम्ममा इंग्ल्याण्डले दोस्रो पालिमा ५ विकेट गुमाएर ६ सय ५४ रन बनाएको थियो र जित्नका लागि जम्मा ४२ रनको आवश्यकता थियो। १५ तारिखमा खेल भएको भए इंग्ल्याण्डले जित्न सक्थ्यो तर १५ तारिखका दिन इंग्ल्याण्डको टोली डुंगाबाट घर फर्कनुपर्ने थियो। त्यसैले खेल पूरा हुन पाएन र बराबरीको घोषणा गरियो। टेष्ट क्रिकेटको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको म्याच हो।

नेपालमा क्रिकेट

नेपाली खेलकुदको पुरानो खेलमध्ये एक हो क्रिकेट। नेपाली क्रिकेट टोली टिम नेपाल, गोर्खाली तथा द राइनोज जस्ता नामले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने गर्दथ्यो। यो एउटा खेलाडीको समूह थियो। वि.संं १९७८ ताका बेलायतबाट पढाइ सकेर फर्किने क्रममा तत्कालीन राणा शासकहरूले आफ्नै मनोरञ्जनका लागि नेपालमा क्रिकेट भित्र्याएको मानिन्छ। श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेर नेपाली क्रिकेटका पिताका रूपमा चिनिन्छन् । देशव्यापी रूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यले २००४ मा नेपाल क्रिकेट संघको स्थापना भएको थियो। तर, २००७ सालमा राणा शासन नफ्याँकिएसम्म क्रिकेट राणा परिवार, उनीहरूका आफन्त, नातेदार र दौतरीमा मात्र सीमित थियो। उनीहरूले दरबार र टुँडिखेलमा क्रिकेट खेल्थे। राणाकालकै समयमा स्थापित क्रिकेट संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रूपमा दर्ता पाएसँगै यसलाई नेपाली क्रिकेटको औपचारिक विकासमा ठूलो उपलब्धि मानियो। राणा शासककै अधिनमा रहेककाले वि.स २०४० अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन।

यो पनि पढ्नुहोस् २ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, 'नेपाल'

तर, २०४० कै समयमा राजधानी बाहिर बाराको कलैया, पर्साको वीरगन्ज, धनुषाको जनकपुर, बाकेको नेपालगन्ज, रुपन्देहीको भैरहवा लगायत तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ। त्यही बेला नेपाल क्रिकेट संघ अन्तर्गत क्षेत्रीय र जिल्ला संघहरू स्थापना भएपछि विद्यालयमा पनि क्रिकेट खेलको मोह बड्दै गयो। वि.स २०४४ सालमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को सदस्यता पाएको हो। त्यसको २ वर्षपछि एसियाली क्रिकेट परिषद् (एसीसी) को सदस्य बनेको थियो। २०५२ सालमा आइसीसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न सुरु गरेको हो। योसँगै विस्तारै नेपालमा क्रिकेटको लोकप्रियता बढ्न थालेको थियो। छिमेकी मुलुक भारतले क्रिकेटलाई तीव्र रुपमा विकास गरेपनि नेपालमा भने सीमित स्रोत साधनमै क्रिकेट खेल्नुपर्ने बाध्यता थियो। जुन अहिलेसम्म पनि कायमै छ।  २०४४ मा आइसीसीसँगको सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान पुर्यायो। नेपालले पहिलोपल्ट वि.स २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसी ट्रफीमा सहगागि जनायो। जहाँ ब्रुनाइ र जापानलाई पराजित गरेपनि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो।


नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जिम्मा भने २०५५ सालमा पायो। जुन थियो एसीसी ट्रफी। त्यही प्रतियोगिताका लागि बनाइएको हो कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान। तर, दुर्भाग्य घरेलु मैदानमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपाली टोलीले एउटै खेल पनि जित्न सकेन। अहिले नेपालमा कुनै खेलले नेपालीहरूलाई खुसी दिएको छ भने त्यो क्रिकेट नै हो। घरेलु भूमिमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा सबै खेल हारेपनि नेपालको क्रिकेट यात्रा रोकिएन। उनीहरूले अझ सिक्ने र जान्ने मौका पाए। राज्यको कम लगानी र खेलाडीहरूको अथक प्रयासले गर्दा नेपाली क्रिकेटले त्यसपछि एकपछि अर्को सफलता हात पार्दै गयो।

सन् २००० मा नेपाली यु–१९ टोली विश्वकपमा आठौं भयो। युएईमा शारजहाँमा भएको आइसीसी ट्रफीको सेमिफाइनलमा पुगेर राष्ट्रिय टोलीले पनि देशको सान उच्च राख्यो।  सो खेलमा नेपाल हङकङसँग पराजित हुँदै बाहिरिएको थियो। लगत्तै अर्को वर्ष यही प्रतियोगितामा जर्मनी र गिब्राल्टारलाई हराएर नेपालले क्रिकेटमा सफलता हात पार्यो। सो प्रतियोगितामा पनि नेपाल नामिबियासँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो। सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा युएईसँग पराजित हुँदै नेपाल उपविजेतामा सीमित भयो। त्यसलगत्तै नेपालले इमर्जिङ नेसन्स कपको आयोजना गर्यो। जहाँ भुटान र माल्दिभ्सलाई हराएर नेपालले उपाधि आफ्नो पक्षमा पार्यो।

सन् २००४ मा नेपालले पहिलोपटक आइसीसी अन्तरमहादेशीय कपका नाममा प्रथम श्रेणीको क्रिकेट खेल्यो। तर, मलेसियालाई पराजित गरेपनि युएईसँग बराबरीमा रोकिँदै नेपाल सेमिफाइनल पुग्नबाट चुक्यो। त्यस्तै, सन् २००४ मा एसीसी फास्ट ट्र्याक नेसन्स कपमा तेस्रो भएर नेपाल २००५ को एसीसी ट्रफीका लागि छानियो। जसमा पाँचौं भएर नेपाल आइसीसी ट्रफीमा खेल्न योग्य भयो। उक्त प्रतियोगितामा कतारलाई प्लेअफमा हराएर तेस्रो भएपछि नेपाल आयरल्याण्डमा हुने आइसीसी ट्रफीमा छनोट भएन। त्यही वर्ष आइसिसी अन्तरमहादेशीय कपमा युएईलाई हराएपछि हङकङसँग बराबरी गरेको नेपाल एसीसी फास्ट ट्रयाक नेसन्स कपमा उपविजेता भयो। त्यसपछि नेपाली टोलीले खेलेको अर्को खेल थियो २००८ मा विश्व क्रिकेट लिग डिभिजन पाँच। जर्सीमा भएको उक्त प्रतियोगितामा समूह ‘ए’ को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल टोली अन्तिम चारमा अफगानिस्तानसँग रोकियो। तर, अमेरिकालाई प्लेअफमा हराउँदै नेपालले तेस्रो स्थान हात पारेको थियो। प्रतियोगिताबाट दुई टोलीमात्र डिभिजन चारलाई छानिनेमा नेपाल तेस्रो भएपछि टोलीको विश्वकप २०११ खेल्ने सपना अधुरो रह्यो। सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन–५ नेपालले जित्यो। अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो। त्यही वर्ष भएको डिभिजन–४ मा नेपाल तेस्रो हुँदै ‘रेलिगेसन’बाट जोगियो।

सन् २०१२ मा डिभिजन चार जितेर डिभिजन तीनमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन तीनमा पनि विजेता बन्दै डिभिजन दुईमा उक्लियो। सन् २०१२ मा नेपालले क्रिकेटमा अर्को सफलता हात पार्यो। जुन थियो युएईमा भएको एसीसी ट्रफी एलिट कपमा संयुक्त रुपमा विजेता बन्दै नेपाल र युएईले उपाधि बाँडेको। जसले गर्दा नेपाल र युएईसँगै तेस्रो भएको अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाजस्ता टेस्ट खेल्ने देशसम्मिलित एसीसी इमर्जिङ नेसन्स प्रतियोगिताका लागि छानिए। सन् २०१३ मा काठमाडौंमा सम्पन्न एसीसी ट्वान्टी–२० कपमा फाइनल पुगेर युएईमा सम्पन्न विश्व ट्वान्टी–२० कप छनोटलाई छानियो। त्यस्तै, सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन–३ मा पनि विजेता बन्दै डिभिजन–२ मा उक्लियो। सन् २०१४ जुनदेखि २०१५ आइसीसी विश्व टि–२० छनौट प्रतियोगितासम्म आइसीसीले नेपाललाई टि–२० अन्तर्राष्ट्रियको मान्यताप्राप्त टिमको श्रेणीमा राखेको थियो। २ वर्षअघि जिम्बावेमा भएको विश्वकप छनौटमा सातौ भएको नेपाल सन् २०२२ सम्म एक दिवसीय मान्यता प्राप्त देश बनेको छ। नेपालले अहिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थीति जनाउन थालेको छ।



मदनशमशेर सहितको क्रिकेट टोली, वि.संं १९७० ताका । 


काठमाण्डाैमा वि.संं १९७० को दशकमा क्रिकेट खेल्दै युवाहरू । केही खेलाडीले कमिज सुरूवाल लगाएको देख्न सकिन्छ । 


सन्दर्भ सामाग्री
नागरिकन्युज
केशव घिमिरे 
ब्रिटिश लाइब्रेरी
हिमालखबर
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर