स्वस्थानी व्रत आज समापन गरिँदै

पढ्न लाग्ने समय : 3 मिनेट

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैछ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्‍ने र सुन्‍ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ। 

विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्‍न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्‍छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्‍छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्‍ने सुनाउने गरिन्‍छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्‍छ भन्‍ने धार्मिक विश्वास छ।

यसैबीच पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले बुधबार समापनअर्थात् सांगेका लागि साँखु र त्यस वरपरका मानिसलाई निम्ता गरेका छन्।

साँखु र त्यस वरपरको क्षेत्रमा बुधबार बेलुकी व्रत समापनका लागि शङ्ख बजाएर निमन्त्रणा गरिएको हो। व्रत समापनको निमन्त्रणा बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने प्राचीनकालदेखिको विधि छ। व्रत समापनलाई स्थानीयवासीले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् । 

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालीनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिहरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए।

यसअघि पशुपतिबाट शेषनारायणसम्म, पनौती र चाँगुनारायणमा गरी तीन स्थानमा तीर्थयात्रा सम्पन्न भइसकेको छ।

सन्दर्भ सामाग्री
Thomas Kelly

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर