‘उहिले चोर पत्ता लगाउन जुन देवीको कसम खुवाउँथ्यौं, अहिले चोरी भयो उनैको मूर्ति’

पढ्न लाग्ने समय : 9 मिनेट

प्राणनाथ महर्जन ललितपुर महानगरपालिका-२७ सुनाकोठीका स्थानीय बासिन्दा हुन्।

सुनाकोठीको बालकुमारी मन्दिर नजिकै प्राणनाथको घर छ। सो मन्दिरको व्यवस्थापन बालकुमारी गुठीले गर्छ। गुठीमा ६०० बढी गुठीयार छन्। प्राणनाथ पनि एक गुठियार हुन्। 

गुठीले मन्दिरको हेरचाह र पूजाआजा गर्ने जिम्मा आफ्ना सदस्यमध्ये सबैभन्दा जेष्ठ नागरिकलाई दिन्छ। जेष्ठ नागरिक जिवित रहुञ्जेल यो जिम्मा अरूलाई दिइँदैन।

‘यहाँ पूजारी भनेर छैन। मन्दिरको पूजा गर्ने जिम्मा सबै गुठियारमध्ये सबैभन्दा जेष्ठ नागरिकलाई दिइन्छ,’ वडाध्यक्ष बाबुराज महर्जनले भने।

प्राणनाथका ९१ वर्षीय बुवा जगतबहादुर गुठीकै सबैभन्दा जेष्ठ सदस्य हुन्।

त्यसैले बालकुमारी मन्दिरको हेरचाह गर्ने जिम्मा उनको परिवारको हो। यसअघिका जेष्ठ सदस्य बितेपछि १४ महिनायता मन्दिरमा पूजाआजा गर्नेदेखि सरसफाइको काम सबै प्राणनाथको परिवारले गर्दै आएका छन्। त्यसैअनुसार उनीहरूले बिहान नित्य पूजा र बेलुकी आरती गर्छन्।

शनिबार साँझ अन्दाजी पौने ६ बजे पनि प्राणनाथले आरती गरेका थिए। 

उनैले आरती सकेर मन्दिरमा ताला लगाई घर गएका थिए। शनिबार त झन् मन्दिरसँगै जोडिएको सतलमा भोज पनि भइरहेको थियो। 

जसकारण मन्दिर परिसरमा राति ११ बजेसम्मै चहलपहल थियो। 

‘ठ्याक्कै समय त याद छैन तर घाम अस्ताएपछि नै आरती गरेको हो,’ प्राणनाथले सेतोपाटीसँग भने, ‘आरती सकेर ताला लगाएर म निस्किएको थिएँ। चाबी अझै मसँग छ।’

बिहान पनि घाम नउदाउँदै मन्दिर जाने व्यक्ति प्राणनाथ नै हुन्। उनी दिनहुँजसो बिहान ४ बजे नै मन्दिरको गेट खोल्न पुग्छन्, सरसफाइ गर्छन्। 

‘बिहान ४ बजे उठेर सफा गर्नुपर्छ। सधैँजसो मै आउँछु,’ उनले भने। 

आइतबार बिहान मन्दिर पुग्दा अरू दिनजस्तो थिएन। बालकुमारी मन्दिरको मूर्ति एक तलामाथि छ। त्यहाँसम्म पुग्न चार वटा ढोका छन्। 

प्राणनाथले गएराति लगाएर गएका ताला त्यहाँ थिएनन्। चार वटै ढोका खुला थिए।  ढोका खुला भएपछि उनी सरासर माथिल्लो तलामा गए। त्यहाँ बालकुमारीको मूर्ति थिएन। 

‘पानी लिएर आएको थिएँ। सबै खुला थियो। माथि पुगेर भित्र हेरेको त बालकुमारी माँ हुनुहुन्न,’ उनले भने। त्यहाँ कपडाहरू पनि यत्रतत्र छरिएका थिए। 

बालकुमारीको मूर्ति त्यहाँ नदेखेपछि उनी दौडिएर तल आए। मन्दिर परिसरमै बसेर उनले चिच्याएर गुहार माग्न थाले।

‘तल आएर मैले गुहार मागेँ। म त बहुला जसरी नै कराएँ। कसरी कराएको पनि थाहा छैन। कराएपछि सबै जना उठेर आए। मेरै घर छेउमै वडाध्यक्षको घर पनि छ। उहाँ पनि तत्कालै आउनुभयो,’ उनले भने, ‘वडाध्यक्षलाई भनेपछि प्रहरीलाई खबर गरेका हुन्। अनि बिहानै अरू सबै गाउँले भेला भएका थिए।’

वडाध्यक्ष बाबुराज पनि घटनाबारे थाहा पाएपछि तत्कालै मन्दिरमा पसेनन्। बरू प्रहरीलाई खबर गरेका थिए। 

नजिकैको चौकीबाट प्रहरी घटनास्थलमा आइपुगेपछि प्रहरी, प्राणनाथ र वडाध्यक्ष बाबुराजसँगै भित्र पसे।

बाबुराजका अनुसार मन्दिरबाट बालकुमारीको पित्तलको मूर्तिबाहेक अरू केही सामान चोरिएको छैन। वरिपरि भएका स-साना मूर्तिहरू तथा अरू गरगहना त्यहीँ छन्। 

बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो। हरेक वर्ष मंसिर पूर्णिमा र चैत पूर्णिमामा यसको जात्रा गरिन्छ। 

अहिले चोरी भएको मूर्ति २५० देखि ३०० वर्ष पुरानाहुनुपर्ने वडाध्यक्ष बाबुराजले बताए। 

‘शिलालेख वा कुनै अभिलेखमा छैन। त्यही भएर बाजेहरूबाट सुनेअनुसार यो २५० देखि ३०० वर्ष पुरानाहो,’ उनले भने, ‘अरू गहनाहरू पनि चोरिएको छैन। स-साना मूर्तिहरू पनि छोएको देखिँदैन।’ 

सुनाकोठीकै एक चउरमा पनि अर्को बालकुमारीको मूर्ति छ। त्यो ढुंगाले बनेको मूर्ति हो। 

मूर्ति चोरी ११ बजेदेखि ३ बजेभित्रको समयमा चोरी भएको हुनुपर्ने वडाध्यक्ष बाबुराजको आशंका  छ। 

बिहान ३ बजे नै सोही मन्दिर परिसर अगाडिबाटै अर्को टोली चउरमा भएको मन्दिरको पूजाआजा गर्न जाने गरेको उनले बताए। सो टोलीले मन्दिर खुला रहेको र चोरी भएको थाहा पाएन। 

चोरी भएको खबर पाएपछि पुरातत्व विभागका संग्रहालय अधिकृत निरीक्षण गर्न पुगेका  छन्। अधिकृत पुरूषोत्तम आचार्य निरीक्षण गर्न त्यहाँ पुगेका हुन्। 

‘चोरी भएको भनेपछि के भएको हो भनेर हेर्न आएको हो। अब वडाले हामीलाई चिठ्ठी पठाउँछ। त्यसैको आधारमा हामीले प्रहरी र इन्टरपोललाई यस्तो खालको मूर्ति हराएको छ। खोजी गरिपाउँ भनेर पत्र लेख्छौं,’ आचार्यले भने, ‘त्यसपछि देशभरिको प्रहरीलाई पत्राचार हुन्छ। खोज्ने काम प्रहरीले गर्छ। भेटियो भने फेरि मूर्ति सुरूमा हाम्रो विभागमा आउँछ।’

त्यसपछि वडाले प्रमाण पुर्‍याएपछिमात्रै पुन: मन्दिरमै राखिने अधिकृत आचार्यले बताए। उनले पनि यो मूर्ति ठ्याक्कै कति वर्ष पुरानाहो भन्ने यकिन गर्न कठिन भएको बताए। 

‘ठ्याक्कै कति पुरानाभन्न सकिन्न। शिलालेखहरू केही भेटिएको छैन। अन्दाजी दुई-तीन सय वर्ष पुरानो हुनुपर्छ,’ उनले भने, ‘हामीले यसको पहिचान कालक्रमको आधारमा गर्छौं। जस्तै लिच्छिविकालीन समयमा एउटा खालको बन्छ, सबै समयमा एकैनासको मूर्तिहरू बन्दैन। बनोट शैली फरक-फरक हुन्छ। त्यसको आधारमा लिच्छिविकालीन, मल्लकालीन, शाहकालीन हो भन्ने छुट्याउन सकिन्छ। फोटो हेरेर थाहा हुन्न।’

सबै मूर्तिहरूको अभिलेख राख्न नसकिएको हुँदा पनि यसबारे भन्न कठिन भएको उनले बताए। यसबारे केही किताबहरू लेखिएको भए भने खोजी गरिने उनले बताए। 

आचार्यका अनुसार अहिले विभागले काठमाडौं उपत्यकामा भएका मठमन्दिरको सूचीकरण गर्ने काम सुरू गरिरहेको छ। तर बालकुमारी मन्दिरको भने गरिसकेको थिएन।  

चोरीको अनुसन्धान महानगरीय प्रहरी वृत्त चापागाउँले गर्दैछ। मन्दिर परिसरमा सिसिटिभी पनि जडान गरिएको छैन। यद्यपी नजिकैका सिसिटिभीमा हेरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। 

‘वरिपरि भएका फुटेजहरू हेर्दैछौं,’ उनले भने, ‘पत्ता लाग्छ, मूर्ति भेटिन्छ। ढिलो चाँडो पाइहाल्छ। अनुसन्धान भइरहेको छ।’

१५-२० वर्षअघिसम्म यहाँका गुठियारहरू बालकुमारी मन्दिरमै गएर पनि बस्ने गर्थे। गुठीले आठ जनाको टोली छुट्याएर पालैपालो गरी मन्दिरभित्रै कुरूवा बस्ने गरेको स्थानीयवासी बताउँछन्। पछिल्लो समय कुरूवा बसिँदैन। ताला नै लागाउन थालेपछि भने त्यहाँ कुरूवा बस्ने काम रोकिएको हो। 

सुनाकोठीका स्थानीयले बालकुमारी माई भन्दा ठूलो  केही नभएको विश्वास राख्ने गरेको वडाध्यक्ष बाबुराजले बताए।  

‘सुनाकोठीमा बालकुमारी माई भनेपछि त्योभन्दा ठूलो केही छैन। सुनाकोठीलाई जोगाउने, बचाउने नै बालकुमारी माई हो। सबै आस्थाको धरोहर नै यही हो,’ उनले भने, ‘केही भयो भने सम्झिने, पूजा गर्ने नै माईलाई हो। सानो बेलामा कतै चोरी भयो भने हामी बालकुमारी माईको कसम खाऊ त भन्थ्यौं। त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथ्यो।’

मूर्ति खोज्न आफूहरू पनि लागि परेको उनले बताए। बिहानै टोलटोलमा गएर  स्थानीयलाई जानकारी दिइएको थियो।

चोरी गरिएको आशंका भए घरमा गएर खोजी गरिने उनले बताए। 

‘हामी मूर्ति हुनसक्ने सम्भावित ठाउँमा खोजी गर्छौं। प्रहरी र हामी मिलेर खोजी गर्छौं,’ वडाध्यक्ष बाबुराजले भने, ‘तीन-चार दिनमै भेटिन्छ भन्ने आश छ।’ 

सेतोपाटीबाट । 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  4. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर