पढ्न लाग्ने समय : 3 मिनेट
हुन त पूर्णमती शब्दबाट नै पनौती भएको भनिन्छ । यो शहरको इतिहास धेरै पुरानो छ । इसा पूर्व १०८२ देखि नै पनौती गाउँको विकास भोट जाने बेला बास बस्न थालेर बनेको भनिन्छ । यो शहर तीन वटा नदी लिलावती (रोशमती), पूण्यमती र अदृश्य इन्द्रावतीको त्रिवेणीमा बनेको सानो गाउँ हो । त्यसैले यो ठाउँलाई उत्तर प्रयाग पनि भन्ने गरिन्छ । गंगा जमुना तथा अदृश्य सरस्वतीको त्रिवेणीलाई प्रयाग भनिन्छ भने यस संगमलाई उत्तर प्रयाग भन्ने गरिन्छ ।
वि.सं. ११५३ मा राजा आनन्ददेवले सातवटा शहर बसाउँदा यो शहरको पनि स्थापना गरि राज्य चलाएका थिए । यहाँ रहेको इन्द्रेश्वर महादेवको मन्दिर राजा जयादित्य मल्लको विधवा रानी भिरम्मादेवीले वि.सं. १३५१ तिर स्थापना गरेको इतिहासमा पढ्न पाइन्छ ।
किंवदन्ती अनुसार गौतम ऋषीका पत्नी अहिल्यासँग पनि यो स्थानको कथा गाँसिएको छ । इन्द्र देवता श्राप मूक्त भएको पनि यहि स्थानको कथा गाँसिएको छ । श्रापमुक्त हुन बाँसले टेक्दै हिँड्ने क्रममा यहिको ढुङ्गा टेक्दा श्रापमुक्त भएका थिए । त्यसैले पॅ ल्वहः बाट नै पनौती भएको भन्ने पनि गरिन्छ ।
भक्तपुरका राजा भुपतिन्द्र मल्लले आफ्नो छोरीलाई दाईजोको रुपमा दिईएको यो राज्य रणजित मल्लले एकिकरण गरि आसपासका सम्पूर्ण राज्यलाई भक्तपुरमा गाभ्दा पनौती पनि भक्तपुरको एक हिस्सा बनेको थियो । वि.सं. १८२० कार्तिक ११ मा पृथ्वीनारायण शाहको सेनापती दलजित शाहको नेतृत्वमा आएको सेनाले पनौतीलाई गोरखा राज्यमा गाभेका थिए ।
यहिं पनौतीको उत्तर प्रयागको संगममा हरेक बाह्र वर्षमा मकर मेला लाग्ने गर्दछ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुँदा मकर संक्रान्तीको रुपमा मनाउने गरिन्छ । नेपालका विभिन्न स्थान तथा विभिन्न जातिले विशेष रुपले मकर संक्रान्ती मनाउने गरिन्छ । तर पनौतीमा भने हरेक १२ वर्षमा मकर संक्रान्तीको दिन मकर मेला लाग्ने गर्दछ ।
भारतमा पनि कुम्भ संक्रान्तीको दिनमा कुम्भ मेला लाग्ने गर्दछ । यो कुम्भ मेला पनि हरेक १२ वर्षमा लाग्ने गर्दछ । इलाहावाद नजिकै प्रयागमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्ने गर्दछ । भारतको चार शहरमा कुम्भ मेला लाग्ने गर्दछ । प्रयाग, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ मेला लाग्दछ । पौराणिक किम्वदन्ती अनुसार देवता र राक्षस बिच समुन्द्र मन्थनपछि प्राप्त भएको अमृतको कुम्भ (घडा) बोकेर भगवान विष्णु जाँदै थिए । यसरी जाने क्रममा कुम्भबाट चार थोपा अमृत पोखियो । यसरी अमृत पोखिएको चार ठाउँ प्रयाग, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ मेला लाग्ने गरेको हो । यहाँ कुम्भ मेलाको समयमा डुबुल्की मारेमा अमृतपान हुने तथा रोगव्याधीबाट मुक्त हुने तथा पूण्य मिल्ने विश्वास गरिन्छ ।
वि.संं १९९४ सालमा पनाैतीस्थित त्रिवेणीमा मकर स्नान गर्दै श्रद्धालुहरू ।
- सुनिल उलक
सन्दर्भ सामाग्री
दीर्घमान चित्रकार
माइक स्कोले