पढ्न लाग्ने समय : 11 मिनेट
विकास सबैको प्रिय शब्द हो । गोरेटो बाटो जति सबै मोटरबाटो बने हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । तर, त्यही विकासले कतिपयको पुर्ख्यौली र जातीय पहिचानसँग जोडिएका कामहरु चौपट बनाइरहेको हुन्छ ।
यस्तै भइरहेको छ- भेँडाको उनबाट बनेको राडीपाखी बोक्ने गुरुङहरुलाई । लेकको जडीबुटी बोकेर पहाड र्झने शेर्पाहरुलाई । तराईबाट सिरकको खोल बनाउन उकालो लाग्ने धुनियाँहरुलाई । भाँडा बनाउने कुमाले हुँदै तामाको भाँडा बेच्ने बाँडाहरुलाई । उनीहरुको पुर्ख्यौली र जातीय पेसा यतिबेला संकटमा छ ।
वस्तु विनिमयका लागि कोसौंको यात्रा तय गरेर आउने यी परम्परागत व्यापारीहरु अबका पुस्ताले देख्न पाउँदैनन्, यी इतिहास बनिसकेका छन् । यस्तै, इतिहासमा सीमित भएको एउटा व्यावसायिक समूह हो ‘चुरौटे’, जो केही दशक अघिसम्म पूर्वी एवं मध्ये नेपालमा सौन्दर्य प्रशाधनका ‘दूत’ थिए ।
जतिबेला पाइला पाइलामा सौन्दर्य सामग्रीको बिक्री हुँदैनथ्यो । त्यतिबेला घरघरमा सुन्दरताको सामान पुर्याउने यी चुरौटेको परम्परागत पेसालाई पछिल्लो पुस्ताले आत्मसाथ गर्न सकेन । गाउँगाउँमा सौन्दर्य सामग्री पुर्याउँदै हिँड्ने चुरौटेको कथा यतिबेला सुन्दा अनौंठो र रोचक लाग्छ । जतिबेलाको समाजमा महिलाहरुले खुलेर सौन्दर्य प्रशाधनको प्रयोग गर्न पाउँदैन’थे, त्यतिबेला गाउँमा सौन्दर्य चेत जगाउने यो समुदाय कहिले र कसरी हराए होलान् ?
सजिलो थिएन श्रृंगार
कुरा २०४६ सालभन्दा अगाडिको हो । पूर्वी नेपालमा महिलाहरुलाई श्रृंगारका सामग्रीहरु लगाउनको लागि सामाजिक बन्देजहरु थिए । विशेष समारोह बाहेक अरु बेलामा त्यस्ता श्रृंगारका सामग्री लगाएर हिँड्यो भने समाजले ‘गुण्डी भएर हिँडी’ भनेर हेयभावले हेर्ने गरेको पाँचथरका पत्रकार देवेन्द्र साम्बाहाम्फे बताउँछन् । त्यो पुरातन समाजमा गाउँगाउँमा सौन्दर्य चेत जगाउँदै हिँड्ने चुरौटेहरु कसरी यो व्यवसायमा जोडिए होलान् ?
हिउँदमा धानबाली भित्र्याएपछि ठाउँठाउँमा लाग्ने हाट बजारहरुमा सामान किन्न स्थानीयको भिड लाग्थ्यो । त्यस्ता बजारहरु सामान्यतः १५ दिनमा एकपटक बस्ने गर्थ्यो । कुन तिथिमा बजार बस्ने भन्ने आधारमा बजारको नाम नै राखिन्थ्यो । हाटबजारमा किन्ने बेच्ने भन्दापनि सामान साटफेरको चलन बढी थियो ।
हाट लाग्नुभन्दा केही दिन अघिदेखि गाउँघरमा चुरौटेहरु देखिन्थे । उनीहरु घरघरमा सौन्दर्य सामग्रीहरु बेच्दै हिँड्थे । अन्तिममा बजार लाग्ने दिन बजारमा सामान बेचेपछि उनीहरु फर्किन्थे । सामान्यतयाः चुरौटेहरु ३/४ जनाको समूह हिँड्थे । दिनभरि फरक ठाउँमा वीकेन्द्रिकृत भएर गाउँभरी डुल्नु र साँझ परेपछि सबै एकै ठाउँमा भेला भएर बस्नु उनीहरुको विशेषता थियो । यो सुरक्षाको लागि पनि थियो । उनीहरु सामान बिक्री भएपछि रुमालमा पोको पारेर पैसा राख्ने गर्थे । रुमालमा पैसा राखेर धेरै पटक पट्याएर यसको सुरक्षा गर्नु उनीहरुको विशेषता थियो ।
चुरौटेको लागि बास दिने ठाउँ निश्चित थियो, या त पालीमा होइन भने ग्वालीमा । खाना आफैंले पकाउनुपर्नेे तर पकाउन चाहिने खाद्यान्न र भाँडाकुँडा घरबेटीले दिन्थे । चुरौटेहरु पाहुना हुन् तर निःशुल्क बास माग्दैनथे । भोलिपल्ट फर्किने बेलामा आवश्यक शुल्क वा सोही बराबरको सौन्दर्य सामग्री दिएर नयाँ दिनको यात्रा सुरु गर्थे ।
चुरौटेहरुले कति मुनाफा कमाउँ’थे होला ? यो भन्न मुस्किल छ । वर्षको एकपटक हिउँदमा पहाड उक्लिन्थे । बाँकी समय कहाँ हराउँथे पत्तो हुँदैन । पत्रकार साम्बाहाम्फे बाँकी समय उनीहरु आफ्नै घरमा खेती किसानी गर्ने गरेको बताउँछन् ।
माओवादी युद्धअघि पहाडी भेगमा हाट बजारको चलन प्रशस्तै हुन्थ्यो । सबै सामानसँगै सौन्दर्य प्रशाधनका लागि छुट्टै क्षेत्र तोकेर बेच्नदिइन्थ्यो । ती क्षेत्रहरुमा यिनै चुरौटेहरुको उपस्थिति हुन्थ्यो ।
दुई भेगका फरक चुरौटेहरु
मध्य पहाडी भेगमा चुरौटे भन्नेबित्तिकै लामो दारी पालेका, जुँगा छोटा मुसलमान समुदायका मान्छेलाई चिनिन्थ्यो/चिनिन्छ । चुरौटे भन्नेबित्तिकै गाउँगाउँमा हिँड्ने मुसलमान व्यवसायीहरु नजरमा आउँछन् । तर पूर्वी पहाडमा भने कोशीपारिका लिम्बुहरू बढीजसो यो व्यवसायमा थिए । साहित्यकार श्रवण मुकारुङ यी दुई भेगका घुमन्तेहरु बीच व्यावसायिक रुपमा समानता रहेको बताउँछन् । घरघरमा पुगेर सौन्दर्य सामग्री बेच्नु दुवै तर्फका चुरौटेहरुको साझा विशेषताहो । तर, पूर्वी पहाडमा बिक्री हुने सौन्दर्य सामग्रीको सीधा सम्पर्क भारतसँग थियो । जुन अन्तको भन्दा विशेष छ ।
त्यतिबेला भारतको कोलकत्ता सौन्दर्य सामग्रीको केन्द्र थियो । कोलकत्ताबाट सिलिगुढी हुँदै नेपाली सीमामा प्रवेश गर्ने यी साधनहरुमा बढीजसो झापा, पाँचथर, ताप्लेजुङबासीहरुको पनि संलग्नता रहेको मुकारुङ सुनाउँछन् । बढीजसो कोशीपारिका लिम्बुहरुको संलग्नता थियो ।
चुरौटेको आगमन समय
चुरौटेहरु सदाबहार घुमन्ते व्यापारी होइनन् । वर्षको एक पटक, त्यो पनि हिउँद उनीहरुको व्यापारको सिजन हो । साम्बाहाम्फे आफूले देखेका चुरौटेको वर्णन गर्दै भन्छन्- ‘चुरौटेहरु हरेक वर्ष एक सिजनमा मात्रै आउने गर्थे । बर्खामा काम सकेर हिउँदमा फुर्सद हुने भएकोले त्यही बेलामा हाट बजारमा पनि चुरौटेहरुले सामान बेच्थे ।’
पूर्वी पहाडी भेगमा पहिलेपहिले दि्वतीया, दशमी, चौथी तिथिमा ठाउँठाउँमा बजार बस्ने गथ्र्याे । कम्तीमा १५ दिनमा एकदिन यस्तो बजार बसेकै हुन्थ्यो । ती हाट बजारहरुमा चुरौटेहरुको लागि छुट्टै ठाउँ तोकिन्थ्यो ।
चुरौटेले बोक्ने सौन्दर्य प्रसाधनहरू
बाँसले बुनेको खांंग्रे डोको । नाम्लोले टाउको र काँधमा फिता अड्काएर झोलाजस्तै गरी बोक्न मिल्ने बनाइन्थ्यो । पछिपछि लाहुरेले बोक्ने झोलामा पनि यस्तो सामान बोकेर आउन थालेको बताउँछन् मुकारुङ । डोकोलाई काँधमा र टाउकोमा बोक्दा टाउकोलाई मात्रै भार पर्दैन भन्ने उनीहरुको बुझाइथियो । यही नै चुरौटेको पहिचान हो । डोकोमा माथि बाँसबाट बनाएको ढकनीले यसलाई पूरा डोकोमात्रै नभएर ‘धोक्रो’को आकार दिएको हुन्छ । यहीभित्र भेटिन्थ्यो चुरा, पोते टीका, सिन्दुर, ऐना, लाछा, बाहिँ चुरा, फुर्का, खिन, पट्टे ऐना, सिन्दुर, नङ पालिस आदिको थुप्रो ।
उतिबेलाको पूर्वको अर्काे रोचक चलनपनि थियो । त्यतिबेला अहिलेको जस्तो प्रेमीप्रेमिकाबीच माया साट्ने विद्युतीय साधन थिएनन् । या त प्रेमपत्र पठाउनु पर्थ्यो, या त सिधै भेटेर प्रस्ताव राख्नुपर्थ्यो। यसको तेस्रो विकल्प थियो चुरौटेसँग सौन्दर्य सामग्री किनेर उपहार दिनु । साम्बाहाम्फे सम्झन्छन् ‘कति प्रेमहरु यही चुरौटेको माध्यमबाट जोडिन्थ्यो । प्रेमीले प्रेमिकालाई चुरा र टीका किनेर दिन्थे । त्यो प्रेमिकाले स्वीकारिन् भने प्रेम प्रस्ताव स्वीकारेको ठहर हुन्थ्यो । त्यसैले चुरौटे प्रेमको सन्देश दिन एउटा माध्यम पनि थिए ।
सौन्दर्यसँग जोडिएको चुरौटेको इतिहास
मुकारुङ चुरौटेको इतिहास खोज्दै जाँदा मल्लकालसम्म पुग्न सकिने बताउँछन् । अर्काे मध्य नेपालको पहाडी भेगमा पाइने चुरौटेहरुको विगत खोतल्दा पृथ्वीनारायण शाहको पालासम्म पुग्न सकिन्छ । गोरखाको गोरखकाली मन्दिरमा मुस्लिमहरुले शृंगारका सामग्रीहरु चढाउने संस्कारले यसको विगतलाई बुझाउँछ ।
चुरौटेको इतिहास कतै लेखेको पाइँदैन । लिपिबद्ध नहुँदाअहिलेका पुस्ताहरु समेत यो पेसाबारे बेखबर छन् । साहित्यकार श्रवण मुकारूङ विभिन्न साहित्यिक स्रोतलाई आधार मान्दायस्तो सौन्दर्य प्रसाधनलाई घरघरमा लगेर बेच्ने चलन मल्लकालमा पनि रहेको विभिन्न साहित्यिक स्रोतमा भेटिने बताउँछन् ।
त्यसो त कल्ली, बाजु, पाउजु जस्ता गहना एवं अन्य सौन्दर्य सामग्रीको कुरा लिच्छविकालीन अभिलेखमा समेत उल्लेख भएको पाइन्छ । त्यो यसरी नै घरघर पुगेर सौन्दर्य प्रसाधन बेच्ने बिक्रेताहरु थिए/थिएनन् भन्न सकिन्न ।
शाहकाल आइसकेपछि मध्य नेपालमापनि चुरौटेहरुको प्रथाविकास भयो । मुकारुङ भन्छ ‘नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाह एकीकरणको लागि बनारस गएका थिए । उनले हतियारसँगै हतियार मर्मत गर्ने मुस्लिम कालीगढ पनिल्याएका थिए । उनीहरुकै कुनै पुस्ता यो पेशामा लागेको हुन सक्ने इतिहासकारहरु बताउँछन् ।
कहाँबाट आउँथ्यो सामान?
पूर्वी पहाडमा आउने चुरौटेहरुको सम्बन्ध सिधा भारतसँग हुन्थ्यो । भोजपुरका लिम्बुहरु,झापा, पाँचथर, ताप्लेजुङ जस्ता क्षेत्रका मान्छेहरु बढी यसमा संलग्न थिए । यसले पनि उनीहरुले सामान भारतबाट नै ल्याउँथे भन्न सकिने आधार रहेको मुकारुङ बताउँछन् ।
चुरौटेहरु बदलामा सुँगुरको जगर लिएर जान्थे । त्यो के का लागि प्रयोग हुन्थ्यो भन्ने यकिन छैन् । सुँगुरको जगर एकदमै दह्रो खालको हुने भएकोले दाँतमाझ्ने ब्रस, जुत्ताको ब्रस आदि बनाइन्थ्यो कि भन्ने अनुमान गर्छन् मुकारुङ । यसबाहेक पनि विभिन्न जडिबुटी एवं स्थानीय सामग्रीहरु लिएर फर्किन्थे ।
कसरी भयो चुरौटेको विलय ?
वि.सं. २०४६ सालपछि बिस्तारै चुरौटेहरुको विलय सुरु भयो । यसको पछि विभिन्न कारणहरु छन् । पहिलो त जुन पुस्ताले चुरा बोकेर हिँड्थे त्यो पुस्ता असक्त भएपछि अर्काे पुस्ताले त्यसलाई आत्मसाथ गरेन् । कम मुनाफा र धेरै संघर्ष झेल्नु पर्ने भएकोले दोस्रो पुस्ता यसमा आकर्षित हुन नसकेको बताउँछिन्, गायिका झुमा लिम्बु ।
रैथाने संगीतकी अभियान्ता समेत रहेकी लिम्बु बजारीकरणको सुरुवातसँगै गाउँगाउँमा सौन्दर्य सामग्रीको पसलहरु खुल्न थालेपछि बिस्तारै चुरौटेहरुको विलय सुरु भएको बताउँछिन् । यातायात र सञ्चारको साधन विकाससँगै मान्छेमा नयाँनयाँ फेसनको चेतना विकास हुन थाल्यो । जसले गर्दा चुरौटे कुरेर बस्नुपर्ने आवश्यकता रहेन, यो सँगै बिस्तारै चुरौटे युग हराउँदै गयो ।
सन्दर्भ सामाग्री
सुदर्शन अर्याल
अनलाइनखबर, २०७८ असोज १८
Leo Goulet