ठूली एकादशी अर्थात हरिबोधनी एकादशी

पढ्न लाग्ने समय : 4 मिनेट

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो, ठुली एकादशी पनि भनिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरिन्छ ।



आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने कुरा उल्लेख गरिएको छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरुले बिहानै नुवाईधुवाई गरि व्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्ने गरिन्छ ।


हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेषनारायणमा विशेष मेला लाग्छन् ।

महाभारत ग्रन्थका अनुसार कहिल्यै भोको नबस्ने भीमसेनले पनि निर्जला एकादशीका दिन व्रत बसेका थिए । त्यसैलै अरु दिनमा व्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरुले समेत हरिबोधनी वा ठूली एकादशीको दिनमा भने व्रत बस्नैपर्ने मान्यता रहेको छ ।

चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरि विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ ।


भोलीपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतिकको रुपमा पूजा गरिएको तुलसीको बिसर्जन पनि गरिन्छ ।

हरिबोधनी एकादशीको दिनमा प्रसादको रुपमा विशेष गरि सख्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर  व्रतालुहरुले प्रसादको रुपमा खाने गर्छन् ।



हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, कुश र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।

हरिबोधनी एकादशीका दिन तोरण टाँगी नदि वारपार गर्ने गरिन्छ । बाबीयोको डाेरीको तोरण बनाएर एकादशीको दिनमा नदी वारपार हुनेगरी तारेमा परिवारमा सुख शान्ति हुने र पित्रृहरुको बैकुण्ठमा बास हुने धार्मीक विश्वास रहेको छ ।

तुलसी र यसको महत्व



तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्ट स्थान ओगटेको छ। चिकित्सकहरूका अनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भोक जगाउने, रूचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा-वान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।