पढ्न लाग्ने समय : 3 मिनेट
इन्टरनेटको इतिहास सन् १९५० को दशकतिर सुरु भयो । जब कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको हो ।
संसारभरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा विभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारविहिन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न विभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । प्रोटोक त्यो नियम हो जसले भिन्न प्रकारका हार्डवेयरलाई एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देश गर्छ । नेटवर्क सञ्जालहरू विभिन्न प्रकारका हुन्छन् । जस्तै लोकल एरिया नेटवर्क (LAN), वाइड एरिया नेटवर्क (WAN), मेट्रोपोलिटन एरिया नेटवर्क (MAN), स्टोरेज एरिया नेटवर्क (SAN) इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल इन्टरनेट नै संसारकै सबै भन्दा ठुलो सञ्जाल हो ।
नेपालमा इन्टरनेट भित्र्याउने श्रेय मर्कन्टायल अफिस सिस्टमसलाई जान्छ । जसले मर्कन्टायल कम्यूनिकेसन प्रालि को नामबाट शुरु गरयो । १९९३ मा पहिलो पटक निःशूल्क सेवा दिएर यसको प्रयोग गरिएको थियो । सर्वसाधारणलाई इन्टरनेटको महत्वबोध गराउनु त्यसको उद्देश्य थियो । त्यतिबेला घरमा इन्टरनेट चलाउनु ठूलै प्रतिष्ठाको विषय हुन्थ्यो । किनभने यसमा सबैको पहुंच थिएन । शुरुवाती चरणमा अहिलेको जस्तो डीएसएल, एडीएसएल, एफटीटीएच र मोबाइल इन्टरनेट भन्ने नै थिएन । मात्र डायलअप सेवा थियो । जुन एकदमै सुस्त गतिको थियो ।
नेपालमा डायलअप सेवामार्फत ९.६ केबीपीएस गतिको इन्टरनेटको सेवा शुरु भएको हो । जुन ई–मेल आदान प्रदानको लागि मात्र हुन्थ्यो । शुरुमा एमओएसले नयां दिल्लीमा एउटा ई–मेल सर्भर होस्ट गरेको थियो । जहां सबै इमेलहरु जम्मा हुने गर्दथे र दिनमा दुई पटक आईएसडी कलको माध्यमबाट डायलअपको प्रयोग गरेर डाउनलोड गरी नेपाल भित्र्याउंथ्यो ।
पछि सिंगापुरको सिंगटेलबाट ४.८ केबीपीएसको लिज लाइन लिएपछि इन्टरनेटकोे सञ्जालससंग हामीहरु परिचित हुन पुग्यौं । लगत्तै अर्को भएसएनएलको लाईन मुम्बईबाट प्राप्त भयो । जुन ६४ केबीपीएसमा विस्तार भयो । त्यसपश्चात इन्टरनेटको विकासक्रमले नेपालमा तीव्र गति लिन शुरु गर्यो ।
हाल नेपाल दूरसञ्चार प्राधिकरणमा कम्तीमा ११७ ओटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु दर्ता भएका छन् । जसमा दुई ओटा जीएसएम सेलुलर, दुई ओटा आधारभूत दूरसञ्चार सेवाको नाममा छन् भने एउटा ग्रामीण दुरसञ्चार सेवाको नाममा दर्ता भएको छ ।
सन्दर्भ सामाग्री
टेकपाना
Mercantile