सरस्वती पूजा; विद्या र सिर्जनाकी देवीको आराधना गर्ने दिन

पढ्न लाग्ने समय : 4 मिनेट

माघ शुक्ल पञ्चमीका दिन ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइन्छ । 

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।


ललितपुरको लेलेस्थित सरस्वतीको मुर्ति । 

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ/ अक्षरारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।


वि.सं. २०२६, सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चाैतारा हाइस्कुलका विद्यार्थीहरू सरस्वती पूजाको खट नगरपरिक्रमा  गराउँदै। 

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।


वि.सं. २०२५, वीरगञ्जस्थित श्रीजुद्ध हाइस्कुलका विद्यार्थीहरू सरस्वतीको रथ विसर्जनका लागि नदीमा तर्फ लग्दै । 

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा माघ शुक्ल पञ्चमीको बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

वि.सं. २०२४, म्याग्दीको बेनीस्थित एक विद्यालयका विद्यार्थीहरू सरस्वती पूजाका लागि प्रसाद तयार गर्दै । 

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्दछ । 

वसन्त ऋतु

वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले वसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन् । वसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ ।

हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना वसन्त ऋतु भित्र पर्दछन । वसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। वसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्‍छ र नयाँ पात पलाउँछ। वसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।

सन्दर्भ सामाग्री

रासस
प्रताप बानियाँ
विकिपिडिया
डउग हल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।