पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
सिंहशमशेरले 'कस्तो कोइलीको जस्तो मीठो स्वर' भनेपछि राधा बस्नेतको नाम कोइलीदेवी रह्यो

पढ्न लाग्ने समय : 4 मिनेट

राधा बस्नेत अर्थात कोइलीदेवीको जन्म वि. सं. १९८७ भदौ १२ ऋषिपञ्चमीका दिन पिता रामबहादुर बस्नेत र माता नीलम बस्नेतको सन्तानका रूपमा मकवानपुर, चिसापानी गढीमा भएको थियो । उनी जन्मिएको एक वर्षमा आमाको निधन भयो भने पाँच वर्षको उमेरमा आफ्नी फुपू मानप्रिया भट्टसँग काठमाडौँ आएकी थिइन ।परिवारको माया ममताबाट बञ्चित कोइलीदेवीकी फुपू मानप्रिया निःसन्तान थिइन। मानप्रियाले छोरीझैं उनलाई हुर्काइन् बढाइन।

सानामा उनलाई राधाभन्दा पनि पान्तरी भनेर बोलाइन्थ्यो। त्यही नाम लिएर मखनटोलको स्कुलमा पढ्न थालिन्। फुपू सङ्गीतकी अनुरागी भएकाले उनलाई सङ्गीत पनि सिकाउन थालिन। फुपूको प्रयासमा उनी ११ वर्षको उमेरमा सिंहशमशेर जबराको दरबारमा सेविकाका रूपमा काम गर्न थालिन। आफन्तले माया गरेर राखिदिएको नाम सिंहशमशेरले परिवर्तन गरिदिए। खासमा पान्तरीको स्वरबाट मुग्ध भएर सिंहशमशेरले 'कस्तो कोइलीको जस्तो मीठो स्वर' भनेपछि उनको नाम कोइलीदेवी रहन गयो । 
वि. सं. २००७ सालमा प्रजातन्त्र आएपछि देशमा धेरै परिवर्तनहरू आएसँगै उनी सिंहदरबारबाट निस्केर एउटी स्वतन्त्र गायिकाका रूपमा रेडियो नेपालमा गाउन थालिन्। 

फुपूको मृत्युपछि कोइलीदेवी एक्ली भइन्। यही बेला उनको भेट साकारभक्त माथेमासँग भयो। १० वर्ष लामो प्रेमपछि ३५ वर्षको उमेरमा वि. सं. २०२१ साल वैशाख शुक्ल पक्ष अक्षय तृतीयाको दिन पवित्र लगनगाँठोमा बाँधिए। साकारभक्त त्यसबेला ५१ वर्षका थिए अनि उनी ३५ वर्षकी थिइन्। शायद दुवैको विवाह ढिला र अनमेल भएका कारण पनि सन्तान भएनन्। यता साकारभक्तका परिवारले पनि कोइलीदेवीलाई बुहारी मान्न अस्वीकार गरे। वि. सं. २०५६ साल जेठ ८ गते साकारभक्तको देहावसानपछि उनी फेरि एक्लो भइन्।

वि. सं. २०६४ पुस ६ गते काठमाडौँमा कोइलीदेवीको निधन भयो। निधनअघि छ वर्षदेखि मुटुरोगले सताएको थियो। उनी काठमाडौँ, घट्टेकुलोस्थित निवासमा भान्जीसँग बस्दै आएकी थिइन्। 


बायाँ तस्वीरमा सेतो सारीमा कोइलीदेवी । 

बाल्यकालदेखि नै साङ्गीतिक वातावरण पाएकी कोइलीदेवीले राणा दरबारमा एक दशक लामो समय गायिका तथा नायिका भएर नृत्य तथा नाटकमा भाग लिइन्। त्यसपछि वि. सं. २००७ सालमा रेडियो नेपालको स्थापनापछि पहिलो पटक चैत २६ गते आफ्नै रचना र सङ्गीतमा उनले गीत गाएकी थिइन्। कोइलीदेवीले रेडियो नेपालमा 'संसारको झमेला लाग्दछ क्या यो मेला, यो दुनिया सदा रसिलो' रेकर्ड गरी गायनयात्रा थालेकी थिइन्। यो स्वर नै रेडियो नेपालको प्रथम गायिकाका रूपमा परिचित छ। त्यसपछि रेडियो नेपाल उनको नियमित गाउने थलो बन्यो। रेडियो नेपालसँग उनी ४४ वर्ष गाँसिइन्। खरदार पदबाट उनको बढुवा हुँदै वि. सं. २०४४ साल चैत १५ गते शाखा अधिकृतसरहको पदमा पुगी शास्त्रीय सङ्गीत प्रबन्धकसम्म भइन्। उनले आधुनिक, लोक र राष्ट्रिय तथा भजन गरी चार हजारभन्दा बढी गीत दिएकी थिइन्।

वि. सं. २०५९ साल असार ८ गतेदेखि कोइलीदेवीले औपचारिक रूपमा गायन, सङ्गीत र वाद्यवादनलाई तिलाञ्जली दिएको घोषणा गरिन्। आफूसँग भएका हार्मोनियम, तबला, तानपुरा आदि सम्पूर्ण वाद्ययन्त्र ललितपुरस्थित इन्दिरा सङ्गीत महाविद्यालयलाई दान दिइन्। उनका 'सेवा' र 'समर्पण' दुई एल्बमसमेत छन्। उनी गायनबाहेक गीतलेखन र संगीत संयोजनमा समेत संलग्न थिइन्।

उनले पाएका पुरस्कार एवम् सम्मानको सूची लामो छ। खासगरी गोरखा दक्षिण बाहु पाँचौँ, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता गीत पुरस्कार, वीरेन्द्र-ऐश्वर्य सेवा पदक, दर्जनौं सङ्घ-संस्थाबाट सम्मान तथा रेडियो नेपाल तथा टेलिभिजनबाट समेत पुरस्कार प्राप्त गरिन्। कोइलीदेवीका नाममा नइ प्रकाशनले कोइलीदेवी सङ्गीत कोषको प्रबन्धक समिति २०५६ समेत स्थापना गरेको छ।

सन्दर्भ सामाग्री
रमण घिमिरे
इकान्तिपुर
नइ प्रकाशन
सामाजीक सञ्जाल

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर