पढ्न लाग्ने समय : 3 मिनेट
दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टीका लगाइन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफुभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने हो । दशैंको आशिष यसमै आधारित छ ।
दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध तुल्याउँछ ।
दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ ।
अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वस्थवर्द्धक मानिन्छ ।
छोरा वा पुरूषका लागि दिइने आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
अर्थात,
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् ।।
छोरी वा स्त्री जातिका लागि दिइने आशिष:
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
अर्थात,
जयन्ती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र, मुक्तिदेवीको रूपमा प्रसिद्दि होस्। कालीदेवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु। भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु। कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु। दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु।क्षमाकी देवीले जस्तै क्षमा दिनु। शिवदेवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु। धातृदेवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु । स्वाहादेवीले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधादेवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु।