पढ्न लाग्ने समय : 1 मिनेट
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ ।
आजको दिन शास्त्र सम्मत रुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबली दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । पशुबली नचढाउनेहरुले भने काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजाआजा गर्ने गर्दछन् ।
आजैका दिन राति कालरात्रि पशुबलीको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गर्ने परम्परा छ ।
२०२३ सालको #तस्वीर, गुल्मी जिल्लाको जोहाङ गाविसमा रहेको जुनीँया कोतको दुर्गा मन्दिर अघिल्तिर राँगाको बली दिनुअघि तरबार/खुँडा ढोग्दै गरेका व्यक्ति र मन्दिरमा भेला भएका अन्य स्थानीय बासिन्दाहरू ।