पढ्न लाग्ने समय : 9 मिनेट
हिउँ पग्लिएर अर्थात पानीको प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिँदै समुन्द्रसम्म हुन्छ।
प्राचीनकालमा मानव सभ्यताको विकास नदी आसपास हुनुले मानव जीवनमा नदीको भूमिका दर्शाउँछ। धेरै देशका राजधानी तथा व्यापारिक केन्द्र नदी किनारमै अवस्थित छन्। नदी तथा तिनका जलाधार क्षेत्र ऐतिहासिक हिसाबले देशका आन्तरिक तथा अन्तर्राष्ट्रिय सिमानाका रूपमा स्थापित छन्। हाम्रै नेपालको पूर्वमा मेची तथा पश्चिममा महाकाली नदी सिमाना भएर बगेका छन्।
नदीले केवल जलप्रवाह मात्र गर्दैन, समग्र मानव जातिको आशा बोकेको हुन्छ। नदीबाट प्रवाहित जलस्रोतलाई समानुपातिक र व्यवस्थित उपयोगमार्फत राष्ट्रिय सम्पत्तिमा रूपान्तरित नगरेसम्म नेपाल र नेपाली आत्मनिर्भर हुन सक्दैनन्। चाहे स्रोतको रूपमा होस् वा जोखिमका रूपमा, नदीको राजनीतिक, सामाजिक तथा आर्थिक अन्तरसम्बन्ध रहेको हुन्छ।
मानव अस्तित्व र पृथ्वीको वातावरणका लागि समेत नदी एक अभिन्न पक्ष हो। अझ पूर्वीय दर्शनमा नदी र मानव जीवनबीच गहिरो आध्यात्मिक सम्बन्ध छ। भारतका गङ्गा, यमुना, नेपालको वागमती जस्ता धार्मिक महत्व बोकेका नदीहरूमा एक डुबुल्की मार्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ।
यिनै बहुपक्षीय आयामले गर्दा विश्वका केही नदीलाई जिउँदो एकाइका रूपमा कानूनी मान्यता दिइएको उदाहरणहरू समेत छन्। तर, जबदेखि मानव जाति विकासको वेगमा अघि बढ्यो, नदी र मानव समुदायबीच वर्षौंदेखिको सम्बन्ध भत्किन थाल्यो।
विकास र समृद्धिको दौडमा हामीले नदी र मानव बीचको सद्भाव भंग गरी पुर्खाले छोडेर गएको विरासत बर्बाद गरेको ज्वलन्त उदाहरण काठमाडौंको वागमती नदी नै हो। हिजो नदी आसपासमा विकसित मानव सभ्यता आज नदीदेखि तर्सिंदै टाढा भाग्नुपर्ने अवस्था छ। के यो पुस्ताले नदीलाई फेरि पुरानै विरासतमा फर्काउने साहस राख्दछ ?
नेपालका नदी कस्ता ?
प्रकृतिले नेपाललाई अनेकौं नदीनालाले सम्पन्न गरेको छ। तर, वर्षौंदेखि हामीले सुन्दै आएको ‘नेपाल जलस्रोतको दोस्रो धनी देश’ भन्ने कथन चाहिं केवल एक मिथक मात्र हो। नेपालभित्र साना–ठूला गरी लगभग ६ हजार नदीनाला छन्। तिनको लम्बाइ करीब ४० हजार किलोमिटर छ। यी नदीबाट वर्षेनि दुई अर्ब घनमिटरभन्दा बढी जलप्रवाह हुन्छ।
हाम्रो देशमा प्रत्येक एक वर्ग किलोमिटर क्षेत्रफलमा करीब ३०० मिटर नदीनाला छन्। सन् २०१४ को तथ्यांक अनुसार नेपालको वार्षिक जल उपलब्धता हाराहारी प्रति व्यक्ति ७ हजार ४०० घनमिटर छ, जुन मानव आवश्यकताका हिसाबले औसत (वार्षिक २५–३० घनमिटर, दैनिक ७०–८० लिटरको हिसाबले) भन्दा बढी हो। यो तथ्यांकका आधारमा नेपाल जलस्रोतको लगभग ७६औं धनी देशमा पर्छ।
नेपालको जलस्रोतको मुख्य समस्या असमानुपातिक जल उपलब्धता र जनसंख्याको गलत वितरण हो। जनघनत्व बढी भएको तराईमा जलस्रोतको उपलब्धता कम छ। जनघनत्व कम भएको हिमाल तथा पहाडमा तुलनात्मक रूपमा उपलब्धता बढी छ। अत्यधिक जनसंख्या र सीमित जल उपलब्धताले काठमाडौंलगायत अन्य केही स्थानलाई पिरोलेको छ नै, भविष्यमा अझै विकराल अवस्था हुनसक्ने विभिन्न अध्ययनले देखाएको छ।
नेपालको भू–बनोटले पनि जल उपयोग (सिंचाइ, खानेपानी, इत्यादि) मा चुनौती थपेको छ। नदीनालाहरू प्रायः पहाडको फेदी भएर बग्छन्। तर गाउँबस्ती भने प्रायः सिरानमा छन्।
नेपालमा हुनेमध्ये ८० प्रतिशत वर्षा जूनदेखि सेप्टेम्बरसम्मको चार महीनामा हुन्छ। नेपालमा कुनै भागमा तीन हजारभन्दा अधिक र कुनै भागमा ५०० मिलिमिटरभन्दा कम वर्षा हुन्छ। यस किसिमको अत्यधिक विभिन्नताले नदीनालाको बहावलाई प्रत्यक्ष प्रभाव पार्छ।
नेपालका नदीहरूको औसत अधिकतम र न्यूनतम मासिक बहावबीचको भिन्नता उच्च छ। उदाहरणका लागि कर्णाली नदीको औसत अधिकतम मासिक बहाव न्यूनतमभन्दा १४ गुणा बढी छ। त्यस्तै नारायणीको १७ गुणा र सप्तकोशीको १३ गुणा बढी छ।
कोशी, नारायणी, कर्णाली र महाकालीलाई चार प्रणाली मान्दा नेपालमा पाँच वर्ग किलोमिटरभन्दा बढी जलाधार क्षेत्र भएका जम्मा १८७ नदी पर्छन्।
उद्गमका हिसाबले नेपालका नदीनालालाई मोटामोटी रूपमा तीन वर्गमा विभाजित गर्ने प्रचलन छ। पहिलो वर्गमा हिमालयबाट उत्पत्ति हुने चार प्रमुख नदी प्रणालीः पूर्वमा कोशी, मध्यमा गण्डकी वा नारायणी, पश्चिममा कर्णाली र सुदूरपश्चिममा महाकाली हुन्। बाह्रैमास बहाव हुने यी नदीहरूको मुख्य स्रोत हिउँ र वर्षा हुन्। देशको कुल भूभागको दुई तिहाइ यिनै चार नदी प्रणालीका जलाधार क्षेत्रले ओगटेका छन्।
कोशीको भने कुल जलाधारको ४५ प्रतिशत मात्र नेपालमा र बाँकी ५५ प्रतिशत भूभाग चीन प्रशासित तिब्बतमा पर्छ।
सप्तकोशीको मुख्य तीन सहायक नदीमध्ये तिब्बतमा मुख्य गरी अरुण नदीको जलाधार छ। सुनकोशीको थोरै भाग उता पर्छ। तमोरको सम्पूर्ण भाग नेपालमै पर्छ। यी नदी प्रणालीको बहावमा मौसमी विभिन्नता उच्च भए पनि समग्रमा पानीको उपलब्धता पर्याप्त छ। किनभने धेरै जसो जलाधार क्षेत्र हिमाल तथा पहाडी भागमा पर्नाले पानीको माग तुलनात्मक हिसाबले कम छ।
नारायणी र कर्णालीको पनि थोरै जलाधार क्षेत्र चीनतर्फ पर्छ। महाकाली नदीको दुईतिहाइ भाग भारतमा पर्छ। नेपालको समग्र जलस्रोत उपलब्धताको मुख्य आधार नै यी नदी प्रणाली हुन्।
दोस्रो वर्गमा महाभारत शृंखलाबाट उद्गम हुने मेची, कन्काई, कमला, वागमती, पश्चिम राप्ती, बबईलगायत नदी पर्छन्। यो वर्गका नदीहरूको उच्च बहाव वर्षाको पानीमा भर पर्छ। सुक्खायामको न्यूनतम बहाव भूमिगत जलसतहका आधारमा घट्ने बढ्ने गर्छ। जहाँ भूमिगत जलसतह नदीको सतहभन्दा धेरै तल हुन्छ, त्यहाँ सुक्खायाममा पानी नै हुँदैन। तराई तथा मध्यपहाडी क्षेत्रमा सिंचाइका हिसाबले यी नदीहरू अत्यावश्यक मानिन्छन्। वर्षा र सुक्खायामबीचको भिन्नता यस किसिमका नदीमा पनि उच्च हुन्छ।
तेस्रो वर्गले चुरे शृंखला भई उत्पत्ति भएका खोलानालालाई समेट्छन्। जसमध्ये धेरै जसो नदीहरू खहरे (अस्थायी बहाव) प्रकृतिका छन्। ती नदी वर्षा भए बहाव हुने र अरू वेला पूर्णदेखि आंशिक रूपमा सुक्खा हुन्छन्। विरिङ्ग, बक्राहा, खाँडो, लोथर, तिनाउ, मनुस्मारा, हर्दिनाथ आदि नदी यो वर्गमा पर्छन्।
जलाधार क्षेत्र साना भए पनि यिनको संख्या धेरै भएकाले प्रमुख नदीका तुलनामा तराईका उर्वर फाँट छुँदै बग्ने चुरेका खोलाहरूको कुल लम्बाइ बढी छ।
भूमिगत जल पुनर्भरण र भण्डारणका हिसाबले चुरे भावर क्षेत्र अत्यन्तै महत्वपूर्ण छन्। नेपालको अन्न भण्डारका रूपमा परिचित तराईको दिगोपनका लागि चुरे क्षेत्रको संरक्षण अत्यावश्यक छ। किनभने यो क्षेत्रमा भण्डारण भएको भूमिगत जल चुहिएर तल्लो क्षेत्र अर्थात् तराईलाई ओसिलो बनाउन मद्दत गर्छ। चुरे क्षेत्रको अवसर, चुनौती र संरक्षण आफैंमा एउटा भेग विषय भएकाले त्यसबारे छुट्टै टिप्पणी आवश्यक हुन्छ।
जहाँ उद्गम भए पनि नेपालका सम्पूर्ण नदी तराई हुँदै भारतको गंगा नदीमा मिसिन्छन्। नेपालको सम्पूर्ण भू–भाग गंगा नदीको जलाधार क्षेत्रमा पर्छ। गंगा नदीको वार्षिक बहावको करीब ४० प्रतिशत तथा सुक्खायामको करीब ७० प्रतिशत बहावमा नेपालका नदीहरूको योगदान छ।
नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। नेपालका अधिकांश नदीहरूको मुहान हिमालय पर्वत नै हो । यसअघि नेपालका प्रमुख नदीहरूकै नामबाट अञ्चलहरूको नामाकरण गरिएको थियो । सन् २००५ बाट विश्व नदी दिवस मनाउन सुरू गरिएको हो ।
सन्दर्भ सामाग्री
सरोज कार्की
सूचना आचार्य
हिमाल खबर
डउग हल