पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
असोज ५, विराट प्रतिभा भैरव अर्यालको जन्मजयन्ती

पढ्न लाग्ने समय : 14 मिनेट

असोज ५ गते नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।  

वि.संं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केबल ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका थिए । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् । उनी कवि, निबन्धकार, समीक्षक, समालोचक, गोरखापत्र दैनिकका उपसम्पादक का रूपमा परिचित अर्यालले गोकर्णस्थित बाग्मती नदीमा फाल हालेर देहत्याग गरेका थिए । 

विसं. १९९३ असोज ५ गते ललितपुरको कुपन्डोलमा जन्मिएका अर्यालको पारिवारिक अवस्था सुखद थिएन । उनका दाजुभाइ चार जना थिए । त्यसमध्ये जेठा थिए उनी । बाबु प्रहरीमा लेखापालको सामान्य जागिरे थिए । खेतीपाती नभएकाले उनको परिवार बसाइ सरेर जोरपाटीस्थित दक्षिणढोका पुग्यो । दक्षिणढोका गएपछि पनि उनीहरूको पारिवारिक आर्थिक अवस्था सुध्रिएन । त्यसैबीचमा जन्मिए तीन छोरा र तीन छोरी ।

दरबार हाइस्कुलबाट माध्यामिक तह सकाएका अर्यालले प्रवीणता प्रमाणपत्र तह र स्नातक निजी शिक्षालयबाट उत्तीर्ण गरे । २०२६ मा त्रिभुवन विश्वविद्यालयबाट एमए सिध्याए ।

सानैदेखि मुक्तक र हाँस्यविधामा लेख्न रुचाउने अर्यालले जीवनको केही समय अध्यापन पनि गरेको उनका छोरा दीपक अर्याल बताउँछन् । “पारिवारिक दायित्व उठाउन पिताजीको १२ वर्षको कलिलै उमेरमा विवाह भयो,” दीपक भन्छन् ।

गोकर्णस्थित अर्याल गाउँका बद्रीनाथ आचार्यको डेरामा उनकै भान्छे भएर मध्यमा सके । सुरुमा संस्कृत पढेका हुन् उनले । मध्यमा परीक्षाको फर्म भर्न पैसा नभएपछि उनले जुक्ति निकालेछन्– तत्कालीन राजा महेन्द्रलाई चिठी लेख्ने । उनले विन्तीपत्र लेखेर दरबार पठाएछन् पनि । कवितात्मक भावमा पत्र लेखेर पठाएपछि महेन्द्रले पढाइको शुभकामनाका साथै केही रकमसमेत पठाएको उनका सहपाठी बल्लभमणि दाहाल बताउँछन्।

साँखुको विद्यालयमा पढाउँथे उनी । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य साँखुबाट काठमाडौं फर्कंदै थिए । त्यहीबेला अर्यालले विद्यार्थी लिएर बाटो छेक्दै पञ्चायत*  सरकार विरुद्ध  नाराबाजी गरेछन् । विद्यालयमा भवन र वेन्च नभएको गुनासो सुनाउँदै माग पूरा गर्न बाध्य बनाएछन् । त्यही घटनापछि उनलाई जोरपाटीतिर कम्युनिस्ट भन्न थालिएछ । तर, उनले कम्युनिस्ट पार्टीको सदस्यता भने कहिल्यै लिएनन् ।

० ० ०

यता पारिवारिक दायित्व पनि बढ्दै थियो, उता साहित्यक क्षेत्रमा उपस्थिति सशक्त बन्दै थियो । त्यस्तैमा उनले प्राथमिक तहसम्म पढाउने सामान्य तालिम लिए । तालिमपछि २०११ सालमा उनी कास्कीको कन्धनी डाँडा (हाल लेखनाथ नगरपालिका वडा नं. ५) मा पढाउन गए । उनलाई त्यहाँ पुर्याउन भूमिका खेलेका थिए– नारायणदत्त रानाभाट र रसमोहन शर्माले । नारायणदत्त पूर्वसभामुख तारानाथ रानाभाटका पिता हुन् । आफ्ना छोराछोरीलाई पनि पढाउन पाइने र गाउँका अन्य बालबच्चाको पनि शैक्षिक भविष्य उज्वल हुने सोचेर नारायणदत्त र रसमोहनले अर्याललाई पोखरा झिकाएका थिए ।

त्यतिबेला भर्खर गाउँमा विद्यालय खोलिएको थियो । काठमाडौंबाट पढाउन पुगेका थिए अर्याल । उतिबेला नेपालबाट पढाउन आएको भनेपछि सम्मानै बेग्लै हुन्थ्यो । अर्यालले मानमनितो पाउने नै भए ।


पूर्वसभामुख रानाभाट उनलाई सरल र सरस व्यक्तित्वका धनी मान्छन् । उनी पनि अर्यालका प्रिय विद्यार्थी थिए । भन्छन्, “मैले जीवनमा जे–जति शिक्षा हासिल गरें, त्यहो भैरव अर्यालले नै बसाइदिएको जग हो ।”

त्यतिबेला गुरुकुल शिक्षा पद्धति थियो । दुर्गा कवच, दुर्गा सप्तसती चन्डी आदि पठनपाठन हुन्थ्यो । तर, अर्यालले अंग्रेजी पठनपाठन सुरु गरे । रानाभाट सम्झिन्छन्, “हामीलाई अंग्रेजीको बाटो देखाउने नै उहाँ हो ।”

रानाभाटकै घरमा बस्थे अर्याल । बाह्मण भएकाले उनी रानाभाट परिवारले पकाएको खाना खाँदैनथे । त्यसैकारण उनलाई भात पकाएर खुवाउने जिम्मा त्यहीँका एक विद्यार्थीलाई दिइएको थियो ।

पठनपाठनका अतिरिक्त अर्यालले प्रत्येक साता बालसम्मेलन आयोजना गर्थे । विद्यार्थीहरूलाई कविता, मुक्तक सिर्जना गर्न लगाउने र वाचनसमेत गर्न अभिप्रेरित गर्थे । निकै छोटो समयमा उनी विद्यार्थीमाझ लोकप्रिय भए । र, गाउँलेका पनि प्रिय बन्न पुगे ।

प्रत्येक शुक्रबार र शनिबार उनका रचना र गफ सुन्न गाउँलेहरू भेला हुन्थे । त्यसबाहेक उनले गाउँलेहरुलाई अन्य विषयमा पनि आफ्ना कुरा भन्थे । रानाभाट १०–११ वर्षमात्रै भएकाले बुझ्ने कुरै भएन ।

आफ्ना हाँस्यव्यंग्य रचनाहरुले उनी गाउँलेलाई मन्त्रमुग्ध पार्थे । काठमाडौं आएका बेला टन्न पुस्तक जम्मा पार्ने र वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत पनि गर्थे उनी ।

विद्यार्थीलाई सिक्न जति उत्साहित बनाउँथे, दण्डमा पनि उत्तिकै कडा थिए भन्छन् रानाभाट । “पढ्न अल्छी गर्ने र आनाकानी गर्ने विद्यार्थीलाई कुद्दै डाँडा चढ्न लगाउने र कुद्दै ओरालो झर्न लगाउनुहुन्थ्यो,” उनले सम्झिए ।

त्यतिबेला दुःखद् घटना भयो । शुक्रबारको दिन थियो । आधा दिनमात्र पठनपाठन हुन्थ्यो । केहीबेर बालसम्मेलन चल्थ्यो । सम्मेलनमा कविता, मुक्तकलगायत आ–आफ्ना रचना वाचन गरेपछि केही विद्यार्थीले निधो गरे– खोलामा पौडी खेल्न जाऊँ ।

त्यसमा सहमत नहुनेहरू घरतर्फ लागे । रानाभाटलगायत ८–१० विद्यार्थी स्थानीय विजय खोलामा पौडी खेल्न थाले । उनीहरूसँगै थिए अर्याल पनि । आत्मीयताले हो या आफ्नो दायित्व सम्झेर, अर्यालले विद्यार्थीलाई स्वच्छन्द छाड्दैनथे ।

सबै विद्यार्थी खोलामा रमाइलो गर्दै थिए । तर, अचानक एक विद्यार्थी गायब भए । तलतिर खेल्न गयो होला भन्ठानेर उनीहरूले खासै वास्ता गरेनन् । घर हिँड्ने बेलासम्म पनि नआएपछि उनीहरूको मनमा चिसो पस्यो । खोजतलास गर्न थाले ।

केही बेरपछि उनी पानीमा तैरिरहेका भेटिए । भेटिनुअगावै उनको प्राणपखेरु उडिसकेको थियो । त्यो घटनाबाट अर्याल निकै विक्षिप्त भए । ती उनका प्रिय शिष्य थिए । बलबहादुर रानाभाट थियो उनकाे नाम । “उनको निधन भएपछि अर्याल गुरु निकै विह्वल बन्नुभयो, प्रिय विद्यार्थी गुमाउनुपर्दाको चोट मस्तिष्कमा गहिरो गरी पर्यो । त्यसपछि उहाँ हाम्रो घरमा बस्न पनि छाड्नुभयो,” रानाभाटले स्मरण गरे ।

केही समय रसमोहन शर्माकहाँ बसे र त्यसपछि पोखरा छाडे । काठमाडौंकै इन्द्रायणी प्राविमा सरुवा भए । उनले पोखरामा डेढ वर्ष समय बिताए ।

पोखरा छाड्ने सहायक कारण पनि थियो– लुतोको महामारी । त्यसबेला कन्धनी डाँडामा लुतोले आतंकै मच्चाएको बताउँछन् रानाभाट । “अचानक जिउ चिलाउन थाल्ने र पछि खटिरा निस्केर पाक्ने हुँदा हामी निकै भयभित भएका थियौं,” उनले भने, “हामीलाई मात्र नभएर अर्याल गुरुको शरीरमा पनि खटिरा आएको थियो ।”

काठमाडौं गएपछि पनि उनको मन पोखराबाट हटेन । र त, पोखराका आफ्ना विद्यार्थी र गाउँलेलाई सम्बोधन गर्दै उनी बारम्बार चिठ्ठी लेखिरहन्थे । रानाभाट भन्छन्, “हाम्रो घरमा खाएको मकै भटमास, मोही, पुवालगायतका खानेकुरा सम्झिएर र यहाँको आत्मीयताबाट आह्लादित भएर उहाँले पटक–पटक पत्रसमेत कोर्नुभयो ।”

साँखुको इन्द्रायणी प्राविमा सरुवा भएपछि उनको अध्यापन लामो समय रहेन । त्यसपछि उनी ‘हालखबर दैनिक’मा आबद्ध भएर पत्रकारिता सुरु गरे । सुरुमा सहयोगी भएर पत्रिका छिरेका अर्याल पछि त्यसैको सम्पादकसम्म भए । त्यहाँ उनले तीन वर्षजति काम गरे । त्यसपछि ०१८ मा ‘गोरखापत्र’ छिरे । संसार नछाड्दासम्म उनले ‘गोरखापत्र’मा काम गरे । मृत्यु हुँदा उनी ‘गोरखापत्र’का उपसम्पादक थिए । सम्पादक थिए– केशवराज पिँडाली ।

साहित्यक क्षेत्रमा उनले २००९ सालमै पदार्पण गरेको अभिलेखहरूले देखाउँछन् । ‘नयाँ जीवन’ शीर्षकको कविता रचेर उनले काव्यिक फाँटमा पाइला टेकेका हुन् । तीन दशकको सिर्जना यात्रामा कविता, निबन्ध, समालोचनाका गरी एक दर्जनभन्दा बढी पुस्तक छापिएको बताउँछन् रोचक घिमिरे । त्यसो त घिमिरेले नै उनलाई साहित्य सिर्जनामा ओत दिएका हुन् । लामो समय टंगालस्थित उनकै घरमा बसे अर्याल । घिमिरेलै घण्टौं कोठामा थुनेर निबन्ध लेख्न लगाएको र लेखुन्जेलका लागि चुरोटदेखि खानासम्मको प्रबन्ध आफैं मिलाइदिएका अनेक किस्सा सुनाउँछन् उनी । उनको पहिलो हाँस्यव्यंग्य संग्रह ‘काउकुती’ हो । यो बासुदेव शर्माले प्रकाशन गरेका थिए । उनले पछि हाँस्यव्यंग्यमात्रै छाप्ने ‘कौवा प्रकाशन’ खोलेका थिए । अर्यालका रचना छापेरै कौवा प्रकाशनले तहल्का मच्चाएको थियो उतिबेला ।

साहित्य साधना, शिक्षण र पत्रकारिता मार्फत जीवनको उतार–चढाव बेहोरेका अर्यालमा घाँटीको समस्या देखा पर्यो । नेपालमा उपचार राम्रो नभएपछि उनी जर्मनीसम्म पुगे । तर, त्यहाँ पनि उनको उपचार राम्रो भएन । त्यसपछि उनमा निराशा पैदा हुन थालेको छोरा प्रकाश बताउँछन् । “उपचार गराउन उहाँ जर्मनी जानुभयो तर त्यहाँ पनि राम्रो उपचार नभएर हो या अन्य गडबडीले– बोली धोद्रो सुनिन थालेको थियो,” उनले भने ।

विभिन्न मञ्चमा कविता पढ्न जाँदा, गोष्ठीहरूमा सहभागी हुँदा स्वर ननिस्कने समस्याले उनीमा हीनभाव पैदा हुँदै गएको थियो । १६ वर्षकै उमेरदेखि उनलाई त्यो रोग लागेको रहेछ । बाेल्दा बाेल्दै असह्य पीडा हुँदा उनी हातले घाँटीका नशा थिचेर पनि रचना वाचन गर्थे ।

यता नोकरीबाट पनि उनी सन्तुष्ट थिएनन् । उनका समकक्षीहरू सबैको पदोन्नति हुने तर आफ्नो नहुने तनावबाट उनी प्रताडित हुँदै गएको नजिकबाट जान्नेहरू बताउँछन् ।

उनीभित्र साहित्यको अथाह प्रतिभा थियो । खुम्च्याएको थियो– सामाजिक र आर्थिक अवस्थाले । उनले व्यंग्य लेख्थे । राजनीति र तत्कालीन सत्ताप्रति तीब्र घोचपेच गर्थे तर बुझ्नेको जमात कति नै थियो र ! बरु खिसिट्युरी गर्नेहरु निस्किए । तिनले कुनै न कुनै कोणबाट उनलाई खुइल्याइरहे । दपेटिरहे ।

त्यसपछि उनमा जीवनप्रतिको निराशा झनै झांगियो । उनले निर्णय लिइसकेका रहेछन् । कहिलेकाहीँ छोराहरूलाई भन्दा पनि रहेछन्– म मर्छु अब, तिमीहरू गरिखाओ ।

साना छोराहरु रुँदै भन्थे, “तपाईं मर्नुभयो भने हामी कसरी बाँच्ने ? नमर्नुस् न बा !”

नियति अझै निर्मम बन्यो । ०३३ को दसैंको द्वादशी मध्यरात उनले घर छाडे । सँगै सुतेका थिए माइला छोरा प्रकाश । तर, उनले सुइँकोसमेत पाउन सकेनन् । बाबु हराएपछि छोराहरू रोइकराइ गर्न थाले । साथीकहाँ गए कि भन्ने पनि पर्यो । मध्याह्नसम्म पनि घर नफर्किएपछि परिवारको मनमा चिसो पस्यो । सारासंसार खोजे, कतै भेटेनन् । ३ दिनपछि बागमती नदीमा उनको शव फेला पर्यो । नाबालक छोराछोरीले पितृवात्सल्य गुमाएनन्  मात्रै, देशले साहित्यको अग्रपुरुष गुमायो । आफू रोएर पनि अरुलाई हँसाउने अर्याल अन्ततः सबैलाई रुवाएर बिदा भए ।

छोरा प्रकाश भन्छन्, “दसैं सबै परिवार मिलेर राम्रैसँग मनाएका थियौं तर आकाशमा पूर्ण चन्द्र लाग्न दुई दिन बाँकी रहँदै हामीले जीवनमा औंसीको रात बेहोर्नुपर्यो ।”

त्यसो त उनले आत्महत्याका लागि पटक–पटक प्रयास गरेका रहेछन् । कहिले झ्यालबाट समेत हाम फाल्न खाेज्ने त कहिले कोटको खल्तीमा विषका चक्की फेला पर्थे । यस्ता व्यवहारले परिवार आजित थियो ।

परिवारले सुनेसम्म मृत्युअघि अर्यालले गोकर्णस्थित महादेव मन्दिरका जोगीसँगै बसेर चुरोट खाएका थिए । त्यतिबेला राति १२ बजेको थियो । मध्यरात चुरोट खान आएको देखेर जोगी अचम्मित भएका थिए रे ! जोगीसँग छुट्टिएलगत्तै उनले पुलबाट खोलामा हाम फालेछन् । जोगीले छप्याल्याङ्ग गरेको आवाजसमेत सुनेका थिए रे ! मृत्युका सन्दर्भमा जे–जस्तो हल्ला चले पनि उनको परिवार निश्चित छ– अर्यालको मृत्यु आत्महत्या हो ।

सन्दर्भ सामाग्री
अक्षर काका
इकान्तिपुर
विकिपिडिया

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर