पढ्न लाग्ने समय : 3 मिनेट
नेपालको ट्रकहरुका बारेमा बनेको फिल्म ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’ (TATTOOED TRUCKS OF NEPAL-HORN PLEASE) रिलिज भएको छ। नेपालका ट्रकहरुमा कोरिएका विभिन्न चित्र, साहित्य र ट्रकसँगको आत्मियताबारे अमेरिकी नागरिक रन र्यान्सनले फिल्म तयार पारेका हुन् ।
सन् १९६४ मा अमेरिकी स्वंयसेवी दल पिसकोर अन्तर्गत नेपाल आएका र्यान्सनले काठमाडौं-चितवन आउजाउ गर्न ट्रकमै यात्रा गरेका थिए। पछिपनि उनी धेरैपटक नेपाल आए। सन् २०१६ मा भने नेपालको ट्रकबारे एक समाचार पढेपछि उनलाई ‘ट्याटु’ भरिएका ट्रकका बारेमा फिल्म बनाउने निधो गरेका थिए।
सन् १९६५ मा काठमाडौं न्यूरोडमा आइसक्रिम खाँदै रन र साथीहरु।
युनिभर्सिटी अफ क्यालिफोर्निया, स्यानडियागोमा कला र थिएटर अध्यापन गराउने रनलाई साथ दिए रनका साथी एवं प्रसिद्ध फोटोग्राफर सुदर्शन कार्कीले। कार्कीले नेपालमा छायाङ्कनदेखि अन्तर्वार्ता मिलाउने काम गरे। ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’ सिकागो साउथ एसिशन फिल्म फेस्टिभल, सानफ्रान्सिस्को सर्ट फिल्म फेस्टिभलमा छनोट हुन सफल भएको छ। जसबाट रन निकै उत्साहित पनि भएका छन्।
उक्त फिल्म https://tattooedtrucksofnepal.com/the-film मा नि:शुल्क रुपमा हेर्न सकिन्छ।
यो फिल्म नेपालीका लागि आफ्नो तर्फबाट उपहार भएको बताउँछन् रन। साथै यसबाट विदेशीहरुले नेपालबारे थप बुझ्नसक्ने उनको दाबी छ।
'नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा रुपमा सुन्दर त छ नै। तर यो फिल्म हेरिसकेपछि जब कोही विदेशी नेपाल जान्छन् तब उनीहरुले ट्रकलाई पनि नोटिस गर्नेछन्। मेरो उद्देश्य नेपाललाई बाहिर चिनाउनु नै हो,' रनले भनेका छन्।
उनले आफ्नो फिल्मले ट्रक साहित्य र ट्रकलाई सजाउन लगाइने सामाग्रीमा लगाइएको प्रतिबन्धबारे पनि कुरा उठाएका छन्। साथै, भारत र चीनसँग रेल संजाल निर्माण भएपछि ट्रकको व्यवसायमा पर्ने असरबारे पनि उल्लेख गरेका छन्।
'जे होस्। यो फिल्मले नेपालको ट्रकको कथा भावी पुस्ताले पनि हेर्न पाउँछन्। भोलि के हुन्छ थाहा छैन। तर त्यो नेपालको एउटा परम्परा हो,' ।
सन्दर्भ सामाग्री
"TATTOOED TRUCKS OF NEPAL- Horn Please"
पहिलोपोस्ट
Ron Ranson
Old Photo of NEPAL Facebook Group