पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
जंगबहादुरको पालामा भएको जनगणना, वि.संं १९१० सालमा थिमीमा थिए ३ वटा पान पसल

पढ्न लाग्ने समय : 14 मिनेट

नेपालमा वि.संं १९६८ बाट जनगणना सुरू भएको मानिन्छ । यसवर्ष १२ औँ राष्ट्रिय जनगणना कार्तिक र मंसिर महिना सञ्चालन गर्ने तालिका रहेको छ । वि.संं १९६८ देखी हरेक १० वर्षमा देशव्यापी रूपमा जनगणना गरिन्छ । चन्द्रशमशेरले दासप्रथा उन्मुलन र विश्वयुद्धमा नेपाली युवा पठाउनका लागि उनीहरूको संख्या जान्ने प्रयोजनका लागि जनगणना गरेका थिए भन्ने गरिन्छ । हुनपनि श्री चन्द्रले सुरू गरेको जनगणना केबल टाउको गणनामा सिमित थियो । 

प्रथम राणा प्रधानमन्त्री जंगबहादुरको पालामा पनि ३ पटक जनगणना भएको तथ्य रहेको छ जुन हस्तलिखित थियो । विसं १९१०, १९११ र १९१३ मा जंगबहादुरले गराएको नेपाली कागजमा लेखिएको उक्त गणनाको तीन अभिलेखमध्ये एकमा कप्तान सतराम खत्री र सुवेदार जगतबहादुर खत्रीले प्रतिवेदन तयार पारेको उल्लेख छ । सतराम तिनै व्यक्ति हुनुपर्छ जसले नेपाल सरकार र तत्कालीन भोट सरकारबीच वि.सं १९१० मा सम्पन्न सन्धिपत्रमा नेपाली भारदारको रूपमा हस्ताक्षर गरेका थिए । जंगबहादुरका छोरा पदमजंग राणाले लेखेको जंगबहादुर राणाको जीवनीमा आफ्ना बुबाले आफ्नो शासनकालमा जनगणना गराएको तथ्य उल्लेख छ । यी तथ्यहरूले जंगबहादुरको शासनकालमा जनगणना गरिएको तथ्य पुष्टि हुन्छ । यस लेखोटबारे एक समय तथ्यांक विभाग, योजना आयोग र पुरातत्त्व विभाग जानकार रहेको देखिन्छ । तर, उनीहरूले आँखा चिम्लनाले ऐतिहासिक नेपाली समाजको बारे समेटिएका कैयन तथ्यबाट नेपाली समाज बेखबर रहयो ।

६ सय पृष्ठको तीन फरक–फरक लिखोटमा भादगाउँ भनेर पनि चिनिने भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र काठमाडौंलगायत तत्कालीन ३३ जिल्लाको जनसंख्याको विवरण समेटिएको छ । पाटन र भक्तपुरको जनगणनामा घरको प्रकार, परिवार संख्या, लोग्ने र स्वास्नीको विवरण, बारी र पातालको संख्या गणना गरिएको छ । परिवारका घरमुलीको नामसमेत उल्लेख गएिको गणनामा बजार व्यवस्था बुझाउने तथ्यांक, देवाल, पाटी सत्तल, इनार र पोखरीको विवरण पनि समेटिएको छ ।

उतिबेला भक्तपुर
सहर भादगाउँका घर जहानको किताब शीर्षकको लेखोट वि.सं १९१० मा जनगणना गरेर तयार पारिएको देखिन्छ । यसमा भक्तपुर दरबार क्षेत्रका विभिन्न २४ टोलको मिहिन विवरण छ । एक सय ६८ वर्षअघि उक्त क्षेत्रको आर्थिक–सामाजिक हैसियत कस्तो थियो ? धार्मिक स्थल, पार्टी, पौवा र पोखरीको अवस्था कस्तो थियो ? घरहरूको संरचना कस्तो थियो भन्नेजस्ता तथ्यको दुरुस्त विवरण यो लेखोटमा उत्रिएको छ ।

लिखोटमा भक्तपुर दरबार क्षेत्रका २४ टोलको क्रमश: भार्वाचो, ईतांछे, लाकुटोल, लाको लांछे, खौमा, तेंखाचो, तुलाछे, घया, मलाछे, यालाछे, तौमढी, चोंछे, बोलाछें, ईनाचो, क्वाडन्डौं, गोलमढी, तचापाल, याछें, जेंला, चासुखेल, थालाछें, भांछे, गछें, तौलोछें टोलमा बस्नेहरूको नामसहितको विवरण छ । नेवारी भाषाको नामहरू भएको र जनगणक पर्वते मूलको भएकाले पनि केही स्थानको नाममा सामान्य त्रुटि देखिन्छ ।

धेरैलाई लाग्न सक्छ, साँच्चै डेढ सय वर्षअघिको भादगाउँ कस्तो थियो होला ? भादगाउँमा महिलाको जनसंख्या १४ हजार २ सय ७९ र पुरुषको जनसंख्या १४ हजार ९ सय ४४ रहेको छ । अर्थात् कुल जनसंख्यामा महिलाको जनसंख्या पुरुषको तुलनामा ६ सय ६५ ले बढी रहेको देखिन्छ । डेढ शताब्दीअघिदेखि नै नेपाली समाजमा ‘लैंगिक अनुपातको असन्तुलन प्रवृत्ति’ कायमैं रहेको देखिन्छ । पछिल्लो २०५८ को जनगणनामा प्रतिसय महिलामा पुरुषको जनसंख्या ९४.१६ रहेको छ । जबकि यही अनुपात २००९–११ को जनगणनामा प्रतिसय महिलामा पुरुषको अनुपात ९६.८ रहेको थियो ।

इतिहास र संस्कृतिका अध्येता पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार १२ औं शताब्दी पुरानो सभ्यता रहेको भक्तपुर तीन सय वर्षसम्म लिच्छविकालको राजधानी रहेको थियो । आजभन्दा २१६ वर्षअघि प्रधानमन्त्री सरहको मुख्तियारी पद सम्हालेका भीमसेन थापाले आफ्नो शासनकालमा सम्पादन गरेर प्रकाशित गरिएको भनिएको ‘भाषा वंशावली’ मा तत्कालीन भादगाउँको जनसंख्या १२ हजार रहेको देखिन्छ । पुरुषोत्तमले भीमसेनको शासनकालमा १२ हजार रहेको जनसंख्या जंगबहादुरको पालामा २९ हजार २ सय २३ हुनु स्वाभाविक नै देखिन्छ । उनले भने, ‘लेखोटमा उल्लिखित तथ्यबाट यसको प्रामाणिकतामा शंका गर्नुपर्ने देखिन्न ।’ उनका अनुसार त्यतिबेलाका शासक नै सहरबाहिर घर बनाउन हुन्न भन्ने मान्यता राख्ने भएकाले पनि जनसंख्या यिनै २४ टोलभित्र थुप्रिएको हुन सक्ने मूल्यांकन गर्न सकिन्छ ।

भक्तपुरको तचपालमा जन्मे–हुर्केका सम्पदाकर्मी रवीन्द्र पुरीका बुझाइमा जंगबहादुरले गराएको जनगणना इतिहासकार, संस्कृति र सम्पदाकर्मी वा समाजशास्त्रका विद्यार्थी सबैलाई अध्ययन गर्ने ‘खजाना’ हो । आफ्नै टोलका पिता–पुर्खाको नाम देखेर रौसिएका पुरीले भने, ‘अहिलेसम्म सम्पदा, जनसंख्याको विस्तृत विवरण भएको यो नै सबैभन्दा पुरानो र प्रामाणिक इतिहास हो ।’

यो पनि नेपालमा जनगणना

४ हजार २ सय ४१ घर संख्या रहेको भादगाउँमा त्यतिबेला झिंगटी र परालको छाना भएका घर मात्रै रहेको देखिन्छ । लेखोटमा ४ हजार ६ सय १३ झिंगटी घर र ६ सय २८ परालको छाना घर रहेको देखिन्छ । जबकि २०६८ को पछिल्लो जनगणनाले जंगबहादुरले जनगणना गरेको २४ टोलसमेत समेटिएको भक्तपुर नगरपालिकाका १७ हजार ६ सय ९३ घरमध्ये परालको छाना भएका घर ९१ रहेको देखाउँछ । त्यस्तै, ४० घरमा मात्रै झिंगटीको छाना रहेको र ८ हजार एक सय ९० घरमा ढलान र ८ हजार ५५ घरमा जस्तापाता छाना रहेको देखाउँछ । यसैका आधारमा भन्न सकिन्छ— पराल र झिंगटीको छाना भएको मध्यपुर थिमी बिस्तारै ‘एकादेशको देश’ बन्दै छ ।

लिखोटमा मध्यपुर थिमीमा नयाँ र पुराना गरी ३ सय ९७ पसल रहेको देखिन्छ । यो तथ्यांकले थिमीको उतिबेलाको अर्थतन्त्रको मुहार चिन्न सघाउँछ । लेनदेन र ऐंचोपैंचो प्रणालीभन्दा पनि बजार प्रणालीलाई थिमीले स्विकारिसकेको देखिन्छ । सबैभन्दा धेरै अर्थात् १ सय ६४ वटा खिच्रीमिच्रीको पसल रहेको भक्तपुरमा भाडा पसल मात्रै ५६ वटा रहेको देखिन्छ । त्यतिबेलाको थिमीमा कपासपसलको संख्या पनि उल्लेख्य रहेको देखिन्छ । लेखोटमा भनिएको छ—थिमीमा मात्रै ७६ वटा त कपासकै पसल रहेका थिए । त्यस्तै फौबन्जार पसल ३० वटा, हलुवाईपसल ३० वटा, ज्यासल ३ वटा र पान पसल ३ वटा देखिन्छ । नेवार बाहुल्य रहको थिमीमा त्यतिबेलै ३ वटा पान पसल रहेको देखिन्छ । मल्ल राजाहरूकै पालामा भादगाउँमा मैथिल ब्राह्मण झाहरूको बसोबास रहेका कारण पनि पान पसलको उपस्थिति रहेको अनुमान गर्न सकिन्छ । भादगाउँका स्थानीय झाहरूका अनुसार तीन सय वर्ष अघितिर तत्कालीन सिम्रौनगढ राज्यबाट झाहरू भादगाउँ आएको देखिन्छ । उतिबेलाको थिमीले देशबाहिरका मानिसलाई पनि व्यापार गर्न स्वीकृति दिएको देखिन्छ । थिमीमा मात्रै ६ वटा त कश्मीरी पसल रहेको देखिन्छ ।

धार्मिक मठ मन्दिरमा पनि थिमी सम्पन्न देखिन्छ । उक्त क्षेत्रमा मात्रै २ सय २२ वटा देवताको स्थल रहेको विवरण लेखोटमा छ । सुब्बा राममार्फत जीर्णोद्धार गरिएका देवल भण्डार घरको संख्या सात रहेको उल्लेख गरे पनि ‘सुब्बा राम को थिए ?’ भन्ने खुलाइएको छैन ।

उतिबेलाको पाटन
धार्मिक र सांस्कृतिक सम्पदाको केन्द्र मानिने पाटन एक सय ६८ वर्षअघि कस्तो थियो होला ? विस १९१३ मा तयार पारिएको ‘सहर पाटनको घर जहानको किताब’ शीर्षक लेखोटमा तत्कालीन पाटनभित्रका २५ टोलको जनसांख्यिक विवरण समेटिएको छ । ईखांचे, कोंटी, कोबाहाल, भेलाछें, च्यासल, खर्पिछे, थेकछें, यनमुगल, चंकी, स्वकबहाल, दुपाट, न्हेफलें, घलायपाट, सौगल, मंगल, हौगल, टंगल, न्हागल, ईखालखु, थवुं, बला, गावाहाल, दथुढोल, नकवहिल, पुलचोक नकको जनसंख्या, घर विवरण, व्यापार–व्यवसाय अवस्था र धार्मिक र सांस्कृतिक स्थल वर्णन यो लिखोटमा उल्लिखित छ । विसं १९१० असार १ देखि १९११ साउनसम्ममा यी टोलमा नयाँ बनेका संरचनाको विवरण पनि यसमा समेटिएको छ । एक वर्षको यो अवधिमा पाटनमा २३१ वटा नयाँ घर बनेको र जसमा १ सय ५५ वटा झिंगटी घर बनेको देखिन्छ ।

लिखोटमा २८ हजार ७ सय १४ जनसंख्या रहेको तत्कालीन पाटनमा ५ हजार ६ सय ९७ घर रहेकामा ४ हजार ७ सय ९७ घर झिंगटीको छाना भएका र परालको छाना भएका घर जम्मा ८ सय ४० रहेको देखाउँछ ।

तत्कालीन पाटनको बजार व्यवस्था कस्तो थियो भन्ने जनाउने सूचकहरू पनि यसमा समेटिएका छन् । त्यतिबेला पाटनमा जम्मा जम्मी ४ सय ३८ वटा पसल रहेको देखिन्छ । एक सय ८४ वटा खिच्रीमिच्री पसल, ३२ वटा कपासपसल, ४३ वटा कपडापसल, दूधको पसल चारवटा, दहीपसल १७ वटा, लहटिया चुरापसल २ वटा साबुनपसल ४ वटा, तमाखुपसल ४ वटा, हलवाईपसल ९ वटा रहेको विवरण छ । लिखोटमा पाटनमा ३७ वटा रक्सीपसल सञ्चालनमा रहेको तथ्य समेटिएको छ । पाटनमै त्यतिबेला नै उदारबक्स मिया, महावीर बक्स मियालगायतमा कश्मीरी ‘मुसलवान’ को २० वटा पसल पाटनमा रहेको देखिन्छ । जसमा कश्मीरी मुसलवानको ५ वटा मासुपसल रहेको देखिन्छ ।

प्रताप मल्लको शासनकालमा पहिलो पटक कश्मीरी मुसलमान नेपाल भित्रिएको इतिहासविद्को दाबी छ । प्रताप मल्लकै पालामा कश्मीरी सुफी सन्त र सोही सेरोफेरोमा मिस्किन बाबा काठमाडौं प्रवेश गरेको देखिन्छ । मिस्किन बाबा तिनै व्यक्ति हुन् जसले जयप्रकाश मल्लको पालामा घन्टाघरनेरको कश्मीरी ताकिया मस्जिद बनाए भन्ने विश्वास छ । कश्मीरी मुसलवान (मुसलमान) को अध्ययन गर्ने जानकारका अनुसार कश्मीरी मुसलवान काठमाडौं उपत्यकामा कुन–कुन स्थानमा कति संख्यामा थिए र उनीहरू कुन–कुन व्यवसायमा संग्लन थिए भन्ने आधिकारिक विवरण छैन । तर यो जनगणना लेखोटले नभेटिएको इतिहासको यो तथ्यलाई पनि उजागर गरेको छ ।

त्यतिबेलाको पाटनमा परम्परागत औषधिउपचारको प्रणाली बलियो रहेको देखिन्छ । २५ टोलमा मात्रै ४२ वटा वैद्यको पसल रहेका थिए । अधिकांश वैद्यपसलको सञ्चालक नेवार समुदायको देखिन्छ । जस्तो कि सौगलटोलमा मात्रै तीन वैद्यको पसल रहेको देखिन्छ जसमा यामुलका मानवीर श्रेष्ठ, ईखालखुका गोपाल श्रेष्ठ र सिंहताफलका भाजुधन वैद्यको औषधिमुलो पसल रहेको देखिन्छ ।

९८ वटा धारा रहेको पाटनमा पानीको मुख्य स्रोत भने इनार रहेको देखिन्छ । लेखोटमा पाटनका २५ टोलमा २ सय १० वटा इनार रहेको देखिन्छ । त्यस्तै ५० वटा साना–ठूला पोखरी रहेको पाटनमा ७ सय ४५ वटा त देवालय, ६१ वटा सत्तल र २ सय २७ वटा पाटी रहेको देखिन्छ । लिखोटमा पाटनका सबै अर्थात् २५ टोलमै रहेको मठमन्दिर र देवालयको छुट्टाछुट्टै विवरण समेटिएको छ ।

उबेला काठमाडौं र आसपास
विसं १९११ मा तयार पारिएको अर्को लेखोट हो— काठमाडौं पाटन पूर्व, पश्चिमसमेतका जिल्ला वा घर जहानको विवरण । लेखोटको अग्रभागमा लेखिएको छ— टुकुचा पश्चिम वाग्मती उत्तर, विष्णुमती पूर्व, ठमेल चौकी सडक, दक्षिण सहर काठमाडौं, टोल–टोल र बाहिरफेरको घरजहान जाँच मार्फत कप्तान सतराम खत्री, सुवेदार जगतबहादुर खत्री, बमोजिम तपसिल संवत् १९११ साल जेठ २ मा तयार पारिएको ।

थिमी र पाटनजस्तो मिहिन विवरण नसमेटिएको यस लेखोटमा मुख्यत: घर संख्या, जम्मा जहान, लोग्ने र स्वास्नीको संख्या समेटिएको छ । तत्कालीन जिल्लाहरू काठमाडौं, भादगाउँ, सल्यान धादिङ, गोर्खा, गोर्खा मजुवा, जिल्लै तनहुँ, लमजुङ, ढोर, भीरकोट, गह्रौं, पल्लो नुवाकोट, पर्वत, निसाभुजी, गल्कोट, मुसीकोट, इस्मा, धुर्कोट, पाटन, चिसंखु, सतङ, पैयु, ऋषिङ, धिरिङ, दाङ सल्यान, सल्यान, सल्याना सात थपौंला, प्यूठान, पाल्पा, पाल्पा वाकुम पूर्व, पाल्पा वाकुम पश्चिम, अर्घा, खाँची र गल्कोटको जनसंख्या विवरण समेटिएको छ ।
काठमाडौंभित्रका केही स्थानको भने जनसंख्या अलावा मठ मन्दिर, देवालय र सत्तल विवरण पनि समेटिएको छ । कतिसम्म भने यस लिखोटमा स्वयम्भू र देउपाटन भनिने चिनिने पशुपति क्षेत्रवरपर संवत् १९१३ मा हैजा लागेर मर्नेहरूको विवरण पनि समेटिएको छ । लेखोटका अनुसार उक्त वर्ष स्वयम्भूमा ७ जना र स्वयम्भूवरपर टोलमा ३ जना हैजाले मरेका थिए । त्यस्तै देउपाटनको चाबहिल क्षेत्रमा सोही साल हैजाले १ बूढा, २ तन्नेरी, २ केटा, १ तरुनी र १ केटीसहित सात जना मरेको तथ्य लेखोटमा छ । लेखोटमा देउपाट क्षेत्रको विटोल, गुनाटोल, लगनलांछी, भंकुटोल, नवाली र खना टोलमा हैजा लागेर मर्नेको नामसहितको विवरण समेटिएको छ ।

यो तथ्यले तत्कालीन नेपाल भनिने उपत्यकामा पनि सरसफाइको हालत कस्तो थियो र स्वास्थ्यमा पहुँच कति कमजोर थियो भन्ने बुझाउँछ ।

सन्दर्भ सामाग्री
जनकराज सापकोटा
इकान्तिपुर

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर