पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
भदाै १५, राष्ट्रिय पुस्तकालय दिवस

पढ्न लाग्ने समय : 9 मिनेट

पुस्तकालय लेखी,छापी, कोरी, खिचि वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्शा, चार्ट, फिल्म आदि ज्ञान सामग्री सु-व्यवस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो, यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ ।

हरेक वर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ । नेपालमा औपचारिक रूपमा वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै यस दिन राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिएको हो । पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको हो। यस अर्थमा नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०९ वर्षभन्दा लामो इतिहास पूरा भएको छ र पुस्तकालय दिवस तेह्राैं वर्षमा प्रवेश गरेको छ।

नेपालमा पुस्तकालयको इतिहास धेरै लामो नभएता पनि पछिल्लो समयमा यसको महत्त्व भने बढिरहेको देखिन्छ ।

नेपालको पुस्तकालयको इतिहास

परापूर्वकालमा गुरुकुल शिक्षाका साथसाथै मन्दिर, विहार, गुठी तथा गुम्बाहरूमा शिक्षा दिने प्रचलन रहेको र सोही स्थानहरूमा ताम्रपत्र, भोजपत्र, शिलालेख जस्ता हस्तलिखित सामग्रीहरूको संग्रह गर्ने गरेको इतिहास पाइन्छ । मल्लकालीन (नेपालको एकीकरणपूर्वको बाइसे चौबिसे राज्यकालीन) समयको राजधानी भक्तपुरमा ‘सकोठा’ नामक पुस्तकालयको अस्तित्व रहेको पाइन्छ । एकीकरण पश्चात पृथ्वीनारायण शाह (१७७९–१८३१) ले विभिन्न राज्यबाट प्राप्त भएका बहुमूल्य हस्तलिखित पाण्डुलिपिहरूलाई वि.सं. १८२७ तिर काठमाडौंको हनुमानढोका दरबारमा संकलन गरी राख्न लगाए ।

पृथ्वीनारायण शाहका पनाति गीर्वाणयुद्धविक्रम शाह (१८५४–१८७३) को समयमा बल्ल नेपालमा एउटा पुस्तकालय सम्बन्धी नियम बनाई वि.सं. १८६९ भाद्र १५ गते ‘पुस्तक चिताई तहबिल’ नामक नेपालको प्रथम औपचारिक पुस्तकालयको स्थापना भएको मानिन्छ (निरौला, यादवचन्द्र) । राजेन्द्र विरविक्रम शाह (१८७०–१९३८) ले पनि वि.सं. १८९८ (सन् १८४१ ) तिर उक्त पुस्तकालयमा पुस्तकहरू थप्दै गएकाले शाह राजाहरू शिक्षाप्रति उदार भएको देखाउदँछ (कार्की, मधुसुदन) । तत्कालीन समयमा उक्त पुस्तकालयमा राजघरानाका सदस्य तथा उच्च विदेशी पाहुनाहरूको मात्र पहुँच रहन्थ्यो ।

राणाकालीन समयमा पनि शिक्षा तथा पुस्तकालयको क्षेत्रमा केही कार्य भएको देखिएता पनि त्यसले समाजमा उल्लेख्य परिवर्तन भने ल्याउन सकेको थिएन । जंगबहादुर राणाले हनुमानढोकामा रहेका सामग्रीहरूलाई थापाथली स्कुलमा स्थानान्तरण गरी ‘मुन्सिखाना’ र ‘जैसिकोठा’मा विभाजन गरी राखेका थिए । वि.सं. १९१० (सन् १८५४) मा दरबार स्कुलको स्थापना पश्चात विर शमशेरले थापाथली जैसिकोठामा रहेका सामग्रीहरूलाई दरबार स्कुलमा स्थानान्तरण गर्न लगाए । उनले वि.सं. १९५७ (सन् १९००) मा ‘विर लाइब्रेरी’को स्थापना गर्न लगाई व्यवस्थित रुपमा पुस्तकहरुको संग्रह गर्न लगाए भने देव शमशेरले सन् १९२८ मा उक्त पुस्तकालयलाई सर्वसाधारणको लागि खुल्ला गराएका थिए ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो निजी निवासलाई ट्रष्ट मातहत रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गरी सोही भवनमा पुस्तकालय निर्माण कार्य अगाडि बढाइ त्यसको निरीक्षण गर्न जानु र पुस्तकालयमा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि हुनु पछिल्लो समयका सुखद र सकारात्मक पक्ष हुन्

सन् १९१८ मा स्थापित त्रिचन्द्र कलेजमा पनि पुस्तकालयको व्यवस्था गरियो । त्यस्तै वि.सं. १९७७ (सन् १९२०) को “मकै पर्व”, वि.सं. १९८६ (सन् १९३०) को “लाइब्रेरी पर्व” का घटनाहरू घटिनु र डेनियल राइटले “नेपालमा स्कुल र कलेजको विषयलाई आयरल्याण्डमा सर्पलाई गर्ने जस्तो व्यवहार गरिन्छ” भनेर उल्लेख गरिनुले तत्कालीन राणाशासकको शिक्षा र पुस्तकालयप्रतिको धारणा प्रष्ट बुझिन्छ ।

राणाशासनको बेलामा व्यक्तिगत प्रयोजनका लागि भनेर स्थापित पुस्तकालयहरुको अत्यन्तै ठूलो महत्व रहेको पाइन्छ । चन्द्र शमशेरका छोरा केशर शमशेर (१८९२–१९६४) ले वि.सं. १९६५ (सन् १९०८) बाट, राणा प्रधानमन्त्रीका राजगुरु हेमराज पाण्डेले सन् १९१० तिरबाट र सिंह शमसेर ज.ब.रा ले पनि सोहीताकाबाट पुस्तकहरुको संकलन गर्न थालेका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सन् १९५२ र १९६० मा केशर पुस्तकालयको भ्रमण गरेका थिए । सिंह शमशेरको पुस्तकालय पछि त्रि.वि. पुस्तकालयलाई हस्तान्तरण गरियो र हाल त्रि.वि. पुस्तकालयभित्र सिंह कलेक्सनको नाममा परिचित छ ।

वि.सं. १९६६ मा राममणि आदीले भंसारहिटी टंगाल ग्रैहीधारामा शान्ति निकेतन पुस्तकालयको स्थापना, जनस्तरबाट वि.सं. १९८३–८४ तिर पाल्पामा पुस्तक पढ्ने दलानको स्थापना र वि.सं. २००१–२००२ तिर सार्वजनिक पुस्तकालयको रुपमा धवल पुस्तकालयको स्थापना गरेको पाइन्छ । धवल पुस्तकालयमा तत्कालीन राजा महेन्द्र र महाकवि देवकोटाले समेत भ्रमण गरेकाले यस पुस्तकालयको महत्व प्रष्ट झल्किन्छ ।

त्यसैगरी सन् १९४३ मा सर्वोच्च अदालत लाइब्रेरीको स्थापना, सन् १९४६–४७ तिर विराटनगरमा आदर्श पुस्तकालय, बुटवलमा महाविर लाइब्रेरी, काठमाडौंमा प्रदिप्त पुस्तकालय, धरानमा सामुदायिक विद्या भवन पुस्तकालय, सर्लाहीमा मनोहर मोहन पुस्तकालय, बाग्लुङमा विद्यामन्दिर पुस्तकालयसहित केही दर्जन पुस्तकालयको मात्र स्थापना भएको पाइन्छ जसमध्ये पनि धेरैजसो जनस्तरबाट स्वतस्फूर्त रुपमा स्थापना गरिएका थिए ।

वि.सं. २००७ सालको परिवर्तन पश्चात नेपालमा पुस्तकालयको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । सन् १९५१ मा भारतीय दूतावासको सहयोगमा नेपाल-भारत मैत्री पुस्तकालयको स्थापना र सन् १९५२ मा अमेरिका र बेलायती दूतावासको सहयोगमा मिसन पुस्तकालयहरूको स्थापना भए ।

गुरुजु पुस्तकालयलाई नेपाल सरकारले खरिद गरी नेपाल राष्ट्रिय पुस्तकालय (वि.सं. २०१३) को स्थापना, साहित्यिक कृतिको संरक्षणको लागि मदन पुरस्कार पुस्तकालय (वि.सं. २०१३) को स्थापना, शैक्षिक पुस्तकालयको रुपमा त्रि.वि. पुस्तकालय (वि.सं. २०१६) लगायत अन्य थप दशवटा विश्वविद्यालयका पुस्तकालयहरू, सयौं कलेज र हजारौं स्कुलमा पुस्तकालयहरू थपिए ।

व्यक्तिगत प्रयोगका लागि स्थापित केशर पुस्तकालय वि.सं. २०२५ (सन् १९६८) मा नेपाल सरकारलाई हस्तान्तरण गरिनु र डिल्लीरमण कल्याणी स्मृति पुस्तकालय सर्वसाधारणको लागि खुल्ला गरिनु यो समयका उपलब्धिमूलक कार्य रहे । सामुदायिक पुस्तकालयको रुपमा काठमाडौंमा, काठमाडौं भ्यालि सार्वजनिक पुस्तकालय (वि.सं. २०६२), ललितपुरमा AWON (Active Women of Nepal) Library (सन् १९५६), काभ्रेको पनौतीमा ज्ञानविकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, चितवनमा झुवानी सामुदायिक पुस्तकालय (सन् २००१) जस्ता नमुना पुस्तकालयको स्थापना हुनुले समुदाय स्तरमा पुस्तकालयको महत्व तथा प्रयोग बढेको देखिन्छ ।

विशेष पुस्तकालयको रुपमा नेपाल राष्ट्र बैंक पुस्तकालय (सन् १९५७), केन्द्रीय कानून पुस्तकालय (सन् १९९३) लगायत विभिन्न मन्त्रालय र संस्थान भित्रका सोही संस्थाका कर्मचारी, प्रयोगकर्ता र सोही क्षेत्रमा रुचिकर व्यक्तिलाई लाभान्वित गरेको पाइन्छ । त्यस्तै यो समयमा देशका विभिन्न भागमा हजारौं संख्यामा पुस्तकालयहरूको स्थापना भएको पाइन्छ र ती पुस्तकालयमा सर्वसाधारण जनताको समेत सहज पहुँच भएको हुनाले प्रयोगकर्ताले पुस्तकालयबाट उल्लेख्य फाइदा लिएको देखिन्छ ।

सन्दर्भ सामाग्री
किशोर पाैडेल
हाम्रोपात्रो
विकिपिडिया
अनलाइन खबर
Johannes Bornmann

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर