पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
केही राणाकालीन दरबारहरू

पढ्न लाग्ने समय : 26 मिनेट

नेपालमा वि.संं १९०३ बाट वि.संं २००७ सालसम्म एकछत्र शासन गरेका जहानियाँ राणा शासकहरूको जहाँ जहाँ मुकाम रह्यो त्यस स्थानमा भव्य दरबार तथा महलहरू निर्माण गरिए । त्यस समयमा राणाकालीन भव्य दरबारहरूलाई सेतो हात्ती भनिन्थ्यो। यी दरबारहरू विशाल क्षेत्रको केन्द्रमा खडा भयो जुन राणा शासकहरूले आम जनतामाथि आफ्नो प्रभुत्व देखाउन र आफ्ना ब्रिटिश मित्र र राणा साथीहरूलाई खुशी पार्न प्रयोग गर्थे। 

त्यस समयका सुन्दर दरबारहरूका निर्माता आर्किटेक दक्ष रणशुर बिष्ट तथा जोगवीर स्थापित हुन् । यसपछि युरोपियन शैलीका कलात्मक दरबारहरूका जन्मदाता चिफ इन्जिनियर कुमार नरसिंह राणा तथा किशोर नरसिंह राणा हुन् ।

वि.सं २००७ फागुन ७ मा राणा शासनको पतनपछि केही दरबारहरू सरकारी कार्यालय/ भवनहरूमा परिणत गरिए। अरू केहि दरबारहरू मालिकहरूद्वारा ध्वस्त गरिए र पुस्तकालयहरू, सङ्ग्रहालयहरू, होटेलहरू र सम्पदा परिसरहरूमा पुनःनिर्माण गरियो। अझै पनि कैयन् निजी स्वामित्वमा रहेका दरबारहरू ध्वस्त भएका छन् वा भग्नावशेषहरूमा छन्। सरकारी स्वामित्व भएको अधिकांश दरबारहरू मर्मत र पुनःस्थापना गरिएको छ।

वि.संं १९९० सालको भूकम्प, विभिन्न प्रकोपहरूमा केही राणाकालीन दरबारहरू कहिल्यै नउठ्नेे गरि धुमिल भए भने वि.संं २०७२ का भुकम्पले समेत केही राणाकालीन दरबारहरू भग्नावशेषमा परिणत गर्न सघाउ पुर्यायो ।  

फोहोरा दरबार
वि.सं. १९५४-५५ तिर वीरशम्शेरले वास्तुकलाविद् जोगवीर स्थापितलाई फोहोरा दरबार बनाउन लगाए । उनले सो दरबारमा तयार भएपछि आफ्ना छोरा प्रतापशम्शेरको लागि बकस लेखिदिए । तर यो कुरा कान्छी रानी तोपकुमारीदेवीलाई मन परेन । वीरशम्शेरले सोही दरबार नजिकै अर्को अझ भव्य फोहोरा दरबार कान्छी महारानीका लागि बनाइदिए । सो दरबारमा अत्याधुनिक फोहोराहरू बनाइएको थियो । साथै बिचमा चौडा पोखरी र पोखरीको बीचबीचमा पनि लहरै फोहोराहरू राखिएको थियो । यहि महलको कौशीमा पनि सर्च लाइट जडान गरिएको थियो । यहाँ जडान गरिएका सामग्रीहरू पनि युरोपबाट मगाइएका थिए ।


१९५९ मा वीरशम्शेरको मृत्युपछि आफ्नो दरबारमा प्रतापशम्शेर बस्न थाले । वि.सं १९८२ मा प्रतापशम्शेर धपाइएर पाल्पाका बडाहाकिम बनाइए । त्यहाँ पनि पाल्पा दरबारको मर्मत गराइ बसे । वि.सं. १९९० मा त्यहाँबाट पनि लखेटिए पछि दार्जिलिङ पुगे । जहाँ उनको वि.सं १९९२ मा मृत्यु भयो ।

वीरशम्शेरले कान्छी रानीको लागि बनाइएको दरबार पनि प्रतापशम्शेरकै नाममा आयो । मुख्य पहिलो फोहोरा दरबार जेठा छोरा माधवशम्शेरको अंशमा आयो । जुन पछि राजा महेन्द्रले बिना मुआब्जा जबर्जस्ती भत्काएर नारायणहिटी भित्र गाभे ।

रानीको लागि बनाइदिएको दरबार कान्छा छोरा गोविन्दशम्शेरलाई दिए । २००७ सालपछि यहि दरबारको भुँइतलामा रहेको ठूलो हलमा प्रभा सिनेमा हलको नामबाट सिनेमाहरू देखाउने गरिन्थ्यो तर सिनेमा हलले खासै उत्साहजनक नतिजा नदिँदा घाटा लाग्यो । फोहोरा दरबार विस्तारै फोहर दरबार बन्न थाल्यो । यता राजा महेन्द्रले जबर्जस्ती दाजुको फोहोरा दरबार भत्काएको हुँदा भाइले पनि सो फोहरा दरबार अमेरिकी राजदुतावासलाई बेचिदिए । ४.४ हेक्टर क्षेत्रफलमा फैलिएको यस दरबार हालको अमेरिकन रिक्रिएसन, एनआईडिसि देखि याक एन्ड यति होटल सम्मको क्षेत्रमा फैलिएको थियो । यो दरबार भत्काइएपछि यसका पुराना बलिया ईँटाहरूको प्रयोग नारायणहिटी दरबारको निर्माणमा भएको थियो।


जोगवीर स्थापित

बबरमहल
यो दरबार शुरुमा थापाथली दरबार कै एउटा हिस्सा थियो । बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९६० को दशकको अन्त्यतिर चन्द्रशम्शेरले आफ्नो छोरा बबरशम्शेर राणाको निम्ति बनाएका थिए । ७ हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ ।



वि.सं. १९९० सालको भूकम्पपछि वि.सं. १९९१ मा यस दरबारको जीर्णोद्धार गरियो जहाँ हाल सडक विभागको कार्यालय रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परिक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही क्षेत्रमा बबरशम्शेरकै सन्तानहरूको स्वामित्व रहेको छ ।

बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशम्शेरकै सन्ततिहरूले आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेका छन् । बबरमहल रनसुर बिष्टले डिजाईन गरेको र ई. कुमार नरसिंह र किशोर नरसिंह द्वारा निर्माण गरेका थिए ।

बाग दरबार
बाग दरबार काठमाण्डौमा अवस्थित ( थापा ) दरबार हो। दरबार क्षेत्र धरहराको पश्चिमपट्टि निर्मित उक्त दरबारमा विभिन्न बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । अमरसिंह थापा (सानुकाजी) र भीमसेन थापाको निवास रहेको उक्त दरबारलाई पछिल्लो समयमा शाह वंश र नेपाल सरकारले नियन्त्रणमा लिए ।



अमरसिंह थापाले बनाएको पुरानो दरबार भएकै ठाँउमा भिमसेन थापाले दरबार बनाए । भीमसेन थापाको अन्त्य पछि सरकारीकरण भएको सम्पत्ती माथवरसिंह थापाले फिर्ता गराइ त्यस दरबारमा पाटेबाघ खोरमा राखी पाले । जसले गर्दा यो दरबारको नाम बाघ दरबार रहन गयो । माथवरसिंह थापाको हत्यापछि शाह खलकका राजकुमारको दरबार बन्न पुग्यो । पछि कसैकसैको भनाइमा बाग अर्थात बगैंचा बनाइएको भएर बागदरबार नामाकरण भएको भन्ने पनि भन्दछन् । तर वास्तवमा बाघदरबार नै अप्रभंश भएर बागदरबार हुन गएको हो । थापाहरूको पतनपछि आएका राणाहरूले थापाहरूको अस्तित्वमा रहेको बाघदरबारको नाम स्वीकार्न नचाहेकोले नै बागदरबार भन्न थालिएको हो । १९९० को भूकम्पमा आंशिक क्षति पुगेको भवन मर्मत पछि जुद्धशम्शेरले आफ्नो अधिनमा लिई छोरा हरिशम्शेरलाई दिए । वि.संं २०७२ को प्रलयकारी भुकम्पमा यस दरबार क्षतिग्रस्त भयो भने सञ्चालनमा रहेको  काठमाडौं महानगरपालिका अन्तर्गतका केहि कार्यालय अन्यत्र सारिएको छ ।



हरिहर भवन
श्री दरबारको पश्चिममा रहेको छ। यो दरबार चन्द्रशम्शेरले वि.सं. १९८२ मा आफ्ना महिला छोरा शंकरशम्शेरका लागि बनाएका थिए। शंकरशम्शेर हरिहर भवनमा वि.सं. २००६ सम्म बसे। वि.सं. २००६ मा जब उनलाई बेलायतको राजदुत बने उनी बेलायत गए। वि.सं. २०१० सालमा उनलाई राजदुतबाट फिर्ता बोलाइयो, उनले बेलायतमा नै बस्ने निर्णय गरे ।

उनले बेलायतमा नै बस्ने निर्णय गरेपछि, नेपाल सरकारले शंकरशम्शेरको हरिहर भवनसहित सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्यो। वि.सं २०२३ सालमा सरकारी स्वामित्वमा आएको यस दरबारमा निजामति किताबखाना, कृषि विभाग, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोग रहेका थिए ।



यस दरबारको केही भाग वि.सं २०७२ को भूकम्पमा क्षतिग्रस्त भयो। हरिहर भवन असुरक्षित भनेर यहाँ रातो स्टिकर टाँसिएपछि यहाँ रहेका कार्यालयहरु खाली गरियो । यस ऐतिहासिक भवनमा रहेको राष्ट्रिय पुस्तकालय भद्रगोल अवस्थामा छ भने यस भवनको भाविष्य के होला कसैलाई थाहा छैन् ।

केशर महल
नारायणहिटी दरबारको पश्चिममा जीतशम्शेरको सानो घर थियो । चन्द्रशम्शेरले सो किनेर वि.सं १९५१ मा छोरा केशरशम्शेरको लागि महल बनाईदिए । यस दरबार क्षेत्रभित्रको बगैँचा काठमाडौंका अन्य महलको तुलनामा निकै नै आकर्षक थियो । तसर्थ यसलाई Garden of Dreams भनिन्छ ।



प्रजातन्त्रको आगमनपछि पनि यो महल केशरशम्शेरकै परिवारमा निहित थियो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले वि.सं. २००८ र वि.सं. २०१६ को नेपाल भ्रमणका समयमा यस महलमा रहेका पुस्तकालयको भ्रमण गरेका थिए । वि.सं. २०२१ मा केशरशम्शेरको स्वर्गारोहण पछि रानी कृष्णचन्द्रदेवी राणा तथा छोराहरू केयुरशम्शेर र लोकभक्तशम्शेर राणाले नेपाल सरकारलाई हस्तान्तरण गर्न सहमत भएपछि वि.सं. २०२५ भाद्र २७ गते भव्य समारोह बीच नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । यस महलमा वि.सं. २०२६ साउन १ गतेबाट केशर पुस्तकालयको नामबाट पुस्तकालय सञ्चालन गर्नुको साथै शिक्षा मन्त्रालय पनि यसै महलमा सारिएको थियो । वि.सं. २०७२ को भूकम्पले भत्काएको केशरमहल अहिले व्यापारिक केन्द्र बनाउने चर्चा सुनिन थालेको छ ।

लाल दरबार
वि.सं. १९४६ मा वीरशम्शेरले आफ्नी कान्छी रानी टोपकुमारी देवीको लागि यो दरबार बनाईदिएका थिए । वि.सं. १९५७ मा यो दरबार उनका छोरा तेजशम्शेरको नाममा आयो । वि.सं. १९९० मा तेजशम्शेरलाई धपाएर जुद्धशम्शेरले आफ्नो कब्जामा लिए । २००७ मा राणा शासन अन्त्य भएपछि तेज शम्शेरका छोराहरूको यस दरबार दाबी परेपछि उनीहरूले फिर्ता पाए ।



हाल यो दरबारमा होटेल याक एन्ड यती रहेको छ । जसको ४० वर्षको विरासत छ र काठमाडौँको एक अग्रणी ५ तारे होटलका रूपमा सेवा दिइरहेको छ । वि.सं २०३४ कार्तिक ११ गते होटल याक एण्ड यतिको स्थापना भयो ।

लक्ष्मी निवास
वि.सं. १९६१ मा चन्द्रशम्शेरले आफ्ना जेठा छोरा मोहनशम्शेरका लागि यस दरबार बनाईदिएका थिए । नेपालका पहिलो ईन्जीनियरहरु कुमार नर्सिंह राणा र किशोर नर्सिंह राणालाई बनाउने जिम्मा दिएका थिए । बाबु चन्द्रशम्शेर प्रधानमन्त्री रहुन्जेल मोहनशम्शेर सिंहदरबारमै बसे तर बाबुको मृत्युपछि यस दरबारमा बस्न थाले । वि.सं १९८५ बाट वि.सं. २००२ सम्म यहि दरबारमा बसे जब आफु प्रधानमन्त्री बने त्यसपछि सिंहदरबारमा सरे । देशमा प्रजातन्त्र आएपनि सिंहदरबार नछोडेका मोहनशम्शेरलाई नेपाल सरकारले सिंहदरबारबाट जबर्जस्ती हटाएको थियो ।



सिंहदरबारबाट फर्किएपछि केहि समय यस दरबारमा बसेका मोहनशम्शेर देश छोडेर बैंग्लोर बस्न गएपछि सरकारले यस दरबारलाई सेनाको कार्यालय (भैरवनाथ गण) बनाईएको छ । 

सेतो दरबार
वि.सं. १९४९ मा वीरशम्शेरले छोरा गेहेन्द्रशम्शेरको लागि यो दरबार बनाईदिएका थिए । यस भव्य दरबारमा वैज्ञानिक गेहेन्द्रशम्शेरले प्रयोगशाला(ज्यासल) पनि स्थापना गरेका थिए । भनिन्छ गेहेन्द्रशम्शेरले ठूलाठूला पवन चक्कीबाट ज्यासलको लागि आवश्यक बिजुली उत्पादन पनि गरेका थिए । १९६१ मा गेहेन्द्रशम्शेरको मृत्युपछि उनका छोरा लीलाशम्शेर यस दरबारमा बसेका थिए । वि.सं १९९० मा भएको ठूलो आगलागि ले यो भवनको अधिकांश भाग जलेर नष्ट भयो । जमलमा देखिने ठूलो गेट सेतो दरबारकै मुलद्वार हो ।  यस दरबार  ३ सय ७५ रोपनी क्षेत्रमा फैलिएको थियो ।


वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीरशम्शेरले प्रति रोपनी रु. ६० का दरले ३७५ रोपनी जग्गा खरिद गरि निर्माण गराएको यस दरबारमा ठूलाठूला क्रिस्टलका झार र बार्दली बार इटालियन मार्वलको टेबल, बेल्जियमका ऐनाहरु बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका ८ वटा सेता स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरू भारतको सोनपुरसम्म रेलद्वारा र सोनपुरबाट भीमफेदीसम्म गाडा, बग्गी, हात्ति र त्यहाँबाट भरियाद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए । यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरू पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे ।

महाराज वीरशम्शेरको निधनपछि मुख्य दरबार उनका जेठा छोरा जनरल गेहेन्द्रशम्शेरको भयो र उनको मृत्यु (हत्या)पछि त्यो उनका जेठा छोरा लीलाशम्शेरको स्वामित्वमा पुग्यो। तर उनका भाइ सूरशम्शेरसँग राजा त्रिभुवनकी बहिनी 'शाहज्यादी' को विवाह भएपछि सेतोदरबारका मालिक सूरशम्शेर भए। उनैको मालिकीमा छँदा त्यो दरबार आगलागिमा परेको हो।



टंगाल दरबार
वि.सं. १९४६ मा वीरशम्शेरले भाइ भीमशम्शेरको लागि वास्तुविद् जोगवीर स्थापितद्वारा बनाउन लगाएका हुन् । भीमशम्शेर करिब ४० वर्ष यस दरबारमा बसे प्रधानमन्त्री भएपछि सिंहदरबार सरेपछि यस दरबार छोरा रामशम्शेरलाई दिए । वि.सं. २०२९ मा रामशम्शेरको मृत्युपछि छोराहरूको भागमा पर्यो । पछि छोराहरूले यो दरबार बिक्री गरे । नीजि क्याम्पस सञ्चालन भइरहेको यस दरबार  वि.सं २०७२ को भूकम्पपछि खण्डहर भएकोमा अहिले कुनै अस्तित्व छैन् ।


 

शितल निवास
वि.सं. १९८० मा चन्द्रशम्शेरले छोरा कृष्णशम्शेरको लागि बनाएका थिए । तर वि.सं. २००४ मा ठूलो दबाबपछि कृष्णशम्शेरले नेपाल सरकारलाई हस्तान्तरण गराई आफु बेङ्ग्लोर बस्न गए । वि.सं. २००४ पछि केहि वर्ष भारतीय राजदूतावास रहेको यो दरबारमा हाल राष्ट्रपति भवन बनाईएको छ । केहि समय यस भवनमा परराष्ट्र मन्त्रालय बसेको थियो ।


 

सिंह दरबार
वि.सं. १९६० मा चन्द्रशम्शेरले बनाएका थिए । यस दरबारको पनि डिजाईन कुमार नर्सिंह राणा र किशोर नर्सिंह राणाले गरेका थिए । दरबार तयार भएपछि चन्द्रशम्शेरले रु. दुई करोडमा नेपाल सरकारलाई बिक्री गराई यसलाई प्रधानमन्त्री निवास बनाए । पद्मशम्शेर बाहेक सबै राणा प्रधानमन्त्रीहरु आफ्नो कार्यकालमा यही दरबारमा नै बसे । वि.सं २०३० सालमा अगलागि हुँदा यस दरबारको अधिकांश भाग ध्वस्त भयो । 

यो पनि  यसरी बनेथ्यो सिंहदरबार

२००७ सालअघि सिंहदरबारको मुलढोका अगाडीबाट हिँड्न पाइन्नथ्यो !

सिंहदरबार आगलागीका बारेमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टको बयान !

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार २०३० सालमा आगलागी हुँदा खरानी भयो

त्यो बेलाको सिंहदरबार प्रवेश गर्ने पास

थापाथली दरबार
थापाथली दरबार पहेँलो रङको थियो ।  थापाथली भन्नाको अर्थ थापाहरूको निवास बुझिन्छ । बगाले थापा घरानाका काजी नैनसिंह थापाद्वारा निर्मित यो दरबार उनकै छोरीका सन्तान जंगबहादुर राणाले हत्याए । बागमती नदीको उत्तरमा बनाइएको उक्त दरबारमा बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । वि.सं. १८४० को दशक देखि वि.सं. १९०० सम्म विभिन्न भवनहरूको निर्माण गरिएको थियो । पछि जंगबहादुर राणाले रणशूर विष्टमार्फत सिंह महल तथा अन्य भवनहरू थपजोड गरे ।

श्री दरबार
प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं १९८३-८४ सालमा कान्छी श्रीमती बालकुमारीदेवी तथा छोराहरु मदनशम्शेर र विष्णुशम्शेरको लागि तयार गरिदिएको दरबार हो । वि.सं.१९८६ मंसिरमा चन्द्रशम्शेरको मृत्युपछि बालकुमारीदेवी बनारस बस्न गइन् । विष्णुशम्शेर पनि नेपाल छोडेर लन्डन पुगे । मदनशम्शेरको पनि छिट्टै मृत्यु भएपछि रानी जगदम्बा कुमारीदेवीले दरबारको अधिकांश भाग कुनै बिक्री गरे कुनै दान गरिन । मदनशम्शेरका छोरा गोपालशम्शेर पनि देहरादून बस्न गए ।



अहिले श्री दरबारको मुख्य भवनमा मदनशम्शेरका सन्ततिहरु बसेका छन् तर धेरै जसो जग्गाहरु बेचिइसकेको छ र त्यो आसपासको टोललाई श्री दरबार टोल भनिन्छ । मदन पुरस्कार पुस्तकालय र साझा यातायातको कार्यालय पनि यहि टोलमा रहेको छ । हाल मदन पुरस्कार पुस्तकालय यही श्री दरबारमा नै रहेको छ ।

नारायणहिटी दरबार
ढोकलसिंह बस्न्यातको घर रहेको स्थानलाई चौतरिया फत्तेजङ्ग शाहले जबर्जस्ती आफ्नो निवास बनाए । कोत पर्वमा चौतारिया सबैको निर्मुल भएपछि जङ्गबहादुरले आफ्ना भाइ रणोद्विपसिंहको लागि दरबार बनाईदिए । वि.सं. १९३४ मा रणोदिप प्रधानमन्त्री हुँदा यहि दरबारमै शपथ लिए र यसलाई प्रधानमन्त्री निवास बनाए । वि.सं.१९४२ मंसिर ९ गते रणोद्विपको हत्या यही दरबार भित्र भयो ।
यसपछि प्रधानमन्त्री बनेका वीरशम्शेरले नेपाली आर्किटेक्ट जोगविर स्थापितको डिजाईनमा नारायणहिटी दरबार बनाई आफ्ना ज्वाँई पृथ्वीवीरविक्रम शाहलाई बस्ने व्यवस्था मिलाए । त्यसरी यो दरबार शाह राजाहरुको दरबार बन्न पुग्यो ।


यस दरबार परिसरमा नारायणको मन्दिर हुनु र ढोका (जय नेपाल सिनेमा घर तर्फको ढोका) मा हिटी (धारा) भएकोले यस दरबारको नाम नारायणहिटी दरबार रहन गएको हो ।
हालको नारायणहिटी दरबारको स्वरूप राजा महेन्द्रले वि.सं. २०२० सालमा बनाउन लगाएका थिए जुन निर्माण सम्पन्न हुन ६ वर्ष लागेको थियो । मुलुकबाट राजतन्त्र हटेसँगै यस दरबारलाई संग्रहालयमा रूपान्तरण गरिएको छ ।

नेपालको राजाहरूको १३५ वर्षसम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै वि.सं. २०६५ असार १ गते राजदरबार वाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए । त्यसअघि भवनको मुल खबामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।



अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्तास्थित एसियाकै सवैभन्दा ठूलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए ।


त्यसभन्दा त्रीभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमैँ जन्मेका हुन् ।नारायणहिटी दरबारमा जम्माजम्मी ५२ वटा बैठक-कक्षहरू छन् । तीमध्ये वि.सं. २०६८ सम्म १९ वटा कक्षहरू मात्र सर्वसाधारणका लागि खुला गरिएका छन् ।

हाललाई खुला गरिएको मध्ये त्रीभुवन सदन अर्को आकर्षणको केन्द्र हो । राजा त्रीभुवनको निवासका रूपमा रहेको यस भवनमा वि.सं. २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड भएको थियो । त्यस घटनामा राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवार, अधिराजकुमार धीरेन्द्र शाह लगायत राजपरिवार सदस्यहरूको हत्या भएको थियो। वि.सं २०६१ सालमा त्यो भवनलाई पूर्ण रूपमा भत्काइयो । अहिले त्यस भवनको जगमा इँटको गारो लगाइएको छ ।

चार बुर्जा दरबार
वीरशम्शेरले आफ्नो लागि बनाएको यो दरबार तयार भएपछि छोरा रुद्रशम्शेरलाई हस्तान्तरण गरेपनि रुद्रशम्शेर बाबुको मृत्युपछि वि.सं. १९५९ बाट मात्र बस्न थालेका थिए । तर वि.सं. १९६२ को आगलागीले यसलाई ध्वस्त बनाएपछि फेरी जोगविर स्थापितलाई नै डिजाईनिङ गर्न लगाई पुनः तयार भएपछि त्यही भवनमा बस्न थाले । चार कुनामा चार बुर्जा भएकोले यसलाई चार बुर्जा दरबार भन्ने गरिएको थियो ।



वि.सं. १९९० मा जुद्धशम्शेरले रुद्रशम्शेरलाई पाल्पा धपाएपछि यो दरबार छोरा बहादुरशम्शेरलाई दिए । बहादुरशम्शेरको हकमा आएपछि यो दरबारको नाम बहादुर भवन रहन गयो । यस दरबारमा नेपालको पहिलो अत्याधुनिक होटेल रोयल होटेल खुलेको थियो । नेपाल सरकारको मातहतमा आएपछि यस दरबारमा हाल निर्वाचन आयोगको कार्यालय रहेको छ ।

भाटभटेनी दरबार
वि.सं. १९५० मा वीरशम्शेरले छोरा धर्मशम्शेरको लागि यो दरबार बनाउन लगाएका थिए । वि.सं. १९५७ मा वीरशम्शेरको मृत्युपछि धर्मशम्शेर यस दरबारमा बस्न थाले । धर्मशम्शेरको मृत्युपछि सबै सम्पत्ती धर्मछोरा (adopted son) एकराजशम्शेरको नाममा हस्तान्तरण भयो । वि.सं. १९९० को भूकम्पमा यो दरबार जीर्ण भएपछि उनका सन्ततिहरुले यस जमिनको कतिपय हिस्सा बिक्री गरे । बाँकी भागमा एकराजशम्शेरकै परिवार बस्दै आएको छ ।


 

जावलाखेल दरबार
यो दरबार वीरशम्शेर ले १९५४ मा बनाएका थिए । वास्तुकलाविद् जोगवीर स्थापितले महल तयार गरिदिए पछि वि.सं. १९५४ मा जुद्धशम्शेर यस महलमा बस्न थाले । वि.सं १९८९ मा प्रधानमन्त्री बनेपछि जुद्धशम्शेर सिंहदरबारमा सरे । वि.सं १९९० मा भूकम्पले भत्केपछि मर्मत गराई छोरा सूर्यशम्शेरलाई दिए । सूर्यशम्शेरको मृत्युपछि यो महल उनका छोरा युवराजशम्शेरको मातहतमा आयो । वि.सं २००७ को प्रजातन्त्रपछि युवराजशम्शेरले Club Rondeau खोले । यो क्लब त्यसबेलाको अति चर्चित मनोरञ्जन गर्ने स्थल बन्यो । यहा जुवा, रक्सी, नाचगान र पार्टी दिनहुँ हुने गर्थ्यो । पछि विस्तारै क्लबबाट घाटा लाग्न थालेपछि यो दरबार युवराजशम्शेरले नेपाल सरकारलाई नै बिक्री गरे । यो दरबार र यसले चर्चेको करिब ७२ रोपनी जमिनमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान रहेको छ।


 

लाजिम्पाट दरबार 
पाण्डेहरूको पुरानो थलो रहेको हालको लाजिम्पाटमा वीरकेशर पाण्डेको दरबार थियो । १९०३ भाद्र ३१ को कोतपर्वमा वीरकेशर पाण्डेको हत्या भएपछि यस दरबारमा "काजीमामा" अर्थात कर्णेल त्रीविक्रमसिंह थापाले भोगचलन गरे । १९३१ मा काजीमामालाइ जङ्गबहादुरले काशी पठाइदिएपछि यो दरबारमा उनका आफन्तहरूको बसोबास रह्यो ।




१९४२ मा रणोद्वीपको हत्या पछि सत्तामा पुगेका वीरशम्शेरले भाइ जीतशम्शेरको लागि वास्तुकलाविद् जोगवीर स्थापित (कतै कतै कुमार नरसिंह राणा पनि लेखिएको छ) लाई नै दरबार बनाउन लगाए । दरबार बनिसकेपछि यो दरबारको नाम लाजिम्पाट दरबार रहन पुग्यो । निःसन्तान जीतशम्शेरको १९७० मा मृत्यु भएपछि यो दरबार जुद्धशम्शेरले आफ्ना छोरा अग्नीशम्शेरलाई दिलाए । त्यसपछि यो दरबारको नाम अग्नीभवन रह्यो । अग्नीशम्शेरको निवास रहँदा नै पूर्व महारानी ऐश्वर्य, पूर्व महारानी कोमल तथा पूर्व अधिराजकुमारी प्रेक्षाको जन्म यहि दरबारमा नै भएको थियो । अग्नीभवनको एक भाग वि.सं २०२१ सालमा व्यापारी रामशंकर श्रेष्ठले किनेर यसमा शंकर होटल खोले भने अर्को भागमा नेपाल सरकारको आन्तरिक राजश्व कार्यलय रहेको छ ।

यो पनि  लाजिम्पाटको नामाकरण कसरी भयो होला ?

यहाँ उल्लितित विवरणमा कुनै त्रुटी फेला पार्नुभएमा कमेन्ट गरि सहयोग पाउँ । 

सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू
विकिपिडिया
मदन पुरस्कार पुस्तकालय
पुरूषोत्तम शम्शेर जबरा
सुनिल उलक
कमलरत्न तुलाधर

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर