पढ्न लाग्ने समय : 5 मिनेट
आज क्वाति पुन्हि (पूर्णिमा) सँगै ब्यां जा नकेगु दिं (भ्यागुतालाई खाना खुवाउने दिन) पनि हो । नेवा: समुदायले यसअघि लगाएको आ-आफ्नो धानबाली खेतमा गई ब्यां (भ्यागुता)लाई खाना राखिदिने परम्परा रहि आएको छ ।
नेवाः समाजमा किन भ्यागुतालाई भात खुवाइन्छ ?
नेवाः जाती नेपाः उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणालीसँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मंसिरतिर अन्न भित्राइन्छ । घटिमा ३५०० वर्ष अगाडि नै नेवाः जाती नेपाः उपत्यकामा आफ्नो बर्चस्व कायम गरेर वैदिककाल पूर्वका संस्कृति विकास गर्न सफल भएको देखिन्छ । त्यस मध्ये मनसुन वर्षा प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण साँस्कृतिक चलन भनेको भ्यागुतालाई भात खुवाउने परम्परा हो ।
असारमा बाली लगाएपछि बालीमा किरा फट्याङ्ग्रा लागेर बाली बिग्रिने सम्भावना रहेको हुन्छ । भ्यागुता यस्तो जीव हो जसले ती किरा फट्याङ्ग्रा खाएर किसानहरुलाई बाली बिग्रनबाट बचाँउछ । त्यसैले भ्यागुताको यस्तो गुण सम्झेर भ्यागुतालाई भात खुवाउने चलन सुरु भएको भन्नेमा सत्यता बढी हुन सक्छ यस्तै भ्यागुतालाई भात खुवाउने चलन पछाडि एउटा दन्त्य कथा प्रख्यात रहेको छ:
कुनै बेला कुनै एक नेवाः वस्ती आसपासमा एक दानव/ राक्षस बस्दथ्यो । उसको काम भनेकै त्यो बस्तीमा साँझ बिहान गएर त्यस बस्ती भित्रका बालबच्चाहरुलाई अपहरण गरेर तिनीहरुलाई मारी तिनीहरुको आहार गर्ने थियो । त्यस बस्तीका मान्छेहरु यसबाट निकै त्रसित थिए र त्यस दानवसँग छुट्कारा पाउन चाहन्थे । त्यस दानवलाई मार्न अनेकौं प्रयास गरे तर सकेनन् । असार श्रावणको धान रोप्ने बेला धान रोप्न सबै परिवार खेतमा गइरहेको समयमा त झन् त्यो दानवलाई बस्ती भित्र गएर त्यहाँ खेल्दै गरेका बच्चाबच्चीहरु टिप्न सजिलो थियो । यसरी मान्छेहरु निकै भयभित भएर बाँचिरहेका थिए । धन्न मान्छेहरुको यो विरह ती खेतबारीमा चहार्दै उफ्रने भ्यागुताहरुले महसुस गरिरहेका थिए र तिनीहरुमध्ये बुद्धिमान एक भ्यागुताले त्यो दानवलाई मार्नका लागि एउटा उपाय निकाल्यो ।
एकदिन सदा झैं त्यो बस्तीका बालबच्चाहरु खोज्न त्यो दानव खेतबारीको बाटोबाट हिँडिरहेको थियो । त्यस बुद्धिमान भ्यागुतोले उफ्रदै त्यस दानवको अगाडि पुगेर ठूलो स्वरले कता जान लागेको भनेर सोधे । दानवले मान्छेहरुको बच्चा टिप्न जान लागेको भनेर जवाफ दियो । "हरे, मान्छेहरुको बच्चा पो खान हिँडेको रहेछ यो कायर दानव त, बहादुर नै भए म जस्तो सानो भ्यागुतालाई टपक्क टिपेर खान सक्छौ र ? " भनेर त्यस भ्यागुताले त्यो दानवलाई गिज्याउन थाल्यो । रिसमा चुर्लुम्म डुबेर त्यस दानवले भ्यागुतोलाई आफ्नो बाटोबाट हट्न धम्की दियो। तर भ्यागुताले उक्साइरह्यो । निहुँ नै खोजेको हो भनेर हतन्नपत त्यस दानवले त्यो भ्यागुतालाई टिप्न आफ्नो हात बढायो, त्यत्तिकैमा पछाडिका दुईटा खुट्टा तन्काएर भ्यागुता उफ्रेर त्यहाँबाट अर्को ठाउँमा पुग्यो । दानवले फेरि टिप्न खोज्यो तर फेरि त्यो भ्यागुता उफ्रेर अगाडि बढ्यो । दानवको रिस झन् चढ्दै गयो, आफुलाई सम्हाल्न सकेन्ँ । भ्यागुतो भने झन् झन् गिज्याउदै रमाउँदै थियो । दानवले आफ्नो रिस काबुमा राख्न सकेन् र लछारपछार गर्दै त्यो भ्यागुतालाई टिप्न संघर्षरत थियो । चतुर भ्यागुताले त्यसरी उक्साउँदै खेतको दलदल हिलो भएको ठाउँमा त्यस दानवलाई लग्न सफल भयो । भ्यागुताले त्यस दलदल हिलो पार गर्न सक्यो तर त्यो दानव भने त्यसैमा दबिएर फस्यो । दानवले हिलोबाट उम्किन यताउता चलेर प्रयास गर्न खोज्यो तर झन् झन् दबिएर जिउ जम्मै हिलो मुनि पसेर टाउको मात्रै देखिने अवस्थामा पुग्यो । आफ्नो चलाखीपन सफल हुन खोजेको देखेर छिटो छिटो उफ्रँदै त्यो भ्यागुता त्यस बस्तीका मान्छेहरुलाई त्यो दानव हिलोमा दबिएको कुरा सुनाउन गयो । मान्छेहरु खुशी हुँदै सबैले छ्वाली बालेर त्यो दानव भएको ठाउँमा गएर आगो बालेर अन्ततः दानवलाई मार्न सफल भए ।
यो दिन थियो श्रावण कृष्ण चतुर्दशीको दिन यानी गथामुंगको दिन । यसै घटनालाई याद गरि नेवाः समुदायहरु गथामुंग पर्व मनाउन थालेको भनिन्छ जहाँ प्रत्येक नेवाः घरबाट छ्वाली बालेर नजिकैको दोबाटो यानी 'छ्वास' सम्म बलेको छ्वाली बिसर्जन गरी भुत भगाउन जानुपर्छ । त्यस घटनापछि सबै मानिसहरूले त्यस भ्यागुताप्रति कृतज्ञ भई १५ दिनपछि पूर्णिमाको बेला भ्यागुतालाई ८४ व्यञ्जन राखेर भात खुवाउने परम्पराको विकास गरे जुन अहिले सम्म कायम हुँदै आएको छ पनि भनिन्छ । गथामुंग देखि गुंला महिनाको प्रत्येक दिन फेरि लाखे नचाउने परम्पराको पनि विकास भयो जुन लाखे त्यही पराजित दानवको प्रतिकात्मक स्वरुप हो । लाखे नचाउनुको विभिन्न कारण मध्ये एउटा मान्छेहरुमा डर पैदा गर्नु हो पनि भनिन्छ किनकी मान्छेहरुले डराएपछि मात्रै जीवनमा सजक सतर्क भएर बाँच्न सक्छन् र कुशल पुण्य समयमै सञ्चय गर्न सक्दछन् ।
यसरी गुंला महिनाको पूर्णिमाको बेला भ्यागुताले दानवलाई पार लगाएको घटना सम्झी भ्यागुतालाई भात खुवाउने चलन विकास भएको हो भन्ने विश्वास गरिन्छ ।
सन्दर्भ सामाग्री
अनिल तुलाधर
हिमाल खबर
बोसिगाउँ दबु
सामाजीक सञ्जाल