मुग्लिङ फाँटको पुल

पढ्न लाग्ने समय : 5 मिनेट

काठमाण्डाैबाट सुन्दर नगरी पोखरा पुग्न वि.सं २०१० साल अगाडिसम्म केबल पैदल मात्र सम्भव थियो । यसरी पैदल नै हिँड्नु परे तापनि हिँडेर पोखरा पुग्ने पहिलो विदेशीमा जापानी भिक्षु इकाइ कावागुचीको नाम सबैभन्दा पहिले आँउछ । उनले वि.सं १९५५ को चैत्र ४ गते पोखरामा पाइला टेकेका थिए । पोखरामा पुगेपछि पोखराको सुन्दरताको वर्णन गर्दै उनले Three Years in Tibet मा लेखेका छन् "In all my travels in the Himalayas I saw no scenery so enchanting as that which enraptured me at Pokhara" । (हिमालयको यति लामो यात्रामा मैले पोखरामा जस्तो मनोरम दृश्य कहिँ भेटिन, जसले मलाई यति मन्त्रमुग्ध बनाइदियो ।")


भिक्षु इकाइ कावागुची

हुन त यस अगाडि जङ्गबहादुरको समयमा पनि फेवातालको पानीबाट सिँचाइ गर्न सकिने विषयको सर्वेक्षण गर्ने बेलायती इञ्जिनियर पोखरा पुगेका थिए भनिन्छ । तर यसको कुनै ठोस प्रमाण भेटिँदैन । तर कावागुची पछि चन्द्रशम्शेरको समयमा वि.सं १९७८-७९ तिर बेलायती इतिहासकार पर्सिभल ल्याण्डन मुक्तिनाथबाट फर्कँदा पोखरा भएर आएका थिए । नेपालमा प्रजातन्त्र आगमन लगत्तै पोखरा पुगेका स्वीस भूगर्भशास्त्री टोनी हेगनको सबैभन्दा मनपर्ने ठाँउ नै पोखरा थियो । त्यसैले पनि होला उनका छोरी क्याट्रिनाले पनि नेपाल आउँदा जसरी पनि एकपटक पोखरा पुग्ने गर्दछिन् ।

देशमा प्रजातन्त्रको आगमन पछि वि.सं.२००८ सालको शुरुतिर त्यसबेलाका गृहमन्त्री बिपी कोइराला तथा उद्योग तथा वाणिज्य मन्त्री गणेशमान सिंहले महावीर शम्शेर राणाको निजी विमान कम्पनी हिमालयन एभिएशनको डकोटा विमानबाट पोखरा विमानस्थलको परिक्षण उडान गरेका थिए । यसपछि नै पोखरा हवाई यातायातले राजधानीसँग जोडिन पुगेको थियो । वि.सं. २००९ सालमा व्यवसायिक उडानको शुरूवात हुँदा पहिलो यात्रीको रुपमा राणा इतिहासकार पुरुषोत्तमशम्शेर राणा ९ रुपैँया भाडा तिरेर पोखरा पुगेका थिए ।

यसरी हवाई यातायातबाट जोडिएको पोखरा सडक सञ्जालबाट जोडिन भने झण्डै दुई दशक लाग्यो । त्रिभुवन राजपथको निर्माण भएपछि सडक सञ्जालबाट काठमाडौं उपत्यका भारतीय भूमिसँग जोडिन पुगेपछि राजा महेन्द्रले पोखरालाई पनि काठमाडौ उपत्यकासँग जोड्ने परिकल्पना गरिसकेका थिए ।

वि.सं. २०१८ सालमा पूर्वपश्चिम राजमार्गको शुभारम्भ गर्दा पोखरालाई पनि सो राजमार्गसँग जोड्नको लागि त्यो बेलाको खस्यौली (बुटवल) लाई रोजिसकेको थियो । वि.सं. २०२० मा एसपीआर योजना अघि बढ्यो । भारतीय सहयोगमा एसपीआर (सुनौली-पोखरा राजमार्ग) बन्ने भए पछि चीनियाँ सहयोगमा नौबिसे-पोखरा सडक बनाउने निर्णय भयो ।

वि.सं. २०२४ मा सडक निर्माणको शुरुवात भएको यस राजमार्गको झण्डै मध्य बिन्दुमा रहेको दारेचोकको त्रिशुली र मर्स्याङ्दीको संगम नजिकै बनाउनु पर्ने पुल नै सबैभन्दा कठिन थियो । अन्ततः दुइ नदीको संगमको नजिकै मुग्लिङ फाँटको पश्चिममा पुल बनाउने निधो भएको थियो ।


मुग्लिन पुल

वि.सं. २०३१ सालमा तयार भएको ४१० फुट लामो पुलको निर्माण झोलुङ्गे पुलको रुपमा भएको थियो । ४० मिलlमीटर मोटा १९ वटा बलिया फलामे तारका लठ्ठाको सहायताले दुवैतर्फ लट्काएर यो पुललाई बनाइएको थियो । यसको लागि खोलाको दुवैतर्फ ४६.५८ फीट अग्लो दुइ टावर बनाइएको छ । पुलको भुँइ भने २७.५ फुट चौडाइको बनाइएको थियो । जसमा काठका मोटा मोटा बिमहरु ओछ्याएर बनाइएको थियो । यसको माथि पिच गरिएको थियो । पछि मर्मतको क्रममा काठ निकालेर त्यहाँ स्टिल हालियो । पुलमा मानिसहरु हिँड्नको लागि दुवैतर्फ करिब ३.५ फुट छोडिएको छ ।


मुग्लिन पुल

यस किसिमको पुल बलिया भए पनि मर्मत भने केहि बढी खर्चालु हुने गर्दछ । करिब ४५ वर्ष हजारौँ गाडीहरुको बोझ झेलेको यो पुलले भने केही समय अगाडिदेखि विश्राम पाएको छ । यहि पुल नजिकै बनाइएको नयाँ घुम्रे पुल (Arch Bridge) ले यस पुललाई विश्रान्ति दिएको छ ।

वि.सं. २०३१ सालमा नौबिसे-पोखरा सडक निर्माण पुरा भएपछि वि.सं.२०३६ सालमा चीनिँया सहयोगमा नै गोरखा-नारायणगढ सडक पनि बनायो । यो सडक बनेपछि भने मुग्लिन बजारीकरणा तर्फ लाग्यो । गोरखाबाट बसाँइ सरेर मुग्लिनमा व्यवसाय गर्नेहरु बढ्न थाले । मुख्यतयाः होटल व्यवसायतर्फ सबैको रुची बढ्न थाल्यो । हेर्दा हेर्दै मुग्लिङफाँट मुग्लिन बजारमा परिणत भयो ।

प्रस्तुति सुनिल उलक

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।