सुर्खेतका वैज्ञानिक दलवीर सिंह कामीको कथा

पढ्न लाग्ने समय : 18 मिनेट

वि.सं २०३० बैशाख २० गते बिहानै बादेपिपलको बागेश्वरी विद्यालय नजिकैको चौतारोमा एक शव झुण्डिएको अवस्थामा भेटियो । धेरैले हत्या गरेर झुण्ड्याइएको भनेपनि कुनै छानबिन नै भएन, यथेष्ट प्रमाण नहुँदा आत्महत्या भनियो । बादेपिपलमा भेरी नदीमाथि पुल बनाउने काममा गएका थिए दलवीरले झुण्डिएर मर्नपर्ने कारण उस्तो थिएन् । तत्कालिन जिल्ला पञ्चायतमा सब-ओभरसियरका जागीरे उनको सदैव काममा लगन थियो । त्यसैमा खुशी थिए । सामाजिक काम भन्दा अरु उनलाई कुनै चिन्ता नै हुँदैनथ्यो । तर उनले शत्रुहरु भने मनग्गे कमाएका थिए । पढेलेखेका नभए पनि उनको चर्चा निकै हुने गर्दथ्यो । राजाले नै उनलाई भेटेपछि त उनको भेटघाट अञ्चलाधीश र सेनाका गुल्मपतिसम्म हुन्थ्यो । त्यसैले पनि उनका दुश्मनहरु भित्र भित्रै जलेका थिए ।

अनपढ भएपनि राजाले नै उनलाई जिल्ला पञ्चायतको सब-ओभरसियरको जागीर दिलाएपछि उनको काम पुलको रेखांकन तथा अन्य निर्देशन उनकै रेखदेखमा हुन्थ्यो । सुर्खेतबाट नेपालगञ्ज जोड्ने सडकको रेखांकन पनि उनले नै गरेका थिए । भनिन्छ, यहि सडकको विषयमा उनको केही व्यक्तिहरुसँग विवाद भएको थियो । केही व्यक्तिले आफ्नो स्वार्थमा सडकको रेखांकन परिवर्तन गर्न दबाब दिएका थिए । तर दलवीरले सो सडकको महत्व, दुरी तथा खर्चको विविध कारणले ति व्यक्तिहरुको दबाबमा काम गर्न अस्वीकार गरेका थिए । यसको केही समयपछि नै उनको मृत शरिर झुण्डिएको अवस्थामा भेटियो । धेरैले यस किसिमको मृत्यु हुँदा यो आत्महत्या होइन हत्या हो भन्ने आवाज उठाए । तर यसको कुनै छानबिन नै गरिएन । शायद अर्को पक्ष निकै पहुँचवाला थिए वा उनीहरुको हैकम बढी थियो होला ! तसर्थ सबुत प्रमाणको अभावमा आत्महत्याको नाम दिएर यो मृत्यु प्रकरणलाई चुपचाप बन्द गरियो ।

बाबुको मृत्युको समय दलवीरको जेठी श्रीमती तिरको छोरा कानपुरमा थिए । कान्छी तर्फका जेठो छोरा श्यामलाल भर्खरै सेनामा भर्ति भएका थिए । केवल एक महिनामात्र भएको हुँदा तालिममा थिए ।

राजा वीरेन्द्रको सुर्खेत भ्रमणमा आदित्यशम्शेर जबरा सुर्खेतमा रहेको ४ नं बाहिनीपति थिए। राजाको स्वागतको लागि मञ्च सजाउने काम तथा राजालाई चढाउने विशेष उपहार तीन महिना लगाएर दलवीरले नै बनाइदिएका थिए । त्यसको गुन बापत होला बाहिनीपति आदित्यशम्शेरले दलवीरको छोरा श्यामलाल उमेरले सानै भएपनि सेनामा भर्ना गराइदिएका थिए । २०२९ को चैतमा श्यामलाल सेनामा भर्ति भए । २०३० को बैशाखमा दलवीरको अप्रत्याशित मृत्यु भयो । केवल ५२ वर्षको उमेरमा नै उनले यो संसारबाट बिदा लिनुपर्यो ।

वि.सं १९७८ सालमा दैलेखको रतीखोला (हाल गुराँस गाउँपालिका अन्तर्गत वडा नं ४) मा जन्मनु भएका दलवीर सिंह कामी पेशाले आरन चलाउने तथा फलामका सामानहरु बनाउने गर्दथे । बुबाको साथ दैलेखबाट सुर्खेत झरेका थिए । सुर्खेतमा त्यतिबेला औलोको प्रकोप थियो । सुर्खेत झरेपछि पदमपुरमा बस्न थाले । बाबुको साथ आरन चलाउने उनि दिमागले तेज थिए । कुनैपनि नयाँ वस्तुहरु बनाउन तम्सन्थे । दैलेखमा नै पहिलो विवाह गरेका दलवीरको एक छोरा र एक छोरी सहित श्रीमती दैलेखमा नै रहेका थिए । आफू कामको सिलसिलामा सुर्खेत रहँदा सुर्खेतमा नै मोतीसरासंग दोश्रो विवाह गरे । दोश्रो विवाहपछि तीन छोराहरु र एक छोरीको जन्म भयो । उता दैलेखमा पनि अर्को एक छोरीको पनि जन्म भयो । यसरी दलवीर चार छोरा र तीन छोरीका बाबु बनेका थिए ।

अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका दलवीरको आफ्नै आरन थियो । जहाँ फलामका कामहरु गर्दथे । विभिन्न सामग्रीहरु बनाउँथे । गाउँको कामीको काम नै बाउसो, कोदालो, हसिँया आदि बनाउनु थियो । उनको कामप्रति लगन र मेहनती थियो । हरेक साल जसो वर्षातमा उर्लदो भेरी नदीलाई देखेका उनलाई गाउँलेको समस्या नजिकबाट नियालेका थिए । वि.सं २०१९ साल तिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनि धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । उनलाई त्यस नदीमा एउटा पुलको आवश्यकता लाग्यो । उनले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै आवश्यक सामग्रीहरु आफैँले तयार गर्न थाले । लामो फलामे साङला बनाए, छोटा तार तथा अन्य सामग्रीसहित पुलका सामग्री तैयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो साङ्लोलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे । हिँड्नको लागी काठका साना साना फल्याकहरु लहरै बाँधे । दायाँबायाँ मानिस पुलबाट नखसोस भनेर त्यहाँ पनि बलियोसँग तारहरु बाँधे ।

सुर्खेतको रानीघाटमा पहिलो पुल बनाए । यसको केही समय पछि २०२० सालको शुरुवातमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिब ४३५ फुट लामो झोलुङ्गे पुल तयार भयो । सुर्खेतको रामघाटमा पनि अर्को पुल बनाए । यसरी उनलाई पुल बनाउने पागलपन नै चढ्यो । चिगाड खोलामा पनि अर्को झोलुङ्गे पुल तयार बनाए । हरेक पुल बनाउँदा स्थानिय जनताहरुले पनि उनलाई साथ दिन्थे तथा हौसलापनि दिन्थे । पुल तयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो । स्थानिय जनताहरु खुसी भए ।

२०२० सालमा राजा महेन्द्रको सुर्खेत सवारीको कुरा उठ्यो । सडक यातायातले नजोडिएको सुर्खेतमा राजाको आगमनको लागी विमानस्थल बनाउने तैयारी भयो । सेनाले पनि साथ दिने तथा जनताहरुले पनि जनश्रमदान गर्ने कुरा उठ्यो । राजाको सवारी भनेपछि सबै एकसाथ लागे । सडक सञ्जालले नजोडिएको सुर्खेतमा जमिन सम्याउनको लागि रोड रोलर ल्याउन सकिने कुरै भएन । त्यसपछि रोलर बनाउन दलवीर आफैँ लागे । उनको आफ्नै दिमाग र मेहनतले सुर्खेत विमानस्थल सम्याउने रोलर तयार भयो । मोटो सिमलको रुख काटेर त्यो सिमलको मुढालाई अगाडिबाट केही मानिसले तान्ने र केही मानिस त्यस मुढामा तौल बढाउन चढ्न मिल्ने बनाए । यसरी आफ्नै किसिमको रोलर तयार गरेका थिए । यो रोलरले जमिन सम्याउन निकै सहयोग पुर्यायो । उनले बनाएको यो रोलरलाई शाही नेपाली सैनिक गुल्मले धेरै पछिसम्म पनि सुरक्षित सम्हालेर राखेको थियो । विमानस्थलको माटो ओसारपसार गर्न पनि भैसीको छालालाई सिलाएर ठूलो ठूलो थैला बनाएर त्यसमा माटो भरेर ओसार्ने काम गरिएको थियो ।

राजाको सुर्खेत भ्रमणमा सेनाका गुल्मपतिले राजालाई दलवीरको कामहरु तथा उनले तयार गरेको रोलर तथा झोलुङ्गे पुलहरुको बारेमा सुनाइएछ । यस किसिमको अनौठो प्रतिभा भएका स्थानिय वैज्ञानिकको बारेमा राजाले जानकारी पाएपछि राजाले दर्शनको लागि दलवीरलाई बोलाइयो । दर्शनभेटमा राजा महेन्द्रले रु. ४०० बक्सिस दिए । राजाको दर्शनभेट तथा बक्सिस पाएपछि दलवीरमा अझ बढि उत्साह थपियो ।

उनको प्रतिभा र लगनशिलता देखेर राजाले सुर्खेतको विकासमा सहयोग पुग्ने भन्दै दलवीरलाई जिल्ला पञ्चायतमा जागीर दिलाइदिए । केवल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेशपछि उनको काम र सीप अनुसारको काम दैलेख जिल्ला पञ्चायतले उनलाई सव-ओभरसियरको जागीर लगाइदिए । पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुल सम्बन्धी कामको थियो । सबै काममा केवल पढाइले मात्र हुँदैन । अनुभव र ज्ञानपनि हुनुपर्छ । यो दुवै दलवीरको साथ थियो । थिएन त केवल पढाइ थिएन । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए । तर इञ्जिनियर पढेकै थिएनन् । तर पनि सव-ओभरसियरको रुपमा जागीर पाए ।

सन् १९६० को सुरूवातदेखि नेपालमा अमेरिकी स्वंयसेवी दल पिसकोरका सदस्यहरू नेपाल भित्रिए । पिसकोरको आगमनको क्रममा २०२४ सालमा अमेरिकी विद्यार्थी एलेन फेयरबैंक सुर्खेतमा आइपुगे । पुल सम्बन्धी ज्ञान भएका एलेन सुर्खेतमा पुगेपछि दलवीरको साथीको रुपमा सँगै काम गर्न थाले । एलेनसँग रहँदा नै जिल्ला पञ्चायतका सव-ओभरसियर जागीरे भएपछि उनको निरिक्षणमा दैलेख जिल्लाको ढुङ्गेश्वर खोलाको झोलुङ्गे पुल, दैलेखकै चुप्रामा लोहोरी खोलाको झोलुङ्गे पुल, दैलेखकै छामघाट खोलाको शिरस्थानको झोलुङ्गे पुल, रावतकोटको किटुलामा पर्ने छामघाट खोलाको झोलुङ्गे पुल,  दैलेखको सिमानामा पर्ने लोहोरे खोलाको झोलुङ्गे पुल तथा दैलेखकै चोर खोलमा बनाइएको झोलुङ्गे पुलपनि बनाइएको थियो । छामघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुरपनि पुगेका थिए ।

सुर्खेतमा अमेरिकी नागरिक एलेनले चार वर्ष दलवीरसँग बिताए । दलवीरको क्षमता देखेर एलेनपनि निकै चकित भएका थिए । एक पटक एलेनको टाइपराइटर बिग्रेर निकै दुःख दियो । दलवीरले म एक पटक हेरिदिन्छु भने । एलेनलाई लागेको थिएन दलवीरले टाइपराइटरको मर्मत गर्न सक्छ भन्ने । दलवीर एकैछिन टाइपराइटरमा घोत्लिए । त्यसपछि एउटा दाँती देखाउँदै भने यसको एउटा दाँत भाच्चिएको छ त्यसैले काम गरेको छैन् । त्यसपछि आरनमा गएर उस्तै नयाँ दाँती बनाएर टाइपराइटरमा फिट गराइदिए । टाइपराइटर नयाँ जस्तै काम गर्न थाल्यो ।

बिहान ९ बजेपछि जागीरको तैयारीमा लाग्नु पर्ने हुँदा गाँउघरका बिग्रेका सामानहरु उनले बिहान ६ बजे देखि ९ बजेसम्म बनाउन बस्दथे । पछि अर्का पिसकोर भोलेन्टियर बब डेभिस आएका थिए । उनको साथ पनि दलवीरले पुल बनाउने काममा रहे ।

जिल्ला पञ्चायतमा जागीरे रहँदा उनकै निगरानीमा सुर्खेत देखी दैलेख हुँदै जुम्लासम्मको मोटर बाटोको रेखांकन पनि भयो । सुर्खेत-नेपालगञ्जको मुख्य सडकको रेखांकनको काम पनि पुरा गरेका थिए ।

यो पनि पढ्नुहोस् प्रेरणादायी यथार्थ, २०२० सालमा आरनमा फलाम पिट्ने दलवीर सिंहले भेरी नदीमाथि ४३५ फुटको पुल बनाए

यसरी जागीरे भएपछि दैलेख र सुर्खेको विभिन्न स्थानमा पुग्थे । फुर्सदमा घरमा रहदाँपनि उनी केही न केही बनाउने काममा लागिरहन्थे । फलामका सामग्री देखी लिएर सुनका गहनासम्म बनाउन जानेका थिए । सेनाको बन्दुकदेखी लिएर सरकारी कार्यालयमा बिग्रेका टाइपराइटर, पेट्रोमेक्स पनि बनाउन जानेका थिए । आधुनिक इलेक्ट्रिक सामानहरुको साथै घडी,  रेडियो र सेनाको बिग्रेको आकाशवाणी सेटपनि दलवीरको हात पर्नासाथ चल्न, बज्न थाल्दथे ।

एकपटक दैलेखको ताराघाटमा पुगेको सेनाको हेलिकोप्टर बिग्रेर उडाउन सकिएन् । त्यस दुर्गम स्थलमा कोही इञ्जिनियर वा दक्ष मेकानिक्स भेट्ने सम्भावना थिएन् । सेनाका उच्च पदस्थ अफिसरले बहुप्रतिभा भएका दलवीरलाई सम्झिए । उनलाई ताराघाटमा बोलाए । दलवीरको बुद्धिमताले वा दक्षताले वा संयोगले हेलिकप्टर चालु भयो । उडान गरेर सुर्खेत गुल्ममा ल्याइयो । यसपछि सैनिक गुल्मभित्र हेलिकप्टर पनि बनाउन सक्ने दलवीर भनेर नाम कहलियो ।

नयाँ नौलो काम गरिरहनु हुने दलवीरले सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल बनाएर चलाएर देखाएका थिए । ज्वाला दल गुल्म,  दैलेखमा कुनै पनि सामानको मर्मत गर्नुपरेमा पनि दलवीरलाई नै खोजिन्थ्यो । दलवीरको हात परेपछि सबै जसो सामग्री बन्थ्यो पनि ।

दलवीरको श्रीमती मोतीसरालाई एलेनले दिदी बनाएका थिए । भाइको अचानक देहान्त भएपछि रोइरहेकी मोतीसरालाई एलेनले सम्झाउदै भनेका थिए, तपाँई भाइ गुमेकोमा चिन्ता नगर्नु म तपाँईको भाइ जस्तै हो । अबको तिहारमा मलाई भाइटीका लगाइदिनु । नभन्दै मोतीसराले एलेनलाई टीका लगाइदिए । दिदी भाइको नाता कायम रह्यो । चार वर्ष सुर्खेतमा सँगै बिताएका एलेन पिसकोरको तालिम पछिपनि दुई पटक नेपाल आए । सुर्खेतमा दिदीको घरमा बसे । मिठो नमिठो जे पाक्यो खाए । दिदी मोतीसराको देहान्तपछि भने एलेन नेपालमा फर्केर आएका छैनन् ।


 

राजा महेन्द्रको स्वर्गारोहणपछि नयाँ राजा बनेका राजा वीरेन्द्रको पश्चिम नेपाल भ्रमण हुने भयो । जुम्लामा हेलिकोप्टरमा पुगेका राजा सुर्खेतमा केही समय बिताउने गरि सवारी हुने भयो । त्यसबेला सुर्खेत गुल्मका बाहिनीपति थिए आदित्यशम्शेर जबरा । आदित्यशम्शेर राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पनाति थिए । उनका बुबा मृगेन्द्रशम्शेर राणाकालमा शिक्षा विभागका डाइरेक्टर थिए भने बाजे बबरशम्शेर २००७ सालपछि पहिलो रक्षा मन्त्री बनेका थिए । आदित्यशम्शेरपछि राजा वीरेन्द्रका एडिसीको रुपमा कार्यरत रहेका थिए । साथै आदित्यशम्शेरका छोरा गौरवशम्शेर शाही नेपाली सेनाका सेनापति भए ।

नवराजाको सुर्खेत बसाइ हुने भएपछि गुल्मका बाहिनीपति आदित्यशम्शेर चिन्तित थिए । बाहिनीपति आदित्यशम्शेरले दलवीरलाई स्वागतद्वारको सजावत, स्वागत मञ्चको सजावत तथा राजालाई चढाउने उपहारको जिम्मा दिए । दलवीरले पनि सजावतको सम्पूर्ण काममा सहयोग गरे । साथै राजालाई दिइने उपहार दलवीर आफैले तीन महिना लगाएर बनाइदिए ।

राजाको फिर्ती सवारीपछि बाहिनीपति आदित्य शम्शेरले दलवीरलाई बक्सु दिए भने साथमा भर्खरै हुर्कँदै गरेका छोरा श्यामलाल सुनारलाई सेनामा भर्ना गराइदिए । छोरो सेनामा भर्ति भएपछि दलवीर अत्यधिक खुशी भए । यसरी अत्यधिक खुशियालीको क्षण लामो रहन पाएन् ।

जागीरकै काममा २०३० सालको बैशाखमा सुर्खेतदेखि पूर्वमा पर्ने बादेपिपलमा भेरी नदी माथि झोलुङ्गे पुल बनाउन निस्केका दलवीर बैशाख १९ गते राति साबिक झैं सुतेका थिए । बिहानै साथीहरुले हेर्दा ओछ्यानमा दलवीर थिएनन् । अचानक बिहानै हराएका दलवीरको खोजी भयो । खोज्दै जाने क्रममा बादेपिपलको नजिकै रहेको बागेश्वरी विद्यालय अगाडिको चौतारोमा झुण्डिएको अवस्थामा उनलाई भेटियो । निकै हल्लाखल्ला भयो । धेरैले आत्महत्या हुनै नसक्ने यो कसैले गरेको हत्या हो भने । पर्याप्त प्रमाणहरुको अभावका कारण छानबिन भएन । भर्खरै सेनामा जागीर खाएका श्यामलाल छुट्टी लिएर बुबाको काजकिरिया गर्न आइपुगे । साना साना भाइहरुलाई कसले सम्हाल्ने भन्ने चिन्ता थियो ।


कान्छी श्रीमती, छोरा तीर्थराज तथा दलवीर । 

सधैँ सरकारी काम भन्दै भागिरहने दलवीरको कुनै राम्रो गृहस्थ थिएन् । न त पक्की घर न त पर्याप्त खेत नै थियो । दुःखकष्टले दुईछाक टार्दै छोराहरु र श्रीमतीको लालनपालन गरिरहेका दलवीरको परिवारमा अचानक बज्रपात आइपर्यो । कसैले सल्लाह दिए, राजालाई बिन्तीपत्र चढाउने ।

दलवीरकी श्रीमती मोतीसरा सुनारले लेख्न जान्नेको सहयोगमा राजामा बिन्ती पत्र चढाइन् । छिट्टै नै राजाको आदेश अञ्चलाधीश कार्यालय आइपुग्यो, "दलवीरको परिवारलाई निःशुल्क घडेरी र घर बनाउन खर्च दिनु" । तत्कालिन अञ्चलाधीश ऋतुवर्ण तुम्बाहाम्फेले दलवीरका श्रीमती मोतीसरा सुनारलाई बोलाएर तत्कालिन जिल्ला पञ्चायतका सभापति तुलसी प्रसाद सापकोटालाई राजाको आदेश अनुसारको काम गर्न लगाए । सभापति तुलसी प्रसाद सापकोटाले सुर्खेतका सबै अड्डा प्रमुखहरुको अगाडि २०३१ सालको बैशाख १५ गते जिल्ला बैठकपछि घडेरी र घर बनाउने खर्च पाउनुहुनेछ भने । सरकारको आदेश अञ्चलाधीश सुनाउनु भएपछि तपाँईहरुले जसरी नि पाउनु हुन्छ भनिएको थियो । तर त्यो घडेरी र घर बनाउने रकम कहिल्यै पाइएन । अनपढ मोतीसराको जाली ल्याप्चे लगाउन लगाएर ति सभापति वा अन्यले घडेरी र रकम कुम्ल्याए या दिने सुरसार नै गरेनन् थाहै भएन् । दुःखमा आँशु बगाउदै मोतीसराले छोराहरु हुर्काइन् । सरकारबाट घडेरी र पैसो पाउने आशा बोकेकी मोतीसराको पनि २०५९ सालमा मृत्यु भयो ।


दलवीरका सन्तति

अहिले दलवीरको जेठी श्रीमतीबाट जन्मेको जेठो छोरा र जेठी छोरीको पनि निधन भइसकेको छ । कान्छी श्रीमतीबाट जन्मेका माहिलो र कान्छो छोराको पनि निधन भइसकेको छ । जेठो छोरा कानपुरमा गएको उतै विवाह गरेका र उतै देहान्त पनि भएको हुँदा उताको नाति नातिनीहरु बारे कुनै जानकारी छैन् । तर सुर्खेतमा बसोबास गर्ने कान्छी तिरको जेठो छोरा श्यामलाल तर्फबाट दुई नाति र एक नातिनी. माहिला छोराबाट दुई नातिनी तथा कान्छो छोरा तिर्थराजबाट चार नातिनी र एक नाति भएका छन् ।

साराशंमा, ५० वर्षपछि दलवीर सुर्खेतका नायक थिए भन्दा अनर्थ नहोला ।

प्रस्तुतीः सुनिल उलक

 

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर