पढ्न लाग्ने समय : 2 मिनेट
काठमाडौ उपत्यकामा बसोबास गर्ने मानिसहरुको धर्म परम्परा, संस्कृति तथा दैनिक जीवनसँग गाँसिएको विष्णुमती नदी कुनै बेला स्वच्छ र सफा थियो । मानिसहरु यहि नदीमा नुहाउँने गर्दथे कपडा धुने गर्दथे र पिउनको लागि पनि प्रयोग गर्दथे । समयकाल तथा उच्चतम जनसंख्या वृद्धी र चेतनाको कमीले आज विष्णुमती फोहोरको ढल समान भएको छ ।
यो नदी हिन्दुहरुको आस्थासँग जोडिएको बागमती नदीमा टेकु दोभानमा पुगेपछि मिसिएको छ । काठमाडौ उपत्यकामा बग्ने पवित्र बागमती नदीमा बागमती सहित सात मतीहरुको संगम हुने गर्दछ । यसैले बागमती नदीलाई सप्तमती पनि भन्ने गरिन्छ । सप्तमतीमा मणिमती (मनोहरा), इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भचाखुशी), रुद्रमती (धोबीखोला), विष्णुमती, बाग्मती पर्दछन् ।
शिवपुरीको उत्तर तर्फबाट बागमती नदी बहने गर्दछ । बागमतीको मुलद्वार भएको हुँदा यसलाई बागद्वार भन्ने गरिन्छ । साथै बागमती नदीलाई शिवको मुखबाट उत्पति भएको हुँदा शिवगङ्गा पनि भन्ने गरिन्छ । यहि शिवपुरीको दक्षिणबाट भने विष्णुमतीको शुरुवात भएको छ । विष्णुमती नदीको मुलद्वार भएको हुँदा त्यस स्थानलाई विष्णुद्वार अथवा विष्णुपादुका भन्ने गरिन्छ । साथै विष्णुमती नदीलाई विष्णुको पाउ (खुट्टाको बुढी औँला)बाट उत्पति भएको मान्ने गरिन्छ ।
करिब १५ किमी लामो विष्णुमती नदीमा फोहोर फाल्ने कार्यले गर्दा दुषित भइ नदी जन्य जीवजन्तुहरु बस्दैनन् । जुन नदीमा कुनै पनि जीवजन्तु बस्दैनन् त्यस्ता नदीलाई मृत नदी भनिन्छ । अहिले विष्णुमती नदी पनि मृत नदी भएको छ । यो नदीको नजिकै पुग्नुभयो भने हातले नाक थुन्नु पर्ने हुन्छ । यस नदी किनारमा मानिसको सभ्यताको विकास भएको थियो भन्न पनि लाज हुने भइसकेको छ ।
यस नदी किनारको विभिन्न ठाँउमा मन्दिर पौवा तथा श्मशान घाटहरु रहेको छ । यस तस्विरमा विष्णुमती नदी तर्नको लागी बनाइएको हिउँदे पुल देख्न सकिन्छ । यो हिउँदे पुलसंगै मानिसहरु हिड्न मिल्ने पुल पनि रहेको थियो । तर पनि सहजताको लागी हिउँदमा पानीको बहाव कम हुने समयको लागि यस प्रकारको अस्थाइ पुल बनाउने गरिन्थ्यो ।
प्रस्तुतीः सुनिल उलक
सन्दर्भ सामाग्री
जोनाथन गुड, सन् १९६२