श्रीस्वस्थानी व्रतः १०८ नैवेद्य चढाउनुपर्ने व्रत

पढ्न लाग्ने समय : 10 मिनेट

श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्रीस्वस्थानीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ। 

यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन्।

श्रीस्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, संमृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि बास हुने विश्वास गरिन्छ। काठमाडौँ उपत्यकाबाट करिब चार कोश पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्रीस्वस्थानीको व्रत बस्छन्।

भक्तजनहरू यो महिनाभित्र शालीनदीको तीरमा पुगेर स्नान गरी श्रीस्वस्थानी माताको पूजा अर्चनाका साथै सो क्षेत्र वरपर रहेका स्वस्थानी व्रत कथामा उल्लेख भएझैं नवराज ब्राम्हण, गोमा ब्राम्हणी, चन्द्रावतीको थलोमा पुगेर पूजा अर्चनासहित दर्शन गर्ने गर्छन् भन्ने पुस्तकमा उल्लेख छ ।

को हुन् स्वस्थानी ?

स्वस्थानी माहत्म्य भए पनि कथामा देवीको उत्पत्तिबारे खुलाइएको छैन् । कथाका एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवीको हुन् भन्ने खुल्दैन । पार्वतीले अनेक प्रयास गर्दा पनि महादेव पति नपाएपछि भगवान् विष्णुले ‘श्री स्वस्थानी परमेश्वरी’को व्रत गर्ने सल्लाह दिन्छन् । त्यसैबेला यस्तो प्रसंग आउँछ– अष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्तथा÷खड्गं त्रिशूलं चोध्र्वञ्च अधश्चाभय मुत्पलम्÷चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कार भूषिता÷सुवर्णवद्धिकासाभा स्वस्थानी जगदीश्वरी ।। अष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी) बीचमा तीन नेत्र, चार हात भएकी, विभिन्न वस्त्रालङ्कारले विभूषित भई त्रिशूल, तरबार, कमल र चक्र लिएर विराजमान भएकी सुवर्णको आभायुक्त स्वस्थानी देवीको स्वरूप छ ।


अष्टमातृका

सतीदेवीको मृत शरीरबाट एक÷एक अंग पतन हुँदा एक÷एक पीठ बनेको, प्रत्येक पीठमा एक देवी र एक ईश्वर(महादेव) उत्पत्ति भएको र दर्शन गर्न आएका प्रत्येकलाई ईश्वरी (कथाकै शब्दमा) ले दर्शन दिएको प्रसंग आउँछ । देवीदेवता, मानिस, अन्य प्राणी र वनस्पतिलाई दर्शन दिई मागेअनुरूप वरदान दिने ईश्वरी यिनै स्वस्थानी परमेश्वरी त होइनन् ? कथामा खुलाइएको छैन् । पछि पार्वतीले विष्णुको सल्लाहमा व्रत बस्दा स्वस्थानी परमेश्वरी खुसी भई वरदान दिएको सन्दर्भ आउँछ । यस्तै, महादेवकी अर्की पत्नी गंगा, गोमा र चन्द्रावतीले विधिपूर्वक व्रत बसेर समापन गर्दा स्वस्थानी देवी प्रसन्न भएर वरदान दिएको कथामा उल्लेख छ । आफैंले व्रत गरेको र ऋषिहरूलाई गोमाकहाँ पठाएर व्रत बस्न प्रेरित गरेबाट पनि जगज्जननी पार्वतीले समेत मानेकी देवी भएकी छन्, स्वस्थानी देवी ।

व्रत कहाँबाट ?

पद्मपुराणअन्तर्गत पार्वती–सदाशिवसंवाद भनिएको स्वस्थानी व्रतकथा १५३ श्लोकको छ । एउटा बाहेक सबै श्लोक अनुष्टुप छन्दमा छन् । यहाँ महादेवले पार्वती स्वस्थानीको व्रतविधि र कथा बताएका छन् । अहिले पढिने कथाको १९-२०औं अध्यायबाट सुरु हुने शिवभट्ट ब्राह्मण दम्पतीको प्रसंग उठाइएको छ । दुःखी दरिद्री शिवभट्ट दम्पती सत्कर्मबाट सम्पन्न बनेको, देवताहरूसमेत डराएको, उनकी छोरी गोमालाई महादेवले श्राप दिएको, दस वर्षको उमेरमा गोमाको विवाह वृद्ध शिवशर्मासँग भएको, शिवशर्मा रोगका कारण मरेको, नवराजको जन्म भएपछि गोमाले दुःख गरी संस्कार सम्पन्न गराएको लगायत वर्णन छ ।

छोरा परदेश गएको र बुहारीले पनि साथ नदिएको, दुःखपूर्वक जीविका गरिरहेका बेला गोपालहरूले स्वस्थानी परमेश्वरीको व्रतविधि सुनाएको, यसैका प्रभावबाट नवराज लावण्यपुरीको राजा भएको सन्दर्भ छ । यस्तै, रानी भएको खबर पाएर लावण्यपुरी जान हतारिएकी नवराजकी स्त्रीले स्वस्थानीको प्रसाद थुथु गरी डोलेहरूको अपमान गरेका कारण बीच बाटोमा आँधीबेहेरी आई वर्षौं नदी किनारमा बस्नुपरेको पछि स्वस्थानी व्रतको प्रभावले पति सासूसँग भेट भई सुखपूर्वक जीवन बिताएको उल्लेख छ ।

कथा कहाँबाट ?

प्रत्येक अध्याय सकिएपछि व्रतकथामा एउटा संस्कृत वचन राखिएको पाइन्छ– इति श्रीस्कन्दपुराणे माघमाहात्म्य केदारखण्डे… इत्यादि । यस वचनअनुसार श्री स्वस्थानी व्रतकथाको आधार स्कन्द पुराण हो, यही पुराणको माघ माहात्म्य केदार खण्डबाट कथा बनाइएको हो । तर होइन, स्कन्द पुराणमा मात्र स्वस्थानीमा आउने सबै कथा भेटिँदैनन् । स्वस्थानीका ३१ अध्याय बनाउन अरू पुराणहरूको पनि सहायता लिइएको छ । स्कन्द, भागवत, पद्म आदि विभिन्न पुराणका कथांश जोडी सिंगो स्वस्थानी व्रतकथा बनाइएको हो । कथालाई रोचक पार्न केही थपिएका केही घटाइएका कारण पुराणका प्रसंग केही ठाउँमा अमिल्दा पनि देखिन्छन् ।

व्रतविधि र समय

पद्मपुराणअन्तर्गत भनिएको १५३ श्लोकको स्वस्थानी व्रतकथामा ‘माघस्य पूर्णिमायां तु स्वस्थानीव्रतकं चरेत्’ अर्थात् माघको शुक्ल पक्ष पूर्णिमाका दिन स्वस्थानीको व्रत गर्नू भनिएको छ । यहाँ पनि १ सय ८ पुष्प, चन्दन, धूप आदि सामग्री तयार पारी भक्तिभावले स्वस्थानीको पूजाआराधना गर्ने विधान बताइएको छ ।

यसैगरी, पकाएको नैवेद्य (रोटी) पनि १०८ कै संख्या चढाउनुपर्ने उल्लेख छ । आठ रोटी सहधर्मीलाई दिने र सय रोटी आफूले खानुपर्ने उल्लेख छ । यद्यपि, अहिले पुसको पूर्णिमामा व्रत सुरु गरी माघको पूर्णिमामा समापन गर्ने चलन छ । विधिपूर्वक व्रत नबस्नेले पनि प्रत्येक दिन एक अध्यायका दरले स्वस्थानी व्रतकथा पढ्ने र अन्तिम दिन विशेष पूजा गर्ने गर्छन् । विशेषगरी स्वस्थानी कथामै आउने लावण्यपुर (साँखु) मा एक महिनासम्म विधिविधानसँग व्रत बस्ने चलन अहिले पनि छ ।

के छ व्रतकथामा ?

अहिले नेपाली भाषामा पाइने ३१ अध्यायको स्वस्थानी व्रतकथा विविधतायुक्त छ । सुरुका केही अध्यायमा पौराणिक भूगोल वर्णन, प्राणीहरूको उत्पत्ति, कल्प–मन्वन्तर पिच्छेका स्वर्गका अधिपति इन्द्र, सप्तर्षि आदिको वर्णन पाइन्छ । त्यसपछिका केही अध्याय दक्ष प्रजापतिकी छोरी सतीदेवी महादेवले पाउन गरेको संघर्ष विवाह भइसकेपछि महादेवका केही लीला र सतीदेवीको आत्मदाहसम्बन्धी प्रसंग आउँछ । बीचमा मय दानवले बनवले बनाएको त्रिपुर वर्णन र दैत्यको अत्याचारका कारण त्रिपुरदाह गर्नुपरेको परेको प्रसंग कम रोचक छैन । पत्नीशोकले विह्वल भई पृथ्वीको भ्रमण गर्ने महादेवको कथा पनि मार्मिक छ । आत्महत्या गरेकी सतीदेवी अर्को जन्म लिई हिमालय र मेनकाको छोरी भई जन्मेको र महादेव पति पाउन गरेको संघर्ष र महादेव पार्वतीको विवाहसम्बन्धी सन्दर्भ आउँछ । बीचमा तारकासुर बधको सन्दर्भ उल्लेख छ । गणेश र कुमारको जन्म, जालन्धर वध वृन्दाको सतित्व नष्टजस्ता प्रसंग बीचमा घुसाएर कथालाई विविधता दिइएको छ । कथाको लगभग दुई तिहाइ भाग सकिएपछि मात्र शिवशर्मा ब्राह्मण दम्पतीको कथा सुरु हुन्छ । पद्मपुराणको कथामा पटकथा थपी १०-१२ अध्याय लम्ब्याइएको छ ।

तीर्थस्थल पनि स्वदेशी

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको तर प्रकाशनको समय नखुलेको श्रीस्वस्थानी व्रतकथाको भूमिकामा बुद्धिसागर पराजुली लेख्छन्, ‘स्वस्थानीको कथा हिन्दूहरूको पौराणिक कथामध्ये नेपालीहरूको निजी विशेषता भएको कथा हो ।’ स्वस्थानीमा आउने तीर्थस्थल पनि नेपाली नै छन् । पुराणहरूमा भारतस्थित तीर्थस्थलका प्रसंग अधि रूपमा आइरहेका हुन्छन् तर यहाँ नेपाली तीर्थस्थललाई नै महत्व दिइएको छ । किराँतेश्वर, गौरीघाट, मृगस्थली, गोकर्ण लावण्यदेश अर्थात् साँखु, बाग्मती, शाली नदीजस्ता तीर्थस्थलको उल्लेख र महिमा बताइएको छ ।


 

शास्त्र कि संग्रह ?

स्वस्थानी व्रतकथाका केही सन्दर्भ उठाएर सनातन धर्मको आलोचना पनि हुँदै आएको छ । तर, तथ्य के हो भने स्वस्थानी व्रतकथा वैदिक सनातन विधिशास्त्र होइन । धर्मशास्त्रको सार पनि होइन । पुराणका कथाहरूको देश–काल–परिस्थिति अनुसारको जोरजाम मात्र हो । यद्यपि, मानिसलाई आध्यात्मिकतातर्फ लैजान स्वस्थानी व्रत र कथाको महत्त्व नभएको भने होइन । कथामा आउने विभिन्न सन्दर्भलाई चर्मचक्षुले मात्र नभई आध्यात्मिक दृष्टिले हेर्ने हो थुप्रै सन्देश भेटिन्छन् जसले सत्कर्म गरेर स्वस्थानीमा अडिग रहन प्रेरित गरिरहेको हुन्छ । इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानी व्रत कथायां……………..

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
थोमस एल केली

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।