पढ्न लाग्ने समय : 4 मिनेट
दैलेख जिल्लाका दलवीर सिंह जन्मले कामी थिए । अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका । बाजे बराजुका पालदेखी सञ्चालनमा रहेको उनको आफ्नो आरन थियो । जहाँ दलवीर फलामका कामहरु गर्दथे । उनको कामप्रति लगन र मिहेनत थियो ।
दलवीरको आरन
वि.सं २०१९ सालतिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनि धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । यसैले उनलाई एउटा पुलको आवश्यकता महशुस भयो । उनले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै आवश्यक सामग्रीहरु आफैँले तयार गर्न थाले । लामो फलामे तार तथा अन्य सामग्रीको सहयोगले पुलको तयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो तारलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे । हिँड्नको लागी काठका साना साना फल्याकहरु लहरै बाँधे । दायाँ बायाँ मानिस पुलबाट नखसुन भनेर त्यहाँ पनि बलियोसँग तारहरु बाँधे ।
यो पनि पढ्नुहोस् सुर्खेतका वैज्ञानिक दलवीर सिंह कामीको कथा
सुर्खेत क्षेत्रमा पुल बनाउँदै सब-ओभरसियर दलवीर सिंह
वि.सं. २०२० सालमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिब ४३५ फुट लामो झोलुङ्गे पुल तयार भयो ।
दलवीरले बनाएको ४३५ फुट लामो पुल ।
पुल तयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो । सुर्खेत जिल्लाको उत्तरगंगामा भेरी माथि बनाइएको यो पुलको बारेमा राजा महेन्द्रलाई पनि सुनाइएछ । वि.संं २०२१ सालमा राजा महेन्द्रको सुर्खेत भ्रमणका क्रममा राजाले दलवीर सिंहलाई भेटे । राजा महेन्द्रले उनको कामको निकै प्रशंसा गर्दै तत्कालै रु. ४०० बक्सिस दिए, साथमा दलवीर सिंहलाई जागिर दिन आदेश पनि ।
सुर्खेतमा आफ्नै घर अगाडि श्रीमती, काखमा छोरा श्यामलाल, सानो छोरा तिर्थबहादुर, दलवीर तथा अगाडि आफन्त छोराहरु
केबल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेशपछि उनको काम र सीप अनुसारको काम दैलेख जिल्ला पञ्चायतले सब-ओभरसियरको जागिर दियो । पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुल सम्बन्धी कामको थियो । सबै काममा केबल पढाइले मात्र हुँदैन, अनुभव र ज्ञान पनि हुनुपर्छ जुन दुवै दलवीरको साथ थियो । थिएन त केबल पढाइ थिएन । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए । तर इञ्जिनियर पढेकै थिएनन् । तर पनि सब-ओभरसियरको रुपमा जागिर पाए, पाैरख देखाएर ।
खेतीकिसानी गर्दै सब-ओभरसियर दलवीर सिंह
जागिरे भए पछि उनको निरिक्षणमा दैलेख जिल्लाका लोहोरी खोलाको चुप्रा पुल र छमघाट खोलाको झोलुङ्गे पुल बनाइएको थियो । छमघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुर पनि पुगेका थिए । यहाँ प्रस्तु गरिएका तस्बिरहरूमा दलवीर सिंहले काम गर्दै गरेका क्षणहरूका छन्, सबै तस्बिर अमेरिकी स्वयंसेवी दल पिसकोरका सदस्य एलन फेयरबैंकले कैद गरेका हुन् ।
रावतकोटको छमघाट खोलाको झोलुङ्गे पुल उद्घाटनको सामुहिक तस्बिर, बायाँपट्टी छाता बोकेर पुलसँगै उभिएका दलवीर सिंह ।
प्रस्तुती सुनिल उलक