सम्झनामा आइजिपी खड्गजीत बरालको लुकेको इतिहास

पढ्न लाग्ने समय : 19 मिनेट

नेपाल प्रहरीको इतिहासमा सेवा प्रवेशदेखि अविरल रूपमा अब्बल दर्जाको अधिकृत भएर अवकाशपछि पनि अभिभावकको रूपमा सम्मान र इज्जत कमाउन सफल व्यक्तित्व हुन्, पूर्व-प्रहरी महानिरीक्षक (आइजिपी) खड्गजीत बराल ।

उहाँको स्वर्गारोहणको खबरले वर्तमान र पूर्व-प्रहरी तथा उहाँका धेरै परिचित मित्र तथा आफन्तले गहिरो दुःख व्यक्त गरे।

प्रहरी सेवाबाट अवकाश पाएको ४३ वर्षपछि पनि उहाँप्रति अन्तिम समयसम्म पनि उत्तिकै प्रेम र श्रद्धा देखिनुका कारण उहाँले देश र प्रहरी संगठनप्रति इमान्दार मनले गर्नु भएको सेवा र सवल नेतृत्व हो। यसका साथै उहाँले आफ्नो सेवाकाल र जीवनपर्यन्त प्रत्येक प्रहरी अधिकृतदेखि जवानसम्मलाई गर्नुभएको अगाध प्रेम र सद्भाव पनि हो।

उहाँको स्वर्गारोहणले २००७ सालदेखिको इतिहास बोकेको नेपाल प्रहरीले एक सवल संगठनकर्ता र एक कुशल अगुवा तथा अभिभावकलाई गुमाएको अनुभव गरेको छ।

बरालले विसं २०३५ मा अवकाश पाएपछि नेपाल प्रहरीमा हालसम्म १९ जना प्रहरी महानिरीक्षक भइसके। तर प्रहरी संगठनको इज्जत र गरिमाको कुरा गर्दा सबैले उहाँलाई नै सम्झन्छन्। त्यसका धेरै कारण छन्।

प्रथमतः नेपाल प्रहरीको सांगठनिक सुधारको कुरा गर्दा बराललाई संयुक्त अधिराज्य बेलायतका पूर्व-गृहसचिव तथा स्कटल्यान्ड, यार्डस्थित महानगरीय-प्रहरी सेवाका संस्थापक (सन् १८२९) ‘सर रबर्ट पिल’ र संयुक्त राज्य अमेरिकाका प्रहरीका आधुनिकीकरणका प्रणेता ‘ओडब्लु विल्सन’ सँग दाँज्न सकिन्छ।

विल्सन फुलर्टन, क्यालिफोर्निया (सन् १९२५), विचिटा, क्यान्शस (सन् १९२८-३९) र शिकागो (सन् १९६०-६७) का प्रहरी प्रमुख थिए। यथार्थमा पूर्वआइजिपी बराल नेपाल प्रहरीका धेरै सफल अधिकृतका ‘रोल-मोडेल’ हुनुहुन्थ्यो।

उहाँले आफ्नो कार्यकाल (विसं २०२९-२०३५) मा नेपाल प्रहरीमा गर्नु भएको योगदान चिरस्थायी प्रकृतिका छन्। त्यसका लागि आवश्यक ज्ञान, योग्यता, व्यावसायिक अनुभव, लगन र अनुशासन उहाँमा पर्याप्त मात्रामा थिए।


सन् १९६६-६७ मा वेल्सको कार्डिफ पुलिस स्कुलमा सिनियर डिटेक्टिभ ट्रेनिङका क्रममा अन्य वेल्स प्रहरी अधिकृतकासाथ एसपी बराल (पहिलो हारको दायाँबाट दोस्रो)।

बरालले प्रहरी सेवामा प्रवेश गरेपछि सन् १९५६/५७ मा भारतको माउन्ट आबुस्थित सेन्ट्रल पुलिस ट्रेनिङ कलेजमा आइपिएस तालिम गर्नुभयो। उहाँले सन् १९६४ देखि १९६५ सम्म संयुक्त अधिराज्य बेलायतको वेकफिल्डस्थित वेस्ट राइडिङ कन्स्ट्याब्युलरी र सन् १९६६/६७ मा वेल्सको कार्डिफ पुलिस स्कुल लगायतका अन्य प्रतिष्ठित बेलायती संस्थामा तालिम लिनुभयो।

साथै, उहाँले सन् १९६६ मा जापानको टोक्यो ईम्पिरियल पुलिस कलेज र सन् १९७४ मा संयुक्त राज्य अमेरिकाको एफबिआईबाट पनि तालिम लिनु भएको थियो।

उहाँको कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरूले बढी से बढी वैदेशिक तालिम गर्न पाए। उहाँकै कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरूलाई संयुक्त अधिराज्य बेलायतबाट विधि-विज्ञानमा फिङ्गर-प्रिन्ट, बलिस्टिक्स तथा भारतबाट प्रति-जासुसी, फोटोग्राफी र संचार-सम्बन्धी आदि तालिम गराइए।

साथै, उनीहरूलाई भारतको सीमा सुरक्षा बल (बोर्डर सेक्युरिटी फोर्स) बाट फिल्ड-क्राफ्ट, म्याप-रिडिङ, कमाण्डो र कम्पनी-कमाण्डरका प्यारा-मिलिटरी कोर्स गराइए। सो तालिमको फलस्वरूप बरालले लेखक लगायतका तालिमप्राप्त प्रहरी अधिकृतहरूद्वारा स्वदेशमैमा तालिम संचालन गराउने परम्पराको थालनी गर्नुभयो।

त्यस्तै, नेपाल प्रहरीका अधिकृतहरूलाई पहिलो पटक संयुक्त राज्य अमेरिकाका ब्युरो अफ नार्कोटिक्स एन्ड डेन्जरस ड्रग्स (बिएनडिडि) र ड्रग इन्फोर्सेमेन्ट एजन्सी (डिइए) जस्ता प्रतिष्ठित संघीय निकायबाट ड्रग-इन्टर्डिक्शन लगायतका अन्तर्राष्ट्रिय तालिम गराउने व्यवस्था बरालबाट भएको थियो।

नेपाल प्रहरीमा गाँस, बास र कपासको व्यवस्था

बरालको कार्यकालको प्रारम्भसम्म नेपाल प्रहरीमा गाँस र बास व्यवस्थित थिएनन्। प्रहरीहरू पाटी र सत्तलमा बस्न बाध्य थिए। उहाँ संगठन प्रमुख भएपछि २०३० सालमा समस्त नेपाल प्रहरीका लागि रासन-पानीको व्यवस्था गरियो।

२०३१ सालमा आइजिपी बरालबाट नेपाल प्रहरीमा पहिलो पटक छुट्टै ईन्जिनियरिङ-शाखा (हाल भौतिक-पूर्वाधार निर्देशनालय) स्थापना गरेर शाखा-प्रमुखमा ईन्जिनियरलाई वरिष्ठ पदमा स्थायी नियुक्ति दिइयो। साथै, केही ओभर्सियरलाई पनि स्थायी नियुक्ति दिइयो।


विसं २०३४ मा प्रहरी र स्थानीयको सहकार्यमा निर्मित तनहुँस्थित प्रहरी चौकी आँबु खैरेनीको समुद्धघाटनका क्रममा तत्कालीन आइजिपी बराल (दोस्रो हारको केन्द्र)।

बरालको पहलमा सीमित बजेट र स्रोतसाधनबाट नेपालभरि प्रहरी भवन निर्माण गर्न सम्भव भयो। प्रहरी, स्थानीय-प्रशासन र जनसहयोगबाट राष्ट्रिय पहिचान झल्किने एकै-खालको पेगोडा-शैलीका चौकी, थाना र ब्यारेक लगायतका अन्य प्रहरी भवन बनाउने राष्ट्रव्यापी अभियाननै थालियो।

यसमा प्रहरीको नव-स्थापित ईन्जिनियरिङ शाखाको महत्वपूर्ण भूमिका रह्यो।

पहिला प्रहरी आफैले युनिफर्मको खर्च व्यहोर्नु पर्थ्यो। बरालकै कार्यकालमा २०३३ सालदेखि नेपाल प्रहरीका सम्पूर्ण सदस्यका लागि पहिलो पटक नि:शुल्क पोशाकको व्यवस्था गरियो। यसका लागि सोही सालदेखि सरकारबाट बजेट निकासा भयो।

नेपाल प्रहरीमा स्वास्थ्य-सेवाको विकास

पहिला नेपाल प्रहरीमा स्वास्थ्य-सेवातर्फ साधारण उपचारका लागि मेडिकल-इन्स्पेक्सन (एमआई) कक्षमात्र थिए।

२०३०-३२ सालतिर प्रहरी प्रमुखका हैसियतले बरालको भारत सरकारको औपचारिक भ्रमणको क्रममा नेपाल प्रहरीका लागि २५ शय्याको अस्पताल बनाउन भारत-पक्षसँग सहमति भयो। पछि उहाँकै कार्यकालमा नेपाल प्रहरीका लागि ५० शय्याको अस्पताल बनाउन भारत सरकार सहमत भयो। यो सबै उहाँकै पहलमा भयो।

त्यस्तै, बरालकै पहलमा २०३३ सालमा डा. प्रेमलाल श्रेष्ठ (पछि डिआइजी र नेपाल प्रहरी अस्पतालको पहिलो प्रमुख) लाई नेपाल प्रहरीको डिएसपी पदमा स्थायी नियुक्ति दिइयो।

नेपालको सीमा-सुरक्षाको चासो र अवधारणाको विकास पनि बरालबाट भयो। बरालको कार्यकालमा २०३३ सालको प्रहरी इन्सपेक्टरको दरबन्दी त्यही प्रयोजनका लागि खडा गरियो। फलस्वरूप त्यसैबेला पुलिसका इन्स्पेक्टरले नेतृत्व गर्ने नेपाल-भारत सीमा र नेपाल-चीन सीमा गरेर करिब ३० ठाउँमा सीमा प्रहरी चौकी स्थापना भए।

बराल आइजिपी हुँदा उहाँले प्रहरी प्रमुखको हैसियतले इन्टरपोल (अन्तर्राष्ट्रिय प्रहरी संगठन) को सम्मेलनमा भाग लिनुभयो। सो क्रममा त्यहाँका प्रतिनिधिमार्फत पश्चिम-जर्मनी सरकारसँग सम्पर्क जोडियो र बरालको पहलमा केही समयपछि लागुऔषध सम्बन्धी एक विख्यात जर्मन कानुनविद्लाई नेपाल झिकाइयो।

तिनैको सहायताले नेपालमा दक्षिण-एसियाकै पहिलो नार्कटिक ड्रग कन्ट्रोल ऐन (लागुऔषध नियन्त्रण ऐन, २०३३) बन्यो। नेपालमा हाल प्रयोग हुने ऐन त्यही हो।

खेल क्षेत्रमा फड्को

२०३० को दशकको प्रारम्भसम्म पनि नेपाल प्रहरीलाई बल प्रदर्शन गर्ने संगठनको रूपमा हेर्ने गरिन्थ्यो। त्यसलाई आजभोलि सामुदायिक प्रहरी र 'प्रहरी मेरो साथी' अभियानले जनता र प्रहरीबीच सेतु बनाउने प्रचलन बढेको छ।

बरालको कार्यकालमा खेलकुदको माध्यमबाट नेपाल प्रहरी एकैचोटी लोकप्रिय बन्न पुग्यो। उहाँको कार्यकालमा फुटबल, जुडो, कराते, जिम्न्याष्टिक्स, एथ्लेटिक्स र बक्सिङ जस्ता विविध विधाका बहुआयामिक तथा शिक्षित युवापिँढी प्रहरी सेवाप्रति आकर्षित भए।

नेपाली सेनामा जस्तै नेपाल प्रहरीका जुनियर र सिनियर अधिकृत पदमा सो पिँढीको जागिर खाने लाम ह्वात्तै बढेर गयो।


२०३४ सालमा नेपाल पुलिसको विजयी फुटबल टिमसँग आइजिपी बराल (केन्द्र)। साथमा बाबुराम पुन (दोस्रो हारको बायाँबाट पहिलो), अच्युतकृष्ण खरेल (दोस्रो हारको बायाँबाट पाँचौं) र रूपकराज शर्मा (दोस्रो हारको दायाँबाट चौथो)।

यसरी प्रतिभावान् युवा खेलाडीलाई प्रोत्साहन गरी प्रहरीमा रोजगारी दिने कार्यबाट त्यसबेलादेखि नेपाल प्रहरी नेपालको खेलकुदको विकासको जगको रूपमा खडा हुनकासाथै जनमैत्री बन्न सफल भयो।

पूर्व-आइजिपी अच्युतकृष्ण खरेल, पूर्व-डिआइजी रुपाल शमशेर जबरा, पूर्व-एसएसपी बाबुराम पुन, पूर्व-एसपी रूपकराज शर्मा, पूर्व इन्स्पेक्टर त्रय अशोक केसी, सुरेश पन्थी, धीरेन्द्र प्रधान र लोक बहादुर शाही आदि जस्ता खेलकुदका हस्तीहरूलाई नेपाल प्रहरीमा नियुक्त गर्ने काम बरालबाटै सुरु भयो।

आइजिपी बरालको कार्यकालमा प्रहरीकै कति फुटबलर नेपालको राष्ट्रिय फुटबल टिमका कप्तान भए। नेपाल प्रहरीका कति फुटबलरलाई उहाँबाट फिफा तालिम लिन विदेश पठाइयो। रूपकराज शर्मा फिफाका रेफ्री पनि भए।

बरालको कार्यकालमा स्थापित 'महेन्द्र पुलिस क्लब' ले नेपालमा फुटबलका विभिन्न ट्रोफी जित्नका साथै २०३३ सालतिर दार्जिलिङमा प्रतिष्ठित 'गोर्खा ब्रिगेड कप' र नयाँ दिल्लीमा 'सञ्जय गान्धी स्मृति फुटबल प्रतियोगिता' मा विजय प्राप्त गर्यो।

नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एड्भेन्चर फाउन्डेशन

आइजिपी बरालले 'नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एड्भेन्चर फाउन्डेशन' स्थापना गरेपछि उहाँको योजनाअनुरूप प्रहरी पर्वतारोहीबाट २०३३ सालमा मुस्ताङस्थित टुकुचे हिमाल (६,९२० मिटर) को सफल आरोहण भयो।

२०३३ सालमा टुकुचे आरोहणपछि प्रहरी पर्वतारोहीलाई स्वागत गर्दै काठमाडौंबासी र नेपाल प्रहरी। इनसेटमा तत्कालीन डिएसपी गोविन्दकर्म थापा (राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख।)

टुकुचे आरोहणपछि जापानी टोलीसँग मिलेर पाबिल हिमाल (७,१०२ मिटर) को आरोहण गर्ने नेपाल प्रहरीको योजनाको विकास पनि बरालकै कार्यकालमा पूरा भयो। यस अघिसम्म कसैले पनि सो हिमालको आरोहण गरेको थिएन। यी सफलताबाट जनतामा नेपाल प्रहरी संगठनप्रतिको आकर्षण बढ्यो र प्रहरी पनि लोकप्रिय बन्न सफल भयो।

पछि पूर्वआइजिपी बरालकै व्यक्तिगत सम्बन्ध र सम्पर्कबाट नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एड्भेन्चर फाउन्डेशनले जापानका ‘ह्योगो वर्कर्स अल्पाइन फेडरेशन’ र शिन्सु विश्वविद्यालयको ‘एकेडेमिक अल्पाइन क्लब’ का साथै जापान र विश्वका अन्य धेरै पर्वतारोही र पर्वतारोहण संघसँग सहकार्य गरेर नेपाल प्रहरीको सम्बन्ध र लोकप्रियतालाई नयाँ उचाइ दियो।

नेपाल पुलिस ब्यान्डको आधुनिकीकरण

आइजिपी बरालको अर्को महत्वपूर्ण देन नेपाल प्रहरीको ब्यान्डको आधुनिकीकरण पनि हो। पहिला नेपाल पुलिस ब्यान्डसँग मङ्गल-धुन बाहेकका विशेष प्रस्तुति गर्ने दक्षता थिएन। बरालको व्यक्तिगत पहलमा नेपाल पुलिस ब्यान्डलाई प्रशिक्षण दिन बेलायती सेनाको तत्कालीन सहायक-संगीत-निर्देशक कप्तान हस्तबहादुर थापालाई पहिलो पटक २०२९ सालमा नेपाल झिकाइयो।


तत्कालीन सदर प्रहरी तालिम केन्द्र (महाराजगञ्ज) मा हस्तबहादुर थापाको नेतृत्वमा नेपाल पुलिस ब्यान्डबाट आयोजित 'बीटिङ दि रिट्रीट' कार्यक्रम।

बरालको परिकल्पना, थापाको बेलायती सेनाको अनुभव, नयाँ बाजा र आधुनिक तालिमको परिणामस्वरूप नेपाल प्रहरीले २०३० सालदेखि प्रत्येक वर्ष 'बीटिङ दि रिट्रीट' कार्यक्रम आयोजना गर्ने गर्थ्यो। स्कटल्यान्डमा आयोजना गरिने ‘रोयल एडन्बरा मिलिटरी-ट्याटु’ सरहको सो कार्यक्रमबाट नेपाल प्रहरीको गरिमा र लोकप्रियता बढ्न गयो।

पछि हस्तबहादुर थापाले बेलायती सेनाबाट अवकाश पाउनुभयो। त्यसपछि आइजिपी बरालकै पहलमा २०३४ सालमा तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमाङ्गी (हुप्र) बाट थापालाई नेपाल प्रहरीको इन्स्पेक्टरमा नियुक्ति दिइयो। थापाले करिब दुई दशकसम्म नेपाल पुलिस ब्यान्डको नेतृत्व गरी एसपीबाट अवकाश पाउनु भयो।

पछि थापाले सशस्त्र प्रहरी बलको ब्यान्डलाई पनि २०५९ सालदेखि करिब सात वर्षसम्म प्रशिक्षण दिनुभयो। यसरी नेपाल प्रहरीको मात्र नभएर सशस्त्र प्रहरी बलको ब्यान्डको स्थापना र आधुनिकीकरणमा पनि उहाँको अतुलनीय भूमिका रह्यो।

विसं २०३० अघिसम्म नेपाल प्रहरीका सदस्यहरू अवकाशपछि सम्पर्कविहीन झैँ हुन्थे। नेपाल प्रहरीमा लामो सेवा गरेर हराएका प्रहरीलाई सम्झने कोही हुँदैनथे। यो कुरालाई मनन गरेर आइजिपी बरालले २०३० सालमा पहिलोपटक 'प्रहरी पुनर्मिलन दिवस' मनाउने परम्पराको थालनी गर्नुभयो।

आज यो पुनर्मिलन दिवस नेपालका पूर्व तथा बहालवाला प्रहरी लगायतका राष्ट्र सेवकहरूको वार्षिक कुम्भ-मेला जस्तो हुन पुगेको छ। संघ-संस्था सञ्चालन गर्न बन्देज रहेको तत्कालीन पञ्चायती व्यवस्थामा पनि पूर्व र बहालवाला प्रहरीका लागि प्रहरी पुनर्मिलन दिवस मनाउनु महत्वपूर्ण थियो।

बरालले २०३५ सालमा प्रहरी सेवाबाट अवकाश पाएपनि जीवनपर्यन्त पूर्व तथा बहालवाला प्रहरीहरूसँग अनवरत रूपमा सद्भाव र सम्पर्क राखिरहनु भयो।

प्रहरीका विषयमा गाह्रो-साह्रो पर्दा सबैले उहाँसँग सल्लाह-सुझाव लिन आउँथे। उहाँ आफैले फोन गरेर स्नेह र हौसला दिनुहुन्थ्यो। कुनै आपतकालीन अवस्थामा उहाँ आफैले समस्या समाधान र व्यवस्थापनका तरिका सुझाउनु हुन्थ्यो।

उहाँमा प्रहरी सेवाप्रति अगाध प्रेम, लगन र निष्ठा थियो। उहाँ आफ्नो जीवनमा प्रहरी हुन पाएकोमा सन्तोष र गर्व महसुस गर्नुहुन्थ्यो।

तत्कालीन आइजिपी बरालको नेतृत्व अविस्मरणीय र उदाहरणीय थियो। आफ्ना मातहतका प्रहरीलाई कर्तव्य-पालनका सिलसिलामा गाह्रो-साँघुरो पर्दा प्रहरी प्रमुखका नाताले उहाँले जिम्मेवारी लिने र काँध थाप्ने गर्नुहुन्थ्यो।

तर दुर्भाग्यवश यो परम्परा २०४६ सालको परिवर्तनपछि केही प्रहरी प्रमुखबाहेक अन्य सबैले मातहतका प्रहरीका लागि लड्नभन्दा आफ्नो हित र स्वार्थलाई बढी महत्व दिन थाले र उनीहरूमा आत्म-समर्पणको प्रवृत्ति हाबी हुँदै गयो।

बरालका मातहतमा काम गरेका प्रहरी र उहाँलाई चिन्ने कतिपय मानिसले उहाँको कडा व्यवहारबारे टीकाटिप्पणी गर्ने गर्थे। तरपनि उहाँले आफ्ना मातहतका प्रहरीलाई अन्तर-हृदयबाट माया गर्ने र उनीहरूका पिर-मर्का बुझ्ने तथा अनुशासनमा राख्न त्यस्तो व्यवहार गरेको कुरा धेरैले अनुभव गरेका थिए।

अन्त्यमा,

बरालसँग नेपालको शान्ति-सुरक्षाको प्रत्यक्ष ज्ञान र अनुभवमात्र होइन उहाँसँग बर्मा (हालको म्यानमार), मलेसिया, इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो-चाइना (लाओस, क्याम्बोडिया, भियत्नाम) का लागि राजदूत हुँदा संगालिएका गहिरो ज्ञान र अनुभव पनि थिए।

सन् १९९२-९३ मा बराल तत्कालीन द्वन्द्व ग्रसित क्याम्बोडियामा गठित ‘युनाइटेड नेसन्स ट्रान्जिसनल अथरिटी इन क्याम्बोडिया’ (उन्टाक) मा ‘प्रमुख-सम्पर्क-अधिकृत’ हुनुभयो।


सन् १९९३ मा युद्धग्रस्त क्याम्बोडियामा 'उन्टाक' का प्रमुख सम्पर्क अधिकृत खड्गजीत बराल (दायाँबाट दोस्रो)।

सन् १९९३ (विसं २०५०) मा क्याम्बोडियाको प्रथम जननिर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउने क्रममा तत्कालीन ‘खमे-रूज’ लडाकुहरूलाई निशस्त्र गराउन बरालले प्रत्यक्ष भूमिका खेल्नु भएको थियो।

आज देशको आन्तरिक शान्ति-सुरक्षा र राजनीतिक अस्थिरताको समयमा पनि देश र संगठनले उहाँको ज्ञान र अनुभवबाट केही फाइदा लिन नसक्नु यो देश र जनताको पनि दुर्भाग्य नै मान्नुपर्छ।

कहिलेकाहीँ लेखकको मनमा प्रश्न उब्जिने गर्छ- ‘यदि खड्गजीत बराल जस्तो अनुभवले खारिएको व्यक्तिलाई माओवादी-द्वन्द्वकाल र जनआन्दोलनका बेला सरकारले सल्लाहकार वा अरू कुनै महत्वपूर्ण जिम्मेवारी दिएको भए नेपालले द्वन्द्व-व्यवस्थापनमा बढी सफलता पाउँथ्यो कि?’

त्यस्तै, उहाँ जस्तो व्यक्तिलाई ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’ वा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ को प्रमुखको जिम्मेवारी दिइएको भए विगतदेखिका धेरै घटना हालसम्म समाधान भइसक्ने थिए होलान् भनेर अनुमान गर्न सकिन्छ।

यदि समयमै बराल जस्तो व्यक्तिलाई त्यस्तो जिम्मेवारी दिइएको भए आज देशको परिस्थिति फरक हुन्थ्यो कि? यहाँ प्रश्न गर्ने ठाउँ पर्याप्त छन्।

(नेपाल प्रहरीमा करिब अढाई दशकसम्म कार्यरत भएपछि रविराज थापा २०५६ सालमा सशस्त्र प्रहरी बल, नेपालमा स्थानान्तरण भई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बाट सेवा निवृत्त भए। उनी नेपाल ओलम्पिक कमिटीका पूर्व-उपाध्यक्ष पनि हुन्।)

(तस्बिर सौजन्य: पूर्वआइजिपी स्वर्गीय खड्गजीत बराल र प्रहरी प्रधान कार्यालय।)

प्रस्तुती रविराज थापा

सन्दर्भ सामाग्री
सेतोपाटी

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।