पढ्न लाग्ने समय : 3 मिनेट
विक्रम संवत् २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा भयानक आगलागी भयो । रातको करिब १० बजेबाट सल्केको आगोबाट देशकै प्रमुख प्रशासनिक केन्द्र बचाउनका लागि भगिरथ प्रयास गरिए पनि त्यो सफल भएन । सुरक्षाकर्मीहरुले रातभर आगो निभाउने असफल प्रयास गरेका थिए । उनीहरुकै प्रयासले सिंहदरबारको अग्रभाग मात्रै जोगियो, अरु सबै जल्यो । अहिले त राजधानीमा बारुण यन्त्रहरु चुस्त दुरुस्त छैनन्, त्यो बेला बालुवा र माटो हालेर आगो निभाउन सकिने कुरै थिएन । त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काईयो, बाँकी सिंहदरबार जलेर खरानी भयो।
यो पनि पढ्नुहोस् सिंहदरबार आगलागीका बारेमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टको बयान !
सिंहदरबारको अगाडीको भागमा दूरसञ्चारको पूर्वाधार थियो जुन बचाउन परराष्ट्र मन्त्रालयको कबलमा तोप हानेर भत्काइएको थियो । सिंहदरबारमा लागेको त्यो आगोको राप पुतलीसडक, थापाथली, बानेश्वर, घट्टेकुलो र भद्रकालीसम्म पुगेको थियो। कागजका टुक्राहरू कुपण्डोल, नक्साल, विजेश्वरी लगायतका क्षेत्रसम्म पुगेका थिए । भीषण आगलागीबाट बचेको अगाडिको भागसँगै जोडेर पछि अन्य संरचना निर्माण गरियो।
आगलागीमा भएको भौतिक सम्पतिको कुनै लेखाजोखा गरि साध्य नै थिएन् । सिंहदरबार आगलागी हुँदा ७० वर्षअघिको वास्तुकला मात्र ध्वस्त भएन् परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा दस्तावेजहरू जलेर नष्ट भए । उक्त विपत्तीमा कतिले ज्यान गुमाए भन्नेबारे कुनै प्रमाणित तथ्य बाहिर आएनन् वा ल्याइएनन् तथापी केहि सुरक्षाकर्मी सहित कम्तीमा २० जनाले ज्यान गुमाएका थिए भनिन्छ ।
हालको पश्चिमी मोहडा श्री ३ चन्द्रकै शासनकालमा निर्माण गरिएकै बखतको संरचना हो । सिंहदरबार भित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । १ नम्बर चोकमा तत्कालीन युवराजधिराज दिपेन्द्रको व्रतबन्ध गरिएको थियो । सिंहदरबारको पुनःनिर्माणका लागि देशभरका हरेक घरबाट १०-१० रूपैँया संकलन गरी प्रधानपञ्चहरूले काठमाण्डाै पठाएका थिए भनिन्छ ।
यस आगलागीको पछाडी कसैको हात त छैन भन्ने निकै अड्कल काटिए पनि सरकारी छानबिन टोलीले विद्युतको तारमा भएको सानो झिल्कोबाट नै भयानक घटना घटेको भनियो । सिंहदरबारको रक्षा हुन नसकेकोमा त्यसको जिम्मेवारी लिँदै प्रधानमन्त्री किर्तिनिधी विष्टले नैतिकताको आधारमा राजा विरेन्द्र सामु राजिनामा दिए । राजाले यो स्विकार्नु भएन तर पनि राजालाई आफू पदमा रहिरहनु नैतिकताले दिँदैन भन्दै विष्टले राजिनामा दिएरै छोडे । त्यतिबेला नेपालका लागी भारतीय राजदुत एलपी सिंहले बालुवाटारमा पुगेर किर्तिनिधी विष्टलाई राजिनामा फिर्ता लिन अनुरोध गरेका थिए ।
सन्दर्भ सामाग्री
भैरव रिसाल
ईश्वरी ज्ञवाली
संजीव शाह
हिमाल खबर
नेपाल साप्ताहिक
विभिन्न अनलाइनहरू