पढ्न लाग्ने समय : 4 मिनेट
हरेक असार ५ गते नेपालमा स्काउट दिवस मनाउने गरिन्छ । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने उद्देश्य सहित नेपाल स्काउटको स्थापना वि.सं. २००९ असार ५ सालमा गरिएको हो ।
विश्वमा स्काउटको सुरूवात सन् १९०७ मा भएतापनि नेपालमा भने वि.सं.२००९ साल (सन् १९५२ जुन १८) बाट मात्र यसको सुरूवात भयो । वि.सं.२००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि देशभर शैक्षिक जागरण आउन थाल्यो। देशका हरेक स्थानमा विद्यालय खुल्न थाले र शिक्षाको ज्योति देशका हरेक कुना–कुनासम्म पुग्न थाल्यो। यस्तो अवसर देशको वर्ग, जाति र धर्मका मानिसहरूले समानरुपमा उपयोग गर्ने अवसर प्राप्त गरे। यस्तो अवस्थामा नेपालले भने विभिन्न विकास कार्यमा विस्तारै अघि बढ्दै थियो भने विश्वका अरू राष्ट्रहरू विभिन्न क्षेत्रमा विकास गर्दै अघि बढ्ने क्रम द्रुत गतिमा थियो। यसैले पनि विश्वमा स्काउट स्थापना भएको ४५ वर्षपछि मात्र नेपालमा स्काउटिङ शिक्षाले पाईला टेकेको पाइन्छ।
नारायणिहटीमा स्काउट दिवस ।
स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र बफदार बनाउँदछ। त्यसैले यो राष्ट्रिय दल, धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शिक्षण संस्थानमा आधारित शैक्षिक आन्दोलनकै रूप हो। प्रजातन्त्र प्राप्तपछि नागरिकहरू आफ्ना अधिकारप्रति सचेत रहने गर्दछन्। यस्तो अवस्थामा नागरिकहरूलाई अनुशासित नैतिकवान एंव नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम हुनु अति आवश्यक देखिन्छ। यसका लागि बालबालिका तथा युवायुवतीहरूलाई विद्यार्थी जीवनबाटै अनुशासित बनाउन स्काउट शिक्षाको देशभर आवश्यकता महशुस गरि स्काउट मास्टर तालिम संचालन गर्न विदेशबाट विशेषज्ञ बोलाउनु पर्ने कुरा राजा त्रिभुवन समक्ष शिक्षाविद डा.त्रैलोक्यनाथ उप्रेतीले अनुरोध गरे। राजा त्रिभुवनबाट स्वीकृति प्राप्त भएपछि शिक्षा मन्त्रालयले भारत स्काउट्स एण्ड गाईड्सलाई पत्र लेखि नेपालमा स्काउट तालिम सञ्चालन गर्न अनुरोध गरियो। सोही पत्र अनुसार भारत स्काउट्स एण्ड गाइड्सका नेसनल अर्गनाइजीङ कमिश्नर तथा क्याम्प चिफ श्री राम वाजपेयी २५ जना स्काउट सहित काठमाण्डौं आएका थिए। कार्यक्रम अनुसार उनले विभिन्न स्कुल तथा कलेजका स्काउटमा रूची भएका ३० जना शिक्षक तथा प्राध्यापकहरूलाई समावेश गरि वि.स. २००९ साल जेठ १० गते शुक्रबारका दिन नेपालमा सर्वप्रथम स्काउट मास्टर तालिम गोदावारीमा शुरू भयो। तालिम संचालन भएपछि गोदावारीसम्म आवतजावत गर्न, सामान ढुवानी गर्न र अन्य कामको लागि समेत कठिनाइहरु आई परेको हुनाले पछि सो तालिम लाई छाउनीमा सारियो।
राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा दरबारमार्गमा स्वयंसेवकका रूपमा एक स्काउट ।
छाउनीमा तालिम सञ्चालन भइरहेको बेला वि.स. २००९ साल अषाढ ५ गते तदनुसार १८ जुन १९५२ बुधबारका दिन नारायणहिटी राजदरबारमा आयोजित विशेष समारोहमा राजा त्रिभुवनबाट तालिम प्राप्त स्काउट मास्टरहरूलाई संगठित हुन र स्काउट कार्यक्रम विस्तार गर्न नेपल ब्वाईज स्काउट्स र गाईड्स संस्थाको झण्डोत्तलन गरि उद्घाटन गरियो। यसै अवसरमा राजा त्रिभुवनले पनि स्काउट प्रतिज्ञा लिएका थिए। स्काउटको संरक्षक भइ स्काउटिङको विस्तारमा राजा त्रिभुवनको महत्वपुर्ण योगदान रहेको छ। नेपाल ब्वाइज स्काउट र गाइड्सको स्थापना भए लगतै देशमा ३ वटा ट्रुप सञ्चालन भयो। यसमध्ये दुईवटा प्रो. गोविन्द नारायण ‘ज्यापु’ बाट काठमाण्डौंको भिमसेन स्थानमा भीमवाल स्काउट (ओपन ट्रुप) र सरकारी शिक्षण संस्था मध्ये आधार शिक्षा शिक्षण केन्द्र (शिक्षक तालिम केन्द्र) मा स्काउट दलहरू स्थापना गरि तालिम शुरु गरिएको थियो। यसको साथै काठमाण्डौं जिल्ला क्षेत्रपाटीस्थित जुद्धोदय पब्लिक हाईस्कुलमा स्काउटर उद्यमान श्रेष्ठले स्काउट कार्यक्रम हुरू गरेका थिए। यसरी नेपालमा विस्तारै विभिन्न स्कुलहरूमा पनि स्काउट दलहरू स्थापना हुँदै स्काउट शिक्षा फैंलिदै गयो।
सन्दर्भ सामाग्री
विकिपिडिया
नेपाल स्काउट डट ओ आर जी
दामोदर बस्नेत