पढ्न लाग्ने समय : 3 मिनेट
जङ्गबहादुर तथा चन्द्रशम्शेर बेलायत भ्रमणमा पुग्ने दुई राणा प्रधानमन्त्री थिए । जङ्गको भ्रमण दक्षिण एसियाबाट युरोप पुग्ने पहिलो विशिष्ट व्यक्तिका रूपमा दर्ज भएको बताइन्छ । दुवैको भ्रमणले नेपालको इतिहासमा एउटा नयाँ आयाम थपेको थियो । बेलायतीहरुका अगाडि नेपाल पनि विकसित राष्ट्रको आभाष दिलाएर आएका थिए दुवैले । दुवै यात्रामा दुवै प्रधानमन्त्रीले फ्रान्सलाई पनि प्राथमिकतामा राखेको पाइनछ । जङ्गबहादुरले पनि फ्रान्सका राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसंग भेटेका थिए । लुइस फ्रान्स क्रान्तीका अगुवा नेपोलियनका भतिजा अर्थात भाइका छोरा थिए ।
यसको ५८ वर्ष बेलायत भ्रमणमा पुगेका जंङ्गका भतिजा चन्द्रशम्शेरले पनि फ्रान्सका राष्ट्रपति आर्मंड फेलियरलाई भेटेका थिए । दुईको भेट फ्रान्सेली बन्दरगाहको शहर मार्सिलीमा भेट भएको थियो । श्री ३ चन्द्रको पानीजहाज वि.सं. १९६५ बैशाख २५ को दिन फ्रान्सको बन्दरगाह मार्सिलीमा अडेको थियो जहाँ फ्रान्सका राष्ट्रपति उनलाई भेट्न आएका थिए ।
चन्द्रशम्शेरको बेलायत भ्रमण जङ्गको झैं निजी बताइएपनि बेलायत सरकारको विशेष निमन्त्रणा तथा सम्पूर्ण खर्च उसकै सरकारले नै वहन गरेको थियो । नेपाल एक स्वतन्त्र स्वाधिन राष्ट्रको प्रतिनिधीको रुपमा बेलायत भ्रमण गर्न लागेको हुँदा आफ्नो सत्कार तथा अन्य प्रबन्ध स्वतन्त्र राज्य प्रमुखको सरह मिलाउन भनेका थिए रे चन्द्रशम्शेरले । साथै छलफलका मुख्य एजेन्डाहरु नेपालमा नै तय गरिएको थियो ।
घोडेजात्राको केही दिनमा १९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका चन्द्रशम्शेर १९६५ बैशाख २७ मा बेलायत पुगेका थिए । उनको टोलीमा परिवारका सदस्य तथा उच्च पदस्थहरु २२ जना थिए भने १९ जना नोकर चाकरहरु पनि थिए । टोलीमा जुद्धशम्शेर, रुद्रशम्शेर, छोराहरु मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर थिए । साथै निजी सचिवको रुपमा सरदार मरिचमान सिंह सम्मिलित थिए ।
जङ्गबहादुर र चन्द्रशम्शेरको बेलायत भ्रमणमा अर्को एक समानता थियो । दुवैले गाई खाने विदेशीले छोएको पानी खान हुन्न भन्दै गाग्रीमा पानीपनि लगेका थिए । खाना पकाउने भान्सेहरु पनि यतैबाट लगेका थिए । जब चन्द्रशम्शरे तथा वहाँको साथ पुगेका टोली पानीजहाजमा मार्सिली पुगे । मार्सिलीमा पानीजहाजबाट सामान सबै निकालेर फेरी कालाइसको लागी रेलमा जानु थियो । त्यसपछि फेरी बेलायतको डोभर पुग्नु थियो ।
यहाँ समावेश गरिएका तस्बिरहरू फ्रान्सको बन्दरगाह मार्सिलीको हो । मार्सिलीमा चन्द्रशम्शेरको भ्रमण दलका सामानहरु पानी जहाजबाट निकाल्दै गर्दा फ्रान्सेलीहरुले दङ्ग परेर हेरिरहेको देख्न सकिन्छ ।
प्रस्तुतिः सुनिल उलक
सन्दर्भ सामाग्री
ब्रिटिश लाइब्रेरी