पढ्न लाग्ने समय : 3 मिनेट
वि.सं २०२१ सालमा निर्मित 'आमा' चलचित्रमा 'पहिलोपटक' अभिनय गरेकी भुवन चन्द नेपालको पहिलो अभिनेत्री हुन् ।
वि. सं. २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मेकी चन्द १५ वर्षकै उमेरमा नेपाली चलचित्रमा पहिलो नायिका बनेकी थिइन्। आमा (चलचित्र)मा नायिकाको भूमिका निभाउँदा उनको उमेर मात्र १५ वर्षको थियो।
वि. सं. २०२२ साल असोज ५ गते काठमाडौंको न्युरोडमा रहेको रञ्जना हलमा चलचित्र आमा सार्वजनिक प्रदर्शन गरिएको थियो। नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द सुरुमा गायिका थिइन्। आफ्ना पिता उस्ताद स्वर्गीय भैरवबहादुर थापाकी छोरी भुवन चन्दले वि. सं. २०१८-२०१९ सालतिर गीत गाउन थालेकी थिइन्। आफ्ना पिता गायक भएका कारण छोरी पनि गायन क्षेत्रमा नै लाग्नुपर्छ भन्ने परिवारको मान्यताविरुद्ध गएर त्यसबेलाको अवस्थामा पनि साहसिक कार्य गर्दै उनी अभिनयतिर लागिन्। त्यसो त बालकृष्ण समको नाटकबाटै वि. सं. २०१० सालबाट उनले बाल कलाकारको रूपमा रंगमञ्चमा देखा परेकी थिइन्।
कत्थक नाचमा म्याट्रिक र डिप्लोमा हासिल गरेकी चन्द सन् १९७६ मा हरिश चन्दसँग वैवाहित सम्बन्धमा गाँसिएकी थिइन्।
नेपाल सरकारले निर्माण गरेको पहिलो फिचर फिल्ममा उनको मुख्य भूमिकाका कारण उनी नेपालको पहिलो अभिनेत्री भनेर चिनिन्छिन्। उनले हिजो आज भोलि(१९७६), मनको बाँध(१९७३), सिन्दुर(१९८०), जीवन रेखा, के घर के डेरा(१९८७), पच्चिस बसन्त (१९८८), शान्तिदीप (१९८९) लगायत कैयन् चलचित्रहरूमा चन्दको कुशल अभिनय देख्न सकिन्छ ।
तर पहिलोपटक आफूले अभिनय गरेको चलचित्रको 'प्रिमियर सो' नै चन्दले हेर्न पाइनन्। एउटा कार्यक्रमका लागि चीन जानुपरेकाले 'प्रिमियर' मा सहभागी हुन नपाएको उनको भनाइ थियो ।
फिल्मको 'प्रिमियर' भने तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। फिल्म हेरेपछि राजाले आफ्नो अभिनयबारे तारिफ गर्नुभएको भन्दै भुवनले त्यो बेलाको घटना सुनाइन्, 'राजाबाट धेरै नै मेरो तारिफ भएको थियो रे। हाम्रो भुवनले पनि भारतको कलाकारभन्दा कम त गरेको रैनछ नि भन्ने कुरा गर्नुभयो भन्ने सुनेपछि त स्वर्गमा पुगेजस्तो भयो।
अभिनेत्री भुवन चन्दलाई जन्मदिनको शुभकामना ।
सन्दर्भ सामाग्री
हरिश चन्द
विकिपिडिया
सेतोपाटी